कविता
कपाल सेतै फूलेको
पिंठ्युमा पटुकी बाँधेको
ऊ त्यो मान्छे
अहिले ठिङ्ग उभिएको छ ।
कम्मरमा तरवार भिरेको
पूर्खा गौंरवको गीत गाईरहेको
ऊ त्यो मान्छे
सत्यत,नम्रता र आध्यात्मिकताको अभावमा
सुन्न नसक्ने बहिरो भएको छ ।
जाती जाती बिच शत्रुता बढेको
शत्रुद्वारा वस्त्र खोसेको
आफ्नै भूमी टुक्रा-टुक्रा पार्न खोज्दा पनि
धन्यवादमा वली चढाउने देखि
ऊ त्यो मान्छे
बोल्न नसक्ने लाटो भएको छ ।
धम्की र झुटका हतियार भिरि
शहरभित्र विधंश मच्चाईरहेका
अधर्म र उपद्रव देखि
ऊ त्यो मान्छे
व्याकुल भएको छ ।
आफ्नै घुँडा चिप्लिदा पनि
अरु माँथी तरवार उठाउन खोज्ने
न्यायदण्डको खोल फ्याँकी
देशको स्तूति गाँऊने देखि
ऊ त्यो मान्छे
हामी संग सोध्दैछ ।
– दीपकज्योति पौडेल,बेल्जियम