सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी दिने भएको छ ।
परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो ।
विभागका महानिर्देशक रमेश खनालले लिङ्गको महलमा यौनिक तथा लैङ्गिक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अब छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी वितरण गर्न महानिर्देशक खनाललाई गरेकी थिइन् । गुरुङले महानिर्देशक खनाललाई पत्र लेखेर पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्था अन्त्य गर्दै लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी वितरण गर्न आग्रह गरेको नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परशु राईले जानकारी दिए ।
नील हिरा समाजको अनुरोध अनुसार अव एमआरपीमा एक्स उल्लेख गरेर वितरण गर्ने प्रक्रिया सुरु हुने राहदानी विभागका महानिर्देशक खनालले जानकारी दिए । ‘मेरै कार्यकालमा समलिङ्गी तेस्रोलिङ्गीलाई पहिचान सहितको राहदानी एमआरपी वितरण हुनेछ’, महानिर्देशक खनालले भने ‘पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ ।’
अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले एमआरपी वितरण गर्दा ‘मेल’, ‘फिमेल’ र ‘एक्स’ उल्लेख गर्न सकिने व्यवस्था गरेकाले ‘एक्स’नै उल्लेख गरेर समलिङ्गी तेश्रोलिङ्गीलाई राहदानी वितरण गर्न पनि आग्रह गरेको समाजकी अध्यक्ष गुरुङले जानकारी दिए ।
समलिंगी तेस्रोलिङ्गीको अधिकार प्राप्तीका अभियन्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले सरकारले यौनिक तथा लैङ्गिक पहिचान अनुसारको राहदानी उपलब्ध गराउने निर्णय गरेकोमा त्यसको स्वागत गरे । उनले समलिङ्गी तेस्रोलिङ्गीको अधिकारको क्षेत्रमा यो निर्णय एउटा कोशेढुंगा सावित हुने बताए ।