ई. सं. २०१३ बिदा हुँदैछ, र २०१४ को आगमन । नयाँ साल कस्तो रहला ? आउँदो एक वर्षको संभावित घटनाक्रमबारे यहाँ चर्चा गरिन्छ । आशा गरौँ, धेरै राम्रा कामको शुरूवात हुनेछ । तैपनि, बितेका सालहरू र प्रवृत्तिलाई हेर्दा मीठा-तीता घटनाको श्रृँखला चलि नै रहनेछ ।
स्वभावतः नेपालमा आउँदो एक वर्ष संविधान बनाउने कुराले राजनीति घिस्रीरहने छ । २०१४ को प्रारम्भ मै सरकार गठनको चर्चा, तरल समीकरण र राजनीतिक खिचातानीले सरकार कसले बनाउने र मन्त्रीमण्डलमा मन्त्रालयको भागबन्डाबारे रँगीन समाचारहरू आइरहनेछन् । अन्ततः शुशील कोइरालाको नेतृत्वमा काँग्रेस, एमाले र केही मधेसीसहितको सरकार गठन हुने संभावना छ । सभामुखका निम्ति एमाले र एमाओवादीबीच खिचातानी हुनेछ ।
सरकार बनेपछि संविधान निर्माणका निम्ति ‘सहमति’ सबै पार्टीले जपीरहनेछन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका बारेमा प्रचण्ड फतक्क गल्नेछन् र सँघीयताका बारेमा सबैले ‘फेस सेभिङ’ को बाटो खोज्नेछन्, जसले गर्दा सँघीयताविरोधी पनि नदेखियोस् र आफ्नो एजेन्डा पनि सम्बोधन होस् ।
संविधान निर्माणको कुराले २०१४ नघाउने हुँदा राष्ट्रपतिको निर्वाचन अर्को वर्षका निम्ति धकलिने छ । यो कुरा अमिलो मान्दै एमालेले कुर्नेछ ।
सँविधान बनाउने कुरामा काँग्रेस र एमालेका बीच एकै खालको स्वर हुनेछ । पार्टीगत अडान र जस लिने ध्याउन्नमा वादविवाद नहुने नै होइन । समग्र राजनीतिमा भने काँग्रेस र एमाओवादीले एमालेलाई पेल्न खोज्नेछन् । काँग्रेसका निम्ति एमाले प्रमुख प्रतिस्पर्धी हो, यसलाइ रोक्नुपर्छ भन्ने हुन्छ । अर्कोतर्फ, एमाओवादीले काँग्रेससँग नरम भएर भए पनि एमालेलाई शत्रु देख्नेछ ।एमाओवादीका नरमपन्थी कार्यकर्ता एमालेमा जानबाट रोक्न, र वाम आन्दोलनको मूल प्रवाह को हो ? भन्ने सवालमा यी २ कम्युनिष्ट पार्टीहरूबीच जुहारी चलीरहने छ ।
यसबीच, बेलाबखत स्थानीय निर्वाचन गर्नुपर्ने माग उठ्नेछ, तर सँविधान बनाउने कुरा प्राथमिकता हो भनेर टर्ने सँभावना छ ।
मधेसी एकता र जातीय मुद्दाले बारम्बार समाचार बनाइरहने छन् । दुइ माओवादीबीचको एकताका बारेमा पनि थुप्रै लेखिनेछन् । त्यसबाहेक, भ्रष्टाचार र अख्तियारको सक्रियताले संचार जगतलाइ खुराक दिइरहने छ ।
एमालेमा महाधिवेशनको माग जोडतोडले चल्नेछ । काँग्रेस र एमाओवादीमा नेतृत्वप्रति असन्तोष भुसको आगो झैँ भए पनि चिसो पानी खन्याएर थामथुम पारिनेछ । बैद्य-माओवादी स्थायी प्रतिपक्षका रूपमा भन्डाफोरमा लागी नै रहनेछ । र गाउँ-बस्तिका भित्ताहरू संशोधनवाद र सामन्तवादका विरूद्धमा रँगीरहनेछन् ।
असार महिना (जुन/जुलाइ) मा ब्राजिलमा चल्ने विश्वकप फुटबलले सहर-बजार खेलमय हुनेछ भने गाउँघरतिर रोपाइँको चटारो । त्यस्तै, आउँदो महिना न्यूजिल्यान्डमा हुने क्रिकेट वर्ल्डकप क्वालीफाइयरमा नेपालको सहभागीताले युवाहरूमा ‘क्रिकेट फिबर’ बढाइदिनेछ । नेपालमा फुटबल जत्तिकै लोकप्रीय मानिनेछ, क्रिकेटलाई ।
प्रवासी नेपालीहरको सँस्था एन.आर.एन. सँघ, वैदेशिक लगानी र वैदेशिक रोजगारीका कुरा छिटफुट रूपमा चर्चामा रहिरहनेछ । राजनीतिले आशा जगाउन नसक्दा विदेश जानेको लर्को लागी नै रहनेछ । शुद्धिकरण र वैकल्पिक राजनीतिक शक्तीको चर्चा नागरिक समाजको गफ गर्ने विषय बनिरहनेछ ।
यही साल भारतमा लोकसभा निर्वाचन हुँदैछ । संभवत बि.जे.पी. सत्तामा आउनेछ र नरेन्द्र मोदी प्रधानमन्त्री बन्नेछन् । भारतमा नयाँ प्रधानमन्त्री बनेपछि नेपालका प्रधानमन्त्री ‘सप्ताहब्यापी’ भारत भ्रमणमा जानेछन् । त्यसपश्चात्, सायद भारतका नयाँ विदेशमन्त्री ‘दुई दिने’ नेपाल भ्रमणमा आएर दुई देशको सम्बन्धमा नयाँ अयाम थप्नेछन् । भारतीय विदेशमन्त्रीको समयाभावका कारण नेपालका प्रधानमन्त्रीहरू ‘अमुक’ होटलमा लाइन लागेर भेट्न जाने परिस्थिति बन्नेछ ।
नेपाली नेताहरू भारतीय नेतृत्वसामु निरिह बनेकोमा नेपाली प्रेसले आवाज उठाउनेछ । त्यस्तै, नेपाली प्रेसले भारतीय र अमेरिकी राजदूतहरूको समाचारलाइ महत्व दिएर हेडलाइन बनाइरहनेछ । भारतीय राष्ट्रिय दैनिकका नेपालसन्दर्भ समाचारले नेपालका राष्ट्रिय दैनिकमा दोब्बर स्थान पाइ रहने नै छन् ।
बि.जे.पी. को सत्तारोहणसँगै नेपालका हिन्दूवादीहरू उत्साहित हुनेछन् । बि.जे.पी. का उच्च नेतृत्व वर्गले चाहिँ नेपाललाइ ‘हिन्दू राष्ट्र’ बनाउनेभन्दा ‘हिन्दू धर्म-सँस्कृति बचाउने’तिर सल्लाह दिनेछन् । युरोप-अमेरिका गएका नेपालीहरू त्यता बुद्ध दर्शनको बढ्दो लोकप्रीयता देख्दा खुशी हुनेछन्, यता नेपालमा क्रिश्चियन मिसीनरी धर्म परिवर्तन गराउनमा सफल रहीरहने अवस्था देखिन्छ ।
उत्तरको छिमेकी चीन र जापानबीचको सीमा विवादले एशियाको अन्तर्राष्ट्रिय राजनीति तात्ने संभावना छ । जापानको पक्षमा अमेरिका उभिने हुँदा समाचारले थप महत्व पाउनेछ ।
त्यसबाहेक, प्रविधिको विकास, भवितव्य घटनाहरू र सेलेब्रीटीका चर्चिकलाहरूले मिडियामा स्थान पाइरहने छन् । असल-खराब दिनहरूले आशा-निराशासँगै जीवनको उतार-चढाव भइ नै रहन्छ ।