चर्चित खलनायक सुनील थापा २८ वर्षको लामो अन्तरालपछि अब फेरि ठूलो ब्यानरको बलिउड फिल्ममा खेल्ने भएका छन्। २८ वर्षपछि सञ्जयलीला भंसालीको ब्यानरमा निर्माणाधीन बलिउड फिल्म ‘मेरि कोम’ मा खेलेपछि उनी बलिउडमा फेरि छाउने संकेत देखिएको हो। मेरी कोम त्यो हिन्दी फिल्म हो, जो चर्चित भारतीय बक्सिङ स्टार मेरी कोमको जीवनीमा आधारित छ।
फिल्ममा बलिउड सुन्दरी प्रियंका चोपडा मेरि कोमका रूपमा प्रस्तुत भएकी छिन् भने सुनील थापालाई उनको कोचका रूपमा प्रस्तुत गरिएको छ। बलिउडमा एकसे एक अभिनेता हुदा हुदै कोचको भूमिकाका लागि साढे दुई दशकदेखि नेपाली फिल्ममा खुङ्खार भिलेनको भूमिकामा जम्दै आएका यी ‘राते काइँला’ लाई बलिउड बोलाइएको हो।
राते काइँला सुनील थापालाई मेरि कोमको कोच बन्न सुहाउने भएकाले मात्र नभई उनको अभिनय क्षमता, राम्रो हिन्दी टोन र बलिउडमा उनले विगतमा गरेको कामका आधारमा उनलाई खेलाइएको हो। अभिनेता थापाले आफ्नो फिल्मी करियर बलिउडबाटै शुरू गरेका थिए। उनले आजभन्दा २८ वर्षअगाडि ‘एक दुजेके लिए’ नामक बलिउड फिल्मबाट आफ्नो फिल्मी अभिनय यात्रा शुरू गरेका थिए। एक दुजेके लिएपछि सुनिलले शाहीबहादुर, आजकी आवाज, मानव हत्यालगायत डेढ दर्जन बलिउड फिल्ममा आप्mनो कुशल अभिनय क्षमता प्रदर्शन गरेका थिए। सोही समयमा नेपाली ब्लक बस्टर फिल्म ‘चिनो’ मा खेल्न बोलाइएपछि र त्यस फिल्मको राते काइ“ला चरित्रबाट लोकप्रियता कमाएपछि उनको अभिनय यात्रा नेपाली फिल्मक्षेत्रतर्फ मोडिन पुगेको थियो।