सिउरिन भन्दिन एक थुँगा तिमीलाई
बरु फूलसँग राखिदिन्छु तिमीलाई
अनि बल्ल मुस्कुराउँछन गुराँसहरु
र, उत्सव चल्छ यो प्रेमलोकमा !
जव यो शीतल हावामा
“जीवन”को सुगन्ध मिसिएर आउँछ
पहराहरु रसाउन थाल्छन्
हरियो थप्छ दुवोले,
मात्तिएर जोडी ढुकुरहरु
छाडा हुन थाल्छन
हाँगा, कौशी र छानाहरुमा,
अनि, एकलो वैंशमा
जव आरु र पैंयूहरुले कोपिला देखाउँछन्
सूर्यको सम्पूर्ण किरण
तिमीमा आएर थुप्रिन्छ
र, म लुक्छु तिम्रो छाँयामा ।
साँझ सम्झौता गराउनु छ जुनसँग
अनि बल्ल, उज्यालो पुल बन्नेछ
तिमी र मेरोवीच
कोइलीले गाउँदै हिडेको
मधुर गीतको अर्थ यही हो “प्रिय” ।
तिम्रो सिंगो मुस्कान थुप्रिएको
हिमाल सामुन्ने उभिएर
मैले तयार गरेको
तिम्रो सुन्दरताको “घोषणपत्र”
शँसोधन गरेको छैन कसैले
आजका मितिसम्म ।।
दीपेन्द्र के.सी
बागलुङ, हाल लुभेन बेल्जियम