एन. आर. एन. बेल्जियमको सदस्यतामा किचलो

एन. आर. एन. वेल्जियमको आगामी नेतृत्वको लागि निर्वाचन कार्यतालिका र्सार्वजनिक गरिएको छ र जसअनुसार आज मतदाता नामावली प्रकाशन हुँदैछ । बेढङ्गका कारण बारम्बार विवादमा आउने एन. आर. एन. वेल्जियमको सदस्यताको मान्यतालाइ लिएर फेरि किचलो भएको छ ।
nrnकरिब ७ सय पुराना एन. आर. एन. सदस्यहरूले नवीकरण गरेका छैनन्, तर पुरानो सदस्यताको बैधता सेप्टेम्बरसम्म रहेकोमा एन. आर. एन. वेल्जियमका महासचिवले एक वक्तव्य निकालेर अनौठो निर्णय सुनाइदिएका छन् । वक्तव्यअनुसार पहिले बकाइदा परिचय-पत्रसहित जारी भएको सदस्यता तिन महिना पहिल्यै खतम हुनेछ । यसरी, ७ सय सदस्यको वैधताबारे महासचिवले नयाँ निर्णय दिन सक्छन् ? एन. सी. सी. महासचिवलाइ एन. आर. एन. को नियम बनाउने, संशोधन गर्ने र अर्काको सदस्यताको म्याद घटाउने/बढाउने अधिकार छ ?
महासचिवले सदस्यता खारेजीको कारण पनि खुलाएका छन् । एन. आर. एन. आइ. सी. सी. को अधिबेशन भन्दा ६ महिना पहिल्यै एन. सी. सी. को अधिबेशन गर्न सकिने र नबिकरण भएका नयाँ सदस्यहरूको नामावली केन्द्रमा पठाउनु पर्ने प्रावधान रहेको उल्लेख छ । एन. सी. सी. को अधिबेशन गर्न र नयाँ सदस्यको नामावली केन्द्रमा पठाउन पुराना सदस्यको खारेजी कसरी आवस्यक भयो ?
स्वभावतः नबिकरण नगरेका पुराना सदस्यहरूको वैधता अक्टोबर १ बाट रहँदैन । तर त्यसअघिका हरेक गतिविधिमा ती सदस्यको वैधता रहन्छ र यो तथ्यलाइ न महासचिवले तोडमतोड गर्न सक्छन् न एन. सी. सी.ले यस विरूद्घमा निर्णय गर्न सक्छ । अधिबेशन गर्ने बाटो खुला छ तर अधिबेशन हुँदाको बखत वैध रहेका सबै सदस्यहरूले भाग लिन किन नपाउने ? सामान्य बुझाइमा १८ जुनको म्यादभित्र सदस्यता नबिकरण गर्नेहरूको निरन्तरता १ अक्टोबरपछिको कुरालाइ लागू हुनु पर्ने हो । जति तर्क-कुतर्क गरे पनि म्याद रहेका ७०० सदस्यहरूको वैधानिकता वक्तव्य निकालेर वा एक समूहले निर्णय गरेर ‘म्याद स्वत: सकिने’ भन्न कदापि मिल्दैन ।
यस्तै बेढङ्ग र मनोमानी कामले विवादहरू बल्झीरहन्छन् । नियम र प्रकृयालाइ पाखा लगाएर केही मान्छेहरूको इच्छा र स्वेच्छाचारीमा जे गरे पनि हुन्छ ? भन्ने प्रश्न अहिले उठेको छ । के पदमा बस्नेहरूले कुरा बुझ्लान् ? पदासीनहरूले कुरा नबुझ्दा नै एन. आर. एन. वेल्जियमको इज्जत धमिलो भएको हो ।
– कृष्ण थापा