गत वर्ष नेपालमा भएका चर्चित साइबर अपराध

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइमसम्बन्धी अपराधमध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । गत साउनयता महाशाखामा साइबर क्राइमसम्बन्धी ७० वटा उजुरी परेकामा त्यसमध्ये ५८ वटा फेसबुकसम्बन्धी मात्र छन् । जसमध्ये ५७ वटा घटनालाई प्रहरीले छलफललका क्रममा मिलाएको छ भने जनालाई भने विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरेको छ ।

cybercrimeफेसबुक विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामग्री पोस्ट गर्ने, अश्लील फोटो टयाग गर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेका छन् । प्रस्तुत छ वर्षका केही चर्चित साइबर अपराध :

पम्फालाई गाली, हातमा हतकडी
फेसबुकमा नेकपा–माओवादीकी नेतृ पम्फा भुसाललाई अश्लील शब्दले गाली गरेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा पर्‍यो । नेतृ भुसाल आफैँले सो उजुरी दिएकी थिइन् । प्रहरीले अनुसन्धान गरी एक विद्यार्थीलाई पक्राउ गर्‍यो । काभ्रेका भवनाथ सापकोटाले त्यसरी नेतृ भुसाललाई अश्लील शब्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेका थिए । सापकोटालाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइयो । उनी धरौटीमा छुटे ।

नक्कली एसएमएसको आतंक
वेभ एसएमएस पठाई ठगी गर्न नाइजेरियन नागरिकको समूह नेपालमा सक्रिय रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले गत जेठ महिनामा वेभ एसएमएस पठाई चिट्ठा परेको भनी पैसा मागेर उनीहरूले ठगी गर्दै आएका थिए । सिआइबीले गत ३० जेठमा दुई नाइजेरियन नागरिक र एक नेपाली युवतीलाई ठगी आरोपमा पक्राउ गरेको थियो । सो समूहले पेप्सीको लोटरी परेको वेभ एसएमएस पठाएर सो लोटरी लिन विभिन्न चार्ज लाग्ने भन्दै ठगी गरेको हो ।

नाइजेरियनहरू विश्वमै ठगीमा कुख्यात छन् । विश्वका सबैजसो देशमा नाइजेरियन नागरिकले ठगी गर्दै आएका छन् । विभिन्न देशमा गई सो देशका व्यक्तिलाई तामिल दिई संगठित रूपमा उनीहरूले ठगी गर्दै आएको प्रहरी अधिकारी बताउँछन् । नेपालमा पनि त्यस्ता विभिन्न समूह सक्रिय रहेको प्रहरीको भनाइ छ ।

पत्रकारलाई पनि छाडिएन
साइबर ऐनको मुद्दामा यो वर्ष तीन पत्रकार पनि पक्राउ परे । निर्वाण चौधरीको उजुरीका सेयर बजार साप्ताहिकका सम्पादक दिनेश आचार्य पक्राउ परे भने कन्या क्याम्पसको उजुरीमा नेपाली हेडलाइन्स डटकमका पत्रकारद्वय सुशील पन्त र सन्तोष भट्टराई केही दिन थुनिए । पछि उनीहरू अदालतको धरौटीमा रिहा भए । सामाजिक सञ्जाल र अनलाइन मिडिया फरक कुरा भएकाले पत्रकारसम्बन्धी घटना प्रेस काउन्सिलले छानबिन गर्ने सहमति भएको छ । यो घटनाले पत्रकारिता जगत्मा पनि सनसनी मच्चियो । अनलाइन मिडियालाई साइबर क्राइम लाग्ने कि नलाग्ने भन्ने विवाद कायमै छ । यी दुई घटनापछि अनलाइन मिडियामा कसैको विरोधमा समाचार लेखेकै भरमा विद्युतीय कारोबार ऐन लाग्न नहुने पक्षमा आवाज उठ्दै आएको छ । सो कुरालाई प्रस्टयाउने गरी साइबर ऐन संशोधन गर्नुपर्ने माग पनि उठेको छ ।

गर्लफ्रेन्डसँग बार्गेनिङ
फेसबुकमार्फत जोडिएको सम्बन्धले एक युवतीले नसोचेको पीडा भोगेकी छिन् । फेसबुकमार्फत चिनजान भई प्रेमको कसम खाएका कुन्दन श्रेष्ठले ब्ल्याकमेलिङ गरेपछि युवती प्रहरीको शरणमा पुगेकी हुन् । ब्ल्याकमेलिङ गर्ने श्रेष्ठ अदालतले मागेको ९ करोड २८ लाख धरौटी तिर्न नसक्दा प्रहरी खोरमा परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफ्नै प्रेमिकासँग ब्ल्याकमेलिङ गर्ने श्रेष्ठलाई गत २२ असारमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार श्रेष्ठले ब्ल्याकमेलिङ गर्दै युवतीसँग १३ लाख असुलेका थिए । त्यतिले पनि नपुगेर गोप्य फोटोहरू सार्वजनिक गरिदिने भन्दै थप यातना दिएपछि युवती श्रेष्ठविरुद्ध प्रहरीको शरणमा पुगेकी हुन् । पाँच वर्षसम्म कैद सजाय हुनसक्ने विद्युतीय कारोबार ऐनअन्तर्गत प्रहरीले श्रेष्ठमाथि मुद्दा चलाएको थियो । सिआइबीका डिएसपी नरेश मल्लका अनुसार करिब तीन वर्षअघि दुईजनाबीच फेसबुकमा चिनजान भएको थियो । पछि इमेलमार्फत कुरा भई उनीहरू प्रेम सम्बन्धमा गाँसिएका थिए । धेरैपटक भेटेर घुम्न पनि गएका थिए । तर, श्रेष्ठले युवतीसँगको सम्बन्धलाई पैसा कमाउने माध्यम बनाएको प्रहरीले जनाएको छ ।

युवतीका गोप्य भिडियो र फोटो संकलन गरी श्रेष्ठले गत वर्षदेखि नै ब्ल्याकमेलिङ सुरु गरेको प्रहरीले जनाएको छ । पटक–पटक गरेर युवतीले १३ लाखभन्दा बढी बुझाइसकेकी थिइन् । तर, श्रेष्ठले सताउन छाडेनन् । गोप्य फोटा परिवारलाई पठाइदिने तथा सार्वजनिक गरिदिने भन्दै उनले लगातार धम्की दिई पैसा मागिरहेका थिए । अति भएपछि युवती प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले प्रमाणसहित श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले उनको कम्प्युटर तथा इमेलमा युवतीका गोप्य फोटासमेत फेला पारेको छ ।

फेसबुक, भाइबर, भि–च्याट, स्काइप, टयांगोजस्ता माध्यमबाट संकलन गरेका फोटो तथा सन्देश सुरक्षित राखेर श्रेष्ठले युवतीलाई ब्ल्याकमेल गरेका थिए । मोरङ घर भई बानेश्वर बस्ने श्रेष्ठ दुवईमा काम गरेर केही महिनाअघि मात्र फर्किएका थिए । युवतीले भेटेर यस विषयमा कुरा गर्न खोज्दा पनि उनी सम्पर्कमा नआई ब्ल्याकमेलिङ मात्र गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

साली पटयाउन खोज्दा
साली पर्ने एक युवतीलाई फेसबुकको दुरुपयोग गरी पटयाउन खोज्दा एक युवक प्रहरीको फन्दामा परे । ३३ वर्षीया रोशन गजुरेललाई फेसबुकमार्फत साली पर्ने एक युवतीसँग नाजायज फाइदा लिन खोजेको आरोपमा उनी भदौको अन्तिम साता पक्राउ परेका हुन् । पछि उनी धरौटीमा छुटे ।

सामान्य मात्र चिनजान भएकी युवतीसँग नजिकिएर उनले नाजायज सम्बन्ध राख्न खोजेका पीडितको उजुरी थियो । तर, युवतीले नमानेपछि उनले लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकको सहारा लिएका थिए । युवतीलाई ब्लाकमेलिङ गर्ने क्रममा उनले नांगो तस्बिरमा अनुहार राखेर फेसबुकमा फोटो सार्वजनिक गरिदिएका थिए । अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति राय भन्छन्, ‘फेसबुकमा अश्लील फोटो राखेर उनले ब्लाकमेलिङ गर्न खोजेका रहेछन् । गजुरेलकी साली पर्ने युवतीको उजुरीका आधारमा उनलाई पक्राउ गरेका हुन् ।’

गत असोजमा कम्प्युटर इन्जिनियर नै फेसबुक दुरुपयोगको आरोपमा पक्राउ परेका छन् । स्कुल पढ्दादेखिका आफ्ना महिला साथीहरूको मोबाइल नम्बर अश्लील फेसबुक पेजमा राखेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि उनले रमाइलोका लागि आफूले त्यस्तो गरेको बताएका छन् । उनलाई पनि महानगरीय प्रहरीले साइबर क्राइमअनुसार मुद्दा चलाएको छ ।
– नवराज मैनाली