असीम बलवान तिमी, संसार जित्ने सामर्थ्य राख्छौ
तिमीलाई सभ्यताको सिँढी किन चाहियो र ?
बहादुर सिपाहीहरुले भरिएका छन् सडकहरु
तरवार, खुकुरी र बारूदका घेराभित्र
म के नै गर्न सक्छु र?
तैपनि मैले देखिरहेछु
तिमी आफै नाच्न भूलेर
कोर्राहरु नचाईरहेछौ ।
तिम्रो अज्ञानता
प्रेम नकार्ने मिथ्या भ्रम
अनि अरूलाई अस्वीकार गर्ने दम्भ
मलाई रित्तो लाग्छ, खोक्रो लाग्छ ।
हत्या, हिंसा र क्रोध
यसमा मेरो जीवनको आनन्द छैन
दाम र कृतिको चाहना पनि छैन
त्यसैले
छाडीदेउ मलाई तिम्रो यो चँगुलबाट
कहाँ छ ? त्यस्तो ठाउँ यो संसारमा ?
जहाँ
चरा झैँ स्वतन्त्र
खुला आकाशमा उड्न सकुँ
-डिल्ली अम्माई, बेल्जियम