जुलार्इ २१ मा के हुन्छ ?

Belgian National dayजुलार्इ २१ बेल्जियमको राष्ट्रिय दिवस हो, तर यस वर्षको  राष्ट्रिय दिवसमा राजा अल्बर्ट दोश्रोले आफ्ना जेठो छोरा फिलपलाइ राजगद्दी हस्तान्तरण गर्ने हुँदा खास महत्व राख्दैछ । बेल्जियमका पहिलो राजा लियोपोल्ड प्रथमले सन् १८३१ मा शपथ खाएको दिन जुलाइ २१ लार्इ राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ । जुलार्इ २१ मा शपथ खाने दोश्रो राजा बन्दैछन् – फिलिप ।

बिहान ९ वजे ब्रसेल्सको राजकीय चर्च सेन्ट मिसेलमा रोमन क्याथोलिक प्रचलन अनुसार पूजा हुनेछ । बिहान साढे १० बजे राजा अल्बर्टले राजदरबारको एक कार्यक्रममा राजगद्दी त्याग गरेको कागजातका हस्ताक्षर गर्नेछन् । त्यसपछि पनि अल्बर्टको ‘राजा’ को पदवी कायमै रहनेछ, तर ‘बेल्जियम जनताका राजा’ भन्ने पदवी चाहिँ छोराले पाउनेछन् ।

मध्यान्हमा फिलिपले राजाको शपथ लिनेछन् । त्यसपछि उनलार्इ ‘बेल्जियम जनताका राजा’ भनिनेछ । फिलिपकी ठूली आमा र आमा ‘रानी’ बनिरहने छन् भने फिलिपकी श्रीमति माथिल्द ‘बेल्जियन जनताकी रानी’ कहलिने छिन् ।

राजा अल्बर्ट दोश्रोले राजगद्दी त्याग गरेपछि उनका कतिपय भत्तामा कमी हुने बताइएको छ ।