एन. आर. एन. सँघमा हावी राजनीति

गैर आवासीय नेपाली सँघ (एन. आर. एन.) मा राजनीति हावी भएको छ । जसले गर्दा संसारभरिका एन. आर. एन. मा ङ्यार-ङुर सुनिँदैछ । अष्ट्रेलियादेखि जापानसम्म र बेल्जियमदेखि डेनमार्कसम्म भैरहेका एन. आर. एन. राष्ट्रिय सम्मेलनहरूमा झगडा, विवाद र गुटबन्दी चरम रूपमा देखा परेका छन् ।
आगामी अक्टोबर १९ देखि २२ सम्म हुने एन. आर. एन. को अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा संसारभरिका एन. आर. एन. का राष्ट्रिय कमिटीहरूमा अधिवेशन र निर्वाचनको लहर चलेको छ । नेपालीहरूको घनत्व भएका देशहरूमा एन. आर. एन. मार्फत ‘समाज सेवा गर्न चाहनेहरू’ को तँछाडमछाड देखिएको छ । समाज सेवाका निम्ति यति ठूलो प्रतिस्पर्धा हुनु निश्चित रूपमा स्वागतयोग्य कुरा हो । तर चुरो कुरो के हो भने, एन. आर. एन. को राष्ट्रिय नेतृत्वमा आउनेहरूमा खास दृष्टिकोण र निस्वार्थ सेवाभावभन्दा नेता बन्ने रहर ज्यादा रहेको सर्वत्र देखिन्छ । अलिअलि पैसा कमाएपछि नेपाली समुदायमा चिनिने रहर पाल्नेहरू एन. आर. एन. को नेतृत्व पाउन मरिहत्ते गरेका देखिन्छन् ।
नेपालको पार्टी राजनीति, जातीय राजनीति र क्षेत्रिय राजनीति प्रवासमा पनि निर्यात भएको छ । सबैले आफ्नो गच्छेअनुसार राजनीतिको डम्फू बजाइ रहेकै छन् । एन. आर. एन. चाहिँ सबै पार्टी र जातको सामूहिक सँस्थाको रूपमा स्थापित भएको छ । जसले गर्दा एन. आर. एन. को पद पाउन अझै बढी हानथाप हुने गर्छ । आफू सक्षम भएपछि समाज सेवा गर्ने हो भन्ने कुरालाई मान्दा एन. आर. एन. मा पैसावालाहरूको दबदबा हुनु अस्वाभाविक लाग्दैन । तर अब एन. आर. एन. को नेतृत्वमा पुग्न पैसा मात्र भएर पुग्दैन, ‘मसल’ पनि हुनु पर्ने बन्दै गएको छ । अर्थात, राजनीतिमा झैं साम (ज्ञान) र दाम (पैसा) मात्र भएर पुग्दैन दण्ड (सजायँ) र भेद ( गुटबन्दी/भेदभाव) पनि आवश्यक बन्दै गएको छ ।
एन. आर. एन. मा साम, दाम, दण्ड र भेद किन चाहियो ? सामाजिक सेवा गर्न ? धन्य छ, समाज सेवीहरूको यो जमात् !
nrnगत महिना अष्ट्रेलियामा भएको एन. आर. एन. राष्ट्रिय सम्मेलन निर्विवादित रहन सकेन । त्यसपछि बेल्जियममा भएको राष्ट्रिय सम्मेलनमा अर्को नाटक देखियो । मत गणनामा हारेका भनिएकाहरूले अहिलेसम्म पराजय स्वीकार गरेका छैनन्, भन्दैछन्- धाँधली भयो । जापानमा यसै हप्ता अधिवेशनको मिति नजिकिँदै गर्दा ज्यानको जोखिम भएको भन्दै कार्य समितिका १२ जना सहित सल्लाहकारहरू र आइ. सी. सी. सदस्यहरूले सामूहिक राजिनामा दिएका छन् ।  राष्ट्रिय सम्मेलनको पूवार्द्धमा आइतबार डेनमार्क एन आर एन मा अध्यक्षका उमेदवार त्रिलोचन सापकोटा पिटीएका छन् । एन. आर. एन. राष्ट्रिय समितिको कलह जताततै काँग्रेस र माअोवादीको जिल्ला समितिको आन्तरिक झगडा जस्तै छ । हानथाप गर्ने र आफूले हारे नमान्ने ।
संसारका विकसीत देशमा बसेका नेपालीहरू नेपालको गा. वि. स. स्तरको राजनीतिक झगडामा लिप्त छन् । विकसित देशमा बस्छन्, तर तिनले राजनीतिक सँस्कार सिकेका छैनन् । नेपालमा जुन छिनाझम्टी हुन्छ त्यसैको नक्कल गर्छन् । नेपालमा पत्रकार महासँघ, बार एसोसिएसन, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य महासँघमा राजनीति पार्टीहरूको घुसपैठ भएर प्यानेल प्यानेल बने जस्तै एन. आर. एन. निर्वाचनमा पनि त्यसकै नक्कल हुन्छ । सबै आदर्श र अभियान लत्याएर कुन पार्टीले कब्जा गर्ने होडबाजी र तुच्छ खेल हुन्छ ।
भनिन्छ, काठमान्डुका जनतालाई लाग्ने ८० प्रतिशत रोगको जड त्यहाँको पानी हो । त्यस्तै, एन. आर. एन. मा लागेको धमिराहरूको ८० प्रतिशत कारक तत्व राजनीतिक पार्टीहरूको चलखेल नै हो । यी छोटे र छट्टू राजनीतिकर्मीहरूको चलखेलमा नियन्त्रण गर्न सक्ने हो भने मात्र पनि सँस्था धेरै सामर्थ्यवान्, शान्त र शालीन बन्न सक्छ । अन्यथा, आशलाग्दो रूपमा विकसीत भएको एन. आर. एन. अभियान मक्किने संभावना बलियो बन्दै गएको छ ।
त्यसो त, राजनीतिककर्मीहरूको सहभागीता रोक्न सजिलो छैन । सबै गैर-आवासिय नेपालीहरूको बराबर हक रहन्छ सँस्थामा र यही हकका कारण बिटुल्याउँछन् राजनीतिकर्मीहरू । तिनको चलखेल घटाउन नेतृत्वका लागि खास मापदण्ड बनाउन सकिन्छ । जसले गर्दा तिनको प्रत्यक्ष सँलग्नता र स्वार्थ रहँदैन । एन. आर. एन. का केन्द्रीय नेतृत्वमा बस्नेहरूको मनसायमा राजनीतिकर्मीहरूलाई निरूत्साहित गर्दा सँस्थागत सहभागिता कम हुन्छ की भन्ने चिन्ता देखिन्छ । सँख्यात्मक सहभागिता कम-बढी भन्दा एन. आर. एन. को साख महत्वपूर्ण बनेको छ अहिलेको सन्दर्भमा । यदी एन. आर. एन. मा बढीरहेको अराजकतालाई रोक्न सकिएन भने सँस्थाको मर्यादा रहँदैन । आउँदो ढाइ महिनामा दर्जनौं एन. आर. एन. राष्ट्रिय समितिहरूको निर्वाचन हुँदैछ । यी निर्वाचनहरू एकपछि अर्को विवादित बन्दै जाँदा एन. आर. एन. को उच्च नेतृत्वले गंभीर भएर सँस्थाको हितमा पहल गर्नु अत्यावश्यक भएको छ । एन. आर. एन. का अभियन्ताहरू प्रवासी भीडको नेता बन्ने हो की एक अभियान को ? चेतना भया ।
– पंचम अधिकारी