“समितिको निर्णयअघि नै केही व्यक्तिले व्यक्तिगत रुपमा शास्त्रीय मान्यता विपरीत पात्रो (पञ्चाङ्ग) निकालेर भ्रम सिर्जना गरेका छन्, यसको जानकारी गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई गराइएको छ”–अध्यक्ष गौतमले भन्नुभयो ।
समितिको स्वीकृति नलिई निस्किएका ज्वालालगायतका पात्रोमा सम्बत्सरको नाम, वृहस्पति एवम् शुक्रको उदय र अस्त, व्रतबन्ध र विवाहको साइतलगायत तिथि, मिति तथा चाडबाडमा फरक परेको समितिले जनाएको छ । समितिको स्वीकृति अघि निकालिएका पात्रोले जनता भ्रममा पर्न थालेको गुनासो आउन थालेको सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।
“समितिको स्वीकृतिबिना निस्किएका पात्रोका कारण चाडबाड एवम् तिथिमितिमा फरक परेमा हामी जिम्मेवार हुने छैनौँ, यसैले सरकारको आधिकारिक निकायले शास्त्रीय आधारमा निर्णय गरेको पात्रो प्रयोग गरी भ्रमबाट मुक्त हुन अनुरोध गछौँ” – उहाँले भन्नुभयो ।
समितिको स्वीकृतिबिना निस्किएका पात्रोले सरकारले सार्वजनिक बिदाको घोषणा गर्नुअघि नै रातो लगाई भित्तेपात्रो (क्यालेन्डर) निकालेरसमेत भ्रममा राखेको व्यहोरासहितको पत्र गृह र संस्कृति मन्त्रालयमा कारबाहीका लागि पठाइएको छ ।
पात्रोलाई समितिले स्वीकृति दिएको मितिसम्म गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय नगरेकाले बिदा जानकारी राख्न नसकिएको समितिको भनाइ छ । पात्रोअनुसार नै सांस्कृतिक एवम् धार्मिक चाड पर्व मनाउने गरिन्छ । रासस