केहि समय अगाडि भारतकी विख्यात गायिका लता मंगेशकरसँग “बाँचुन्जेलीलाई” युगल गीत गाएर चर्चामा रहेका गायक रामकृष्ण ढकाल जब स्टेजमा देखा परे ऊनको ‘सबैसँग माया-मोह राखी रहूँ बाँचुन्जेलीलाई,बाँचुन्जेलीलाई’ भन्ने सन्देश कण्ठ पारेका दर्शकहरुलेले परर्र तालीले स्वागत गरे| दर्शकको तालीबाट प्रसन्न ढकालले “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस,यी हातले सधै नेपाल लेख्न पाईयोस..” बोलको गीत के गाउँदै थिए दर्शक पनि उनको स्वरमा स्वर थप्दै उही भाकामा गाईरहे|
राष्ट्रभक्ति गीतहरुले दर्शकहरुलाई नेपालमै रहेको अनुभूति दिलाए| उनी मानवका बास्तविक जीवनका गीत गाउँदै भावुक भए|कलाको रंगीन दुनियाँमा भिजेका ढकालले “मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ…” बोलको गीत गाए, दर्शकदीर्घाबाट तालीको पर्रा बज्यो । दर्शक-श्रोताले ‘वान्स मोर’ भन्दै हुटिंग गरे। युवाहरुको हुटिंग सँगै “नदी भन्छ बगिरहुँ,सृष्टि भन्छ चलिरहुँ,मन त भन्छ सबैसँग माया-मोह राखी रहुँ, बाँचुन्जेलीलाई..बाँचुन्जेलीलाई…” बोलको गीतले माया र सद्भावको संदेश दिए|दर्शकहरु उनको स्वरमा स्वर थप्दै मन्दरुपमा गाईरहे|सयौं उपस्थित दर्शकमाझ मानवीय जीवनको यथार्थता बोध गराउदै सम्बोधनका बोलीबाट “प्रवासका नेपालीहरुमा नेपाली गीत र संगीतप्रति रहेको अगाध मायाले म निकै खुशी भएको छु, जुनसुकै कारणले जो जहाँ रहे पनि कला, साहित्य र संस्कृति राष्ट्रका पहिचान हुन्, जोगाउनु हाम्रो कर्तब्य हो” भन्दै राष्ट्रियता र सद्वभावको संदेश पनि मन छुने किसिमले दिए| उनका स्वाभिमानी र आत्मसम्मानका गीतहरुले सोचनीय दर्शकसामु “मायालुको मुहारै हँसिलो ..” गीत गाउन सुरु के गरेका थिए दर्शकहरु उठेर कम्मर मर्काउदै नाच्न थाले, दर्शकसँग उनी पनि नाचे र नचाए पनि | उनि एक्लै थिएनन् उनका साथमा थिइन् गायिका मल्लिका कार्की पनि | दर्शक नचाउन निकै सिपालु उनले “चट्ट रुमाल क्या मालुम……” बोलको गीतले दर्शकलाई मनोरन्जन मात्र दिलाएनन “यति धेरै मान्छेहरुको बिचमा एउटा मान्छे छ मेरो मनमा…..” बोलको गीतले सबै दर्शकलाई सँगसंगै नचाईन पनि | उनको प्रस्तुतिले रमाईरहेका दर्शकबीच पुनः देखा परे गायक ढकाल |उनले “ओराली लागेको हरिणको चाल भो..”, ”माया गर्नेको चोखो माया..”, ”छिटको गुन्यु..” .बोलको गीतले माहौललाइ शान्त मात्र पारेनन ”एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा….” बोलको नारायण गोपालको गीतबाट दर्शक सामु उनको झल्को मेटाई दिए|राष्ट्रभक्ति गीतबाट कार्यक्रमको शरुवात गर्ने गरेका ढकाल “केहि मिठो बात गर रात त्यसै ढल्किँदै छ…..” ढल्किनै लागेको रातको समयमा एक अर्कामा माया र मिठो बात गर भन्दै ओझेल परे|
स्थानीय कलाकारहरुले उनलाई साथ दिएका थिए | थुप्रै लोक, आधुनिक, रोमान्टिक, प्यारोडी गीतहरुका साथ बेल्जियमका विभिन्न शहरहरुमा आयोजित कन्सर्टमा सहभागी ढकालले करिव २ महिने लामो युरोप यात्राको तय गरेका छन्| उनी युरोपका विभिन्न देशमा आयोजना गरिएका कार्यक्रममा सहभागी भैरहेका छन् | यो कार्यक्रम गत आईतवार लुभेनमा चितवन सहायता कोष बेल्जियमको आयोजनामा सम्पन्न भएको थियो| “कार्यक्रममा युवाहरुको सहभागिता देखेर उत्साही भएका छौं” आयोजक चितवन सहायता कोष बेल्जियमकी अध्यक्ष पार्वती अधिकारीले भनिन्|
– दीपकज्योति पौडेल