दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

काठमाडौं प्रहरीले थालेको गुन्डागर्दीविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन् ।

ramesh-kharelमहानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरेपछि वृत्तका प्रमुखहरू स्थानीय गुन्डाहरूको सूची खल्तीमा राखेर खोजीमा लागेका छन् ।

काठमाडौं परिसरले बलराम सापकोटा बलेलगायत चारजनालाई पक्राउ गरिसकेको छ । महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दीमा सक्रिय दीपक तालु पनि पक्राउ परिसकेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले हाउजिङ तथा जग्गा व्यवसायीलाई धम्क्याएर पैसा असुलेको आरोपमा कान्छा लामालाई शनिबार पक्राउ गरेको छ । काभ्रे बल्थली घर भएका उनले बालाजुका गुन्डागर्दीका नाइके माइला लामानिकट रहेर व्यवसायीलाई धम्क्याउँदै आएका थिए ।

पहिला दीपक मनाङे र गणेश लामाको निकट भएर गुन्डागर्दीमा लागेका कान्छा लामा ठमेलमा रहेको बियर बारका सेयरधनी पनि हुन् । उनलाई छुटाउन कांग्रेसदेखि मधेसी जनअधिकार फोरम नेपालका सभासद्हरू स्वयम्भू वृत्त पुगेका थिए । गत असारमा काभ्रेको खावामा २५ किलो सुन लुटपाटमा पनि उनी संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको वृत्तका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।

त्यस्तै, हल्चोक क्षेत्रमा गुन्डागर्दी गर्दै आएका बबाली राम भनिने राम तामाङ पनि पक्राउ परेका छन् । उनले खासगरी काठमाडौंबाट दिल्ली जाने बसहरूबाट पैसा असुल्दै आएका थिए ।

सीतापाइला क्षेत्रमा व्यवसायी तथा स्थानीयलाई धम्क्याउँदै आएका तुलसी थापा पनि पक्राउ परेका छन् । स्वयम्भू प्रहरीले इंचगुनारायण क्षेत्रमा गुन्डागर्दी गर्दै आएका वासु गुरुङ र रमेश गुरुङलाई पनि पक्राउ गरी थुनामा राखेको छ । उनीहरू सबैले स्थानीय हाउजिङ, यातायात तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई धम्क्याउँदै आएका थिए ।

पक्राउ परेका सबैविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । यस्तो मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । पीडित व्यवसायीहरू पनि गुन्डागर्दीका नाइकेहरूविरुद्ध लिखित जाहेरी दिन डराउने गरेका छन् ।

महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दी गर्दै आएका तेजेन्द्र गुरुङ दुई साताअघि नै पक्राउ परिसकेका छन् । सो क्षेत्रमा गुन्डागर्दीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भएको र अधिकांश उपत्यकाबाहिर भागेको महाराजगञ्ज वृत्तका डिएसपी प्रभु ढकालले बताए ।

गौशला प्रहरीले पनि गुन्डागर्दीको आरोपमा पाँचजनालाई थुनामा राखी कारबाही अघि बढाएको छ । सिनामंगल क्षेत्रका मेनपावर व्यवसायीलाई धम्क्याउँदै आएका सुमन थापालाई पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी अभिनारायण काफ्लेले बताए ।

पुरानोबानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका चारजना रहेको प्रहरीले जनाएको छ । प्रहरीले राजीव श्रेष्ठ, विराट घिमिरेलगायतको समूहलाई पक्राउ गरिसकेको छ । बानेश्वरको एक रेस्टुरेन्टमा मदिरा पिएर पैसा माग्दा उनीहरूले मालिकलाई कुटपिट नै गरेका थिए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले पनि १० जनालाई पक्राउ गरिसकेको छ । थापाथली र बानेश्वर क्षेत्रका व्यवसायीलाई धम्क्याउँदै आएका रिंकी भनिने रिंकज लिम्बू तथा पुरानो बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै आएका लक्षु भनिने सुरज न्यौपाने पक्राउ परेका छन् । गुन्डागर्दीमा संलग्न अन्य आठजना पनि थुनामा रहेको सिंहदरबार वृत्तप्रमुख डिएसपी होमिन्द्र बोगटीले बताए ।

बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका ११ जनालाई पक्राउ गरी कारबाही थालिएको बानेश्वर वृत्तका डिएसपी रेवती ढकालले बताए । गुन्डागर्दीका नाइकेहरू पञ्चे लामा, टोकल लामालगायत तीनवटा समूह बानेश्वर वृत्तको हिरासतमा छन् । केही दिनअघि शंखमुलको बागमती अर्पाटमेन्टमा पैसा माग्न गएका वेला आठजनाको समूह पक्राउ परेको थियो ।

अन्य नाम चलेका गुन्डाका नाइकेहरूसमेत पछिल्लो समय सतर्क भएका छन् । केही भने उपत्यकाबाहिर भागिसकेका छन् ।

छुटाउन नेताको दौडधुप

गुन्डागर्दीको आरोपमा पक्राउ परेकाहरूलाई छुटाउन उच्चस्तरको राजनीतिक दबाब आएको प्रहरीले जनाएको छ । स्वयम्भूले पक्राउ परेका कान्छा लामालाई छुटाउन कांग्रेस र एमालेका सभासद् आइतबार प्रहरी कार्यालयमै पुगेका छन् ।

बलराम सापकोटालाई छुटाउन कांग्रेसका नेता मात्र होइन प्रधानमन्त्री सुशील कोइरालाकै पिए लक्ष्मण ढकाललगायत लबिङमा छन् । राजनीतिक संरक्षणमा गुन्डागर्दी हुँदै आएकाले छुटाउन पनि राजनीतिक दबाब परेको हो । तर, एसएसपी खरेलले जोसुकैले फोन गरे पनि नछाड्न निर्देशन दिएका छन् । राजनीतिक दबाब नमान्ने स्वभावका खरेलले आफूलाई कसैले दबाब नदिएको बताउने गरेका छन् ।

सबैलाई सार्वजनिक मुद्दा

गुन्डागर्दी र तथा धम्क्याएर असुली गर्नु गम्भीर किसिमको अपराध भए पनि प्रहरीले भने उनीहरूलाई सबैभन्दा कमजोर मुद्दा चलाउने गरेको छ । फौजदारीमा केही सार्वजनिक ऐनअनुसार चलाइने मुद्दा सबैभन्दा कमजोर सजाय हुने मुद्दा हो ।

सार्वजनिक मुद्दामा २५ हजार रुपैयाँसम्म मात्र जरिवाना हुने गरेको छ । प्रहरीले बढीमा २४ दिनसम्म मात्र उनीहरूलाई थुनामा राख्न सक्छ ।

गुन्डागर्दीमा संलग्नहरूलाई कडा सजाय हुनुपर्ने भन्दै तीन वर्षअघि नै प्रहरीले गुन्डागर्दी ऐनको मस्यौदा बनाई गृह मन्त्रालयमा पठाएको थियो । तर, हालसम्म पनि सो प्रक्रिया अघि बढ्न सकेको छैन ।

धम्क्याएर लाखौँ असुलेपछि गुन्डागर्दीमा संलग्नहरू केही दिन हिरासतमा बसी ५/१० हजार धरौटीमा नै छुट्ने गरेका छन् । सजाय कमजोर हुँदा नै गुन्डागर्दीमा संलग्नहरूको हौसला बढेको प्रहरी अधिकारीहरू बताउँछन् । – नयाँ पत्रिका