खोसिन सक्छ ग्रिनकार्ड पनि …

रमेश श्रेष्ठ, कानुन व्यवसायी, न्युयोर्क
Ramesh NY lawerतपाई लामो समयदेखि अमेरिकामा कानुन व्यवसायमा संलग्न हुँदा नेपालीका कानुनी समस्याहरुको अवलोकन कसरी गरिरहनुभएको छ ?
नेपालीहरुको सन्दर्भमा कुरा गर्दा कोही नेपालीहरु विद्यार्थीको रुपमा त कोही पर्यटकका रुपमा अमेरिकामा आउने गर्छन् । कोही ब्यापार गर्नका लागि आउनेहरु पनि छन् । पछिल्लो चरणमा भिसा पाउन नसक्नेहरु मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका पस्नेहरु पनि प्रसस्त रुपमा देखिएका छन् । यसरी गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुका समस्याहरु सीमा गस्तीले समाउने, हिराशतमा पर्ने , जेलमा पर्ने लगायत रहेका छन् । जेलमा पर्नेहरुका सन्दर्भमा अमेरिकाको कानुनी प्रणाली अनुशार अध्यागमन अधिकारीहरुले प्रश्न गर्दा पक्राउ परेको व्यक्ति स्वदेशमा बस्न नसक्ने कारण र डर विश्वसनीय देखिएको खण्डमा उसलाई तत्काल डिपोर्ट गरिदैन । सुरक्षाको खोजीमा वा ज्यान बचाउन आएको अवस्था हो भने उनीहरुलाई एसाइलम गर्नका लागि वा अध्यागमन न्यायाधिससँग जानका लागि प्रावधान दिइन्छ । भिसा लिएर आउनेहरुको सन्दर्भमा अब कसरी बस्ने भन्ने समस्यामात्र हुने गरेको छ भने विना भिसा मेक्सिको हुँदै आउनेहरुका सन्दर्भमा भने अमेरिका पस्नेदेखि अन्य समस्याहरु देखिने गरेको छ । भिसा लिएर आप्रवासी भिसामा आउनेहरुका लागि भने कुनै समस्या देखिदैन । उहाँहरु ग्रिनकार्ड लिएर आउने भएकाले सानातिना बाहेक खासै समस्या झेल्नुपर्दैन ।

अमेरिकामा नेपालीहरु बढ्दै गइरहेको सन्दर्भमा नेपालीहरु वकिलहरु समक्ष इमिग्रेशन बाहेक फरक खालका विषयहरु लिएर कत्तिको आउने गर्छन् ?
अमेरिकामा नजन्मेका नेपालीहरुले भोग्ने गरेको सुरुवाती समस्या भनेको इमिग्रेशनकै समस्या हो । इमिग्रेशनको समस्या समाधान भएर उहाँहरुले ग्रिनकार्ड वा नागरिकता पाइसक्नुभएको सन्दर्भमा फरक खालका केशहरु पनि आउने गरेका छन् । यदि कसैले ब्यापार गरेको छ भने फ्रडका कुरा, बिक्री सम्बन्धि कुराहरु, सम्झौताका कुराहरु पनि आउने गरेका छन् । नेपालीहरुले रेष्टुरेण्ट, नेल सैलुन , पार्लरहरु खोल्ने प्रकृयामा जाँदा लिजको समस्या पनि आउने गरेको छ । यहाँको नियमअनुशार लिज नभएको खण्डमा वा रित नपुगेको खण्डमा लिजमा भएको भाषा नबुझी हस्ताक्षर गर्दा पनि समस्या भोग्नुपरेको देखिएको छ । १० वर्षको लिजमा उहाँहरुले भोग्नै नसक्ने प्रावधान छ भने हजारौंको घाटा लाग्ने अवस्था आउनसक्छ । यस्तो खालका समस्याहरु पनि हामीले दिनहु देख्दै आएका छौं । इमिग्रेशनको समस्या नभएका नेपालीहरुले ब्यापारका विभिन्न खालका समस्याहरु ल्याउने गरेका छन् ।

उसो भए अमेरिकामा जन्मेकाहरु र अमेरिका आएका नेपालीहरुको समस्याको प्रकृति अब मिल्दोजुल्दो हुन थालेको छ ?
जो व्यक्तिले इमिग्रेशन स्टाटस सुरक्षित गरिसक्नुभएको छ, उहाँहरुलाई त्यससम्बन्धि समस्या छैन । नेपालीहरु पनि अमेरिकाको दैनिक जीवनमा प्रवेश गरेर विभिन्न व्यवसाय गर्ने वा काम गर्न सुरु गरेकाले अमेरिकनहरुले सामना गर्ने कानुनी समस्या र अमेरिकामा रहेका नेपालीहरुले सामना गर्ने कानुनी समस्याको प्रकृति मिल्दोजुल्दो हुन थालेको छ । पढेलेखेका नेपालीहरु काममा जाँदा विभेद हुने, हिनताबोध गराउने अवस्था भएमा उहाँहरुले अमेरिकन सरह नै कानुनी प्रावधान पछ्याएर केश चलाउने स्थीति हुनसक्छ । त्यसैले नेपालीहरुका कानुनी समस्याको प्रकृतिमा आएको परिर्तनसँगै हामी नेपाली कानुन व्यवसायहीहरुले त्यस्ता समस्याको समाधानका लागि आफ्नो क्षमता बढाउन जरुरी छ ।

अमेरिकाको सामान्य कानुनी जानकारी नहुँदा नेपालीहरु अमेरिका आउनासाथ कानुनी झन्झटमा फस्ने गरेको अवस्थामा अमेरिकामा आउनुअगाडि नेपालीहरुले के कुरामा ध्यान दिनुपर्छ ?
डिभी चिठ्ठा परेर अमेरिका आउनेहरुले इमिग्रेशन समस्याहरु झेल्नु पर्दैन । इमिग्रेशनको विषयमा समयको हिसाबले उहाँहरुले त्यो पाँचदश वर्ष गुमाउनु पर्दैन । त्यो उहाँहरुका लागि फाइदाको कुरा हो । तर उहाँहरु अमेरिकाको नियम, रहनसहन नबुझेकाले र नयाँ संसारमा एकैपटक आउँदा वा नेपालको तरिकाले अमेरिकामा जिउदाखेरी विभिन्न समस्याहरु आउन सक्छन् । उदाहरणका लागि नेपाली बाबुआमाले बच्चाहरु लिएर अमेरिका आइसकेपछि उनीहरुलाई स्कुल पठाउछन् । बच्चाले स्कुलको सिस्टममा ढाल्ने क्रममा बच्चाले बढ्न मानेन वा खेल्नमात्र खोज्यो भने बाबुआमाले नेपाली स्टाइलले बच्चालाई अनुशासनमा राख्नका लागि दुईचार झापड पनि लगाउन सक्छन् । तर अमेरिकामा बच्चाहरुलाई हात हाल्न मिल्दैन । यदि त्यो बच्चाले स्कुलमा गएर आफूलाई बाबुआमाले पिटेको कुरा गरेमा वा उसको शरिरमा कतै केही डाम छ भने त्यो स्कुलले नै बाबुआमालाई कारवाहीको प्रकृयामा लैजान्छ । त्यसपछि प्रहरी आएर बाबुआमालाई पक्राउ पनि गर्न सक्छ भने सामाजिक समुह आएर बच्चाहरु नै लिएर पनि जानसक्छ । बाबुआमा विभिन्न खाले कानुनी झमेलामा पर्न सक्छन् । श्रीमान् श्रीमतिको झगडा भएर श्रीमान्ले श्रीमतिलाई नेपालकै शैलीमा कुटपिट गरेमा छिमेकीले प्रहरीलाई खबर गरिदि एभने प्रहरी आएर श्रीमान्लाई जेलमा हाल्ने लगायतको कानुनी प्रकृया सुरु हुन्छ । नेपालमा लोग्ने स्वास्नीको झगडा , परालको आगो भनेपनि अमेरिकामा घरै जल्ने खरको आगो जस्तो हुन्छ । त्यही समस्याले ग्रिनकार्ड खोसिन समेत बेर लाग्दैन । कुनै अपराधबाट ग्रिनकार्ड खोसिने अवस्था आएमा उसलाई डिपोर्ट गर्ने अवस्था समेत आउनसक्छ । यो अवस्था त कसैले कल्पनै गरेको हुँदैन । नेपालमा त लौ अब डिभी प¥यो, जीन्दगी सुध्रियो भन्ने लाग्नसक्छ । तर अमेरिकामा आइसकेपछि नेपालीहरुले यस्ताखालका कानुनी समस्या समेत भोग्ने गरेका छन् । त्यसैले अमेरिकामा आउने नेपालीहरुले अमेरिकाको कानुन र रहरसहनबारे ज्ञान लिएर आएमा जीवन अलिकति सजिलो हुन्छ ।
जति धेरै कानुनको उल्लंघन हुन्छ, वकिलहरुलाई त त्यती नै धेरै आर्थिक फाइदा हुने हो । तर अमेरिकामा रहेका नेपालीहरुलाई कानुनको पालना गर्नका लागि कत्तिको सजग गराउने गर्नुहुन्छ ?
नेपालीहरुलाई जति धेरै कानुनी समस्या हुन्छ, त्यती धेरै कानुन व्यवसायीले केश पाउने वा पैसा कमाउन सक्ने अवस्था त हुन्छ । तर मानवीय नाताले पनि हामीले सोंच्नुपर्छ । पैसै कमाउने भनेर सोंचेरमात्र पनि हुँदैन । त्यसैले कसैलाई पनि कानुनी समस्या भोग्नु नपरोस् भन्ने नै हाम्रो लक्ष्य हो । भर्खर भर्खर अमेरिका आउने वा एसाइलम गरेर ग्रिनकार्ड पाएकाहरुलाई मैले कानुनी झन्झटबाट टाढा रहनका लागि सुझावहरु दिने गरेको छु । पसलमा सानो चोरी वा अन्य कुनै समस्यामा परेमा पनि एसाइलम स्टेटस गुम्न सक्ने भएकाले मैले त्यस्ता विषयमा पनि सजग गराउदै आएको छु । एउटा नेपालीले ग्रिनकार्ड गुमायो भने हामीलाई के फाइदा भयो र ? दुईचारपटक अदालत धाउने हो । त्यसपछि केश नै छैन, डिपोर्टेशन हुने अवस्था भयो भने के अर्थ भयो र ? मानसिक हिसाबले पनि हामीलाई सन्तुष्टी हुँदैन । त्यसैले हामीले हाम्रा ग्राहकहरुलाई कानुनको पालना गरेर अगाडि बढ्नका लागि सुझाव दिने र सचेत गराउने गर्दै आएका छौं ।
– खसोखास साप्ताहिक, पूर्णाङ्क १०१मा प्रकाशित