के नेपाल जालझेलले आक्रान्त देश हो ?

“यो सतीले सरापेको देश हो ।”
“यो ग्रान्ड डिजाइन हो ।”
“यो भारतको खेल हो ।”
नेपालमा कुनै कुरा बिग्रे भत्केपछि षडयन्त्र वा जालसाजी देख्ने रोग सर्वत्र सदैव देख्न सुन्न पाइन्छ । के नेपाल जालझेलले आक्रान्त देश हो ? वा‚ ‘षडयन्त्र सिद्धान्त’ लगाएर आफ्ना गल्ती र फोहरी खेललार्इ ढाकछोप गर्ने हौवाका रूपमा प्रयोग गरिन्छ ?
चार दशक अगाडि कवि भूपी शेरचनले भनेका थिए− यो हल्लै हल्लाको देश हो । आजसम्म पनि उनको कवितामय अभिब्यक्ती उत्तिकै घतिलो र चोटिलो छ । किन मान्छेहरू हल्लै हल्लाको पछि दौडिन्छन् ? किन नेता र तिनका कार्यकर्ता ‘षडयन्त्रको कथा’ भट्याएर सारा जनतालार्इ गुमराहमा राख्छन् । उत्तर सजिलो छैन । किनकी ‘उत्तर’ लार्इ पनि षडयन्त्र नै देख्ने छन् यहाँ ।
Conspiracyजालसाजीको कथा-संग्रहलार्इ धर्मभिरूहरू ‘कलि बढेको’ भन्छन् । स्मरणिय कुरा, षडयन्त्रको कथा छर्कनेहरू ज्यादा नास्तीक नै भेटिन्छन् । षडयन्त्रका बारेमा चर्चा गर्नु तिनको शौख जस्तै हो । कलि बढेको ठान्ने धर्मभिरूहरू मानव विकासको उल्टो चित्र प्रस्तुत गर्छन् । पहिलेको युगमा सत्यता थियो र दिनानुदिन कमसल हुँदै खराब बन्दो छ भन्ने मान्यता बोक्ने रूढीवादीहरूको देश भएकोले पनि हुनसक्छ जताततै ‘षडयन्त्रको सिद्धान्त’ लगाउनेहरूलार्इ हौसला मिलेको ।
हुन त संसारभरि षडयन्त्रका सिद्धान्तहरूको जनश्रुति पाइन्छन् । लेखिएको इतिहास‚ भोगेको दुनिया र देखेको मुलुकमा तादात्म्यता पार्इंदैनन् । खासमा‚ हाम्रो समाजमा षडयन्त्रका थुप्रै कथा र कानेखुशी मिथकहरू सुनिन्छन् । यस्ता अँध्यारो मुखका काला कथाहरू निराशावादी हुन्छन् र एकपछि अर्को सूत्रवत् रूपमा भइरहन्छन् भन्ने ठानिन्छ । जसमा ज्यादाजसो दरबारीया‚ छिमेकी प्रभुहरू र राष्ट्रिय राजनीतिका केही मुखियाहरूको नाम जोडिन्छ । जहाँ सामान्य जनता र नेताहरू असहाय शिकार र हरीलठ्ठक ठानिन्छन् ।
जब आफूलार्इ एक्ल्याइएको र लखेटीएको पाउँथे‚ गिरिजाप्रसाद कोइराला भन्थे− ‘ग्रान्ड डिजाइन’ । तैपनि पटक पटक प्रधानमन्त्री हुँदा न त उनले ‘ग्रान्ड डिजाइन’ लार्इ सार्वजनिक गरे‚ न गणतन्त्र आएपछि त्यसको उन्मुलनको घोषणा नै ।
नेपालका कम्युनिष्ट नेताका भाषण त झन् देशी विदेशी षडयन्त्रको ‘पर्दाफास’ नगरीकन सकिंदैन । यस्तो आदत पहिले एमाले-प्रिय थियो‚ अहिले माओवादीको बपौति बनेको देखिन्छ । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्म र अमेरिकी साम्राज्यवाददेखि भारतीय विस्तारवादसम्म षडयन्त्रै षडयन्त्रको बिस्कुन सुकाउँछन्, माओवादी नेताहरू । जसले त्यस्तो षडयन्त्रको कथालार्इ पत्याउँदैनन्‚ ती सबै तिनैका एजेन्ट वा दलाल करार गर्न पनि चुक्दैनन् ।
षडयन्त्रको सिद्धान्त भजाउनुको उद्देश्य देखिन्छ ‘आफ्नो कुरामा अरूलार्इ तान्ने’ वा ‘आफ्ना कमजोरी ढाकछोप गर्ने’ । कांग्रेस‚ एमालेदेखि माओवादीसम्मका मूलीहरू मुलुकको सर्वोच्च कार्यकारी पदमा पटक पटक आसीन भैसकेका छन् । त्यही थोत्रा नेताहरू फेरि गुलिया कुरा गर्दै निर्वाचनमा छट्टू मत माग्दैछन्, र जनताहरू कुन कम छट्टू छ भनेर मापन गर्दैछन् । नेताहरू चर्को हुइयाँ गरेर आफूलाइ सज्जन प्रयत्न गर्दैछन् । नयाँ कथामा पुराना जामा लगाइदिएर ती षडयन्त्रका कथा ओकलीरहन्छन् । यही षडयन्त्रको सिद्धान्त लगाएर आधुनिक नेपालका सबै शासकहरू आफू असफल हुँदा पनि जूठोमाथिको ओभानो चोखो देखिने प्रयत्न गर्दैछन् । अबुझ जनता चाहिं यी हल्लैहल्लाका चट्नी चाटेर युग गुजारीरहेका छन् ।
– पंचम अधिकारी