‘डोनेसन’ बेगर चल्नै नसक्ने ‘नेसन’ भनेर नेपाललाई विदेशीले व्यंग्य गर्न थालेका छन्, जुन सरकारले धेरै वैदेशिक ऋण लिन सक्छ, त्यसैलाई बहादुर मान्छन् जनता पनि। पुर्खाका पालामा कसैले हेप्न नसकेको नेपाललाई सबैले हेप्न थालेका छन्। अर्थात् नेपाल संसारमै साह्रै हेपिएका देशमा पर्छ।
बढ्दो राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, प्रशासनिक लापरबाही, नीतिहीनता, परमुखापेक्षी प्रवृत्ति, अराजकता र अन्योलजस्ता कारणले मात्र हामी हेपिएका होइनौं। शासक वर्गमा व्याप्त वैचारिक दासत्व प्रमुख कारण हो।
राजनीतिशास्त्रले भनेको छ– देश हेपियो भने, ‘असफल राज्य’ बन्न सक्छ। ‘महाभारतमा युधिष्ठिरले राष्ट्रपतनका चौधवटा कारण बताएका छन्। धेरैजना नायक (नेता) भएमा कसैले कसैको कुरा सुन्दैनन् र राष्ट्र अभिभावकविहीन बन्छ भनेका छन्।’ नश्यन्ति बहुनायक’ भनेको त्यही हो।
नेपाली सञ्चारमाध्यमका बहुधा खबर तथा लेखहरू निराशामय छन्। आर्थिक वृद्धिमा ह्रास आएको छ। पुँजीगत खर्चमा कमी आएको छ। निजी लगानी ह्रासोन्मुख छ। औद्योगिक उत्पादन घट्दैछ। मुद्रास्पि्कति बढ्दैछ। प्रतिस्पर्धात्मक क्षमता ह्रासोन्मुख छ। अर्थशास्त्रीहरू चिन्तित छन्।
समाजशास्त्रीहरू भन्छन्– ‘सामाजिक मूल्य–मान्यता समाप्त हुँदै गएको छ। धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र सामाजिक पहिचानमाथि अतिक्रमण हुँदैछ।’ हाम्रा यावत् ऐन, कानुन धर्म, संस्कृतिबाट अनुप्राणित, अभिप्रेरित र निर्देशित छन्। तर राष्ट्रका कार्यकारी प्रमुखलगायतका हर्ताकर्ता नै धर्म संस्कृतिका विरोधी भए भने के हुन्छ? अमेरिकाको राष्ट्राध्यक्ष क्रिस्चियन धर्मविरोधी, म्यान्मारका राष्ट्राध्यक्ष बौद्धधर्म विरोधी र पाकिस्तान वा साउदी अरबका राष्ट्राध्यक्ष र सरकार प्रमुख इस्लाम धर्मविरोधी भए भने के त्यहाँका जनताले सहन्छन्? अवश्य सहँदैनन्। नेपाली जनता यति धेरै लोकतान्त्रिक छन्, आफ्नै धर्म संस्कृतिमाथि बलात्कार भइरहँदा पनि सहेरै बस्छन्। राष्ट्रिय झन्डा जलाइँदा पनि कुनै प्रतिक्रिया व्यक्त गर्दैनन्। ज्यूँदो हुनुको कुनै अर्थ नदेखिने कायर, पामर, हुतिहारा, नामर्द, लाछी र अवसरवादीको देश बन्दैछ नेपाल। त्यसैले नेपाल देश आज हेपिएको हो। जसले जतिसुकै अत्याचार गरे पनि सहँदै आएका जनताले कहिलेसम्म सहिरहन सक्छन्, त्यो समयले बताउला।
भिक्टर ह्युगोले भनेका छन्– ‘सहिष्णुता सबैभन्दा ठूलो धर्म हो।’ सायद नेपालीहरूले यही बुझेर महँगी, भ्रष्टाचार, अराजकता सबैथोक सहेका छन्। मनमा जतिसुकै पीडा, जलन, क्षोभ र विषाद् भए पनि सहिदिन्छन् नेपालीहरू। हुन पनि औडाहा र छटपटी व्यक्त गर्ने भाषा हो– आँसु। धेरै आँसु बगाइसके नेपालीले। निर्धा छन् जनता। त्यसैले गरिबहरू गन्थन गर्छन् र धनीहरू महँगो रक्सी पिउँदै राजनीतिको मन्थन गर्छन्। बीचका श्रमजीवीलाई फुर्सद नै छैन।
इजरायलका प्रबल राष्ट्रवादी नेता डेभिड बेनगुरियनले भनेका छन्– ‘प्रजातन्त्रको स्वाद भनेकै आलोचनाको स्वतन्त्रता हो’ । तर नेपाली राजनीतिक दलका पदाधिकारी र कार्यकर्ताहरू कोही पनि आलोचना सुन्न चाहँदैन। अहंकार, उन्माद र आवेग नै उनीहरूको सम्पत्ति हो। उनीहरू सधैं जनतालाई मूर्ख बनाइरहन चाहन्छन्।
अब्राहम लिंकनले भनेका छन्– ‘तपाईं केही मानिसलाई केही समय मूर्ख बनाउन सक्नुहुन्छ र धेरैलाई केही समय मूर्ख बनाउन पनि सकिन्छ, तर सधैं सबैलाई मूर्ख बनाउन सकिँदैन। ढाँट्न सकिँदैन।’
दलका पदाधिकारी, राजनीतिक दलहरू र नागरिक समाजरूपी प्रवञ्चकहरूले प्रतिष्ठा गुमाइसके। धेरैको व्यक्तित्व विघटन भयो। गणतन्त्र आज गनतन्त्र, गनगनतन्त्र र भीडतन्त्र ठहरिएको छ भने ‘लोकतन्त्र’ लोभतन्त्र बनेको छ।
आफैंले केही पनि निर्णय गर्न नसक्ने अवस्थामा पुगेका कथित राजनीतिज्ञहरू मन, वचन र कर्मले परास्त देखिन्छन्। हरेक क्षेत्रमा र विचारमा पनि विदेशी लगानी छ। भोलि घरघरमा विदेशीकै यत्नबाट नेपालीले छोराछोरी पाउनुपर्ने अवस्था पनि आउन सक्छ। किनभने हामी नपुंसक भइसकेछौं।