– पंचम अधिकारी
अन्ततः एनआरएन संघको अध्यक्ष पदमा जापानका भवन भट्ट र अस्ट्रेलियाकी जमुना गुरूङबीच निर्वाचन हुने देखिएको छ ।
दुई कार्यकाल उपाध्यक्ष भैसकेका भट्टले अध्यक्षका निम्ति आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । श्रीमति गुरूङको उमेदवारी भने अझैसम्म घोषणा नभए पनि अक्टोबरको पहिलो हप्ता काठमान्डुमा घोषणा हुने शेष घलेनिकट सूत्रले बताएका छन् ।
अध्यक्ष पदमा तेस्रो पदावधि विधानतः निषेध भएपछि शेष घले रोकिएका हुन् । तर उनले आफ्नी श्रीमति जमुनालाई अगाडि सार्ने योजना मुताबिक हालै अमेरिका र क्यानडा भ्रमण गरेका थिए । यो हप्ता घले दम्पत्तिले युरोपमा सबैभन्दा बढी भोट भएको बेलायत र बेल्जियममा भ्रमण कार्यक्रम सम्पन्न गरे । सार्वजनिक रूपमा घले दम्पत्तिले उमेदवारीबारे केही उल्लेख गरेका छैनन् । तर आफ्ना भित्रियाहरूसँग तयारी गरिरहेका छन् । गत वर्ष न्युजर्सीमा सम्पन्न अमेरिकी क्षेत्रिय बैठकबाट अगाडि सारिएको ‘भिजन २०-२० एण्ड वियोन्ड’ लाई अध्यक्ष घलेले एजेण्डाको रूपमा बोकेर हिंडेका छन् ।
अमेरिका, क्यानडा, बेलायत र बेल्जियममा घलेले बारम्बार एउटै कुरा दोहोर्याएका छन् । त्यो हो, संस्थाभित्र कै केही व्यक्तिले अवरोध गरेका कारण काम गर्न सकिएन । उनले केही व्यक्ति भनेर इंगीत गरेका व्यक्तिहरू एनआरएन कर्मीहरूले प्रष्टसँग बुझेका छन् । उनको संकेत पूर्व अध्यक्षद्वय उपेन्द्र महतो र जीवा लामिछाने तथा महासचिव बद्री केसी हुन् । ‘भिजन २०२०’ का केही बुँदाहरूमा महतो, लामिछाने र केसीले चित्त बुझाएका छैनन् । जुन विचारले प्राधान्य पाउँदा ‘भिजन २०२०’ को पक्षमा पुरै एनआरएन संघ दुई भागमा ध्रुविकरण हुँदैछ । खासगरी संघलाई अध्यक्षात्मक प्रणालीमा लैजान लागेको प्रावधानप्रति धेरैको आपत्ति छ । तर अध्यक्ष घले भने ‘भिजन २०२०’ बारे महतो र लामिछानेले राखेको फरक मतलाई स्वीकार्न नचाहेर एजेण्डाको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् ।
एनआरएन अभियानमा महतो र लामिछानेको योगदान घाम जत्तिकै छर्लङ्ग भए पनि घले पक्ष अर्को फरक शक्तिका रूपमा स्थापित हुन खोजेको देखिन्छ । घलेले यही ‘भिजन २०२०’ एजेण्डा बोकेर श्रीमति जमुना गुरूङको पक्षमा चुनावमा जान लागेको प्रष्ट भएको छ ।
अध्यक्षका उमेदवार भट्टलाई चुनौति दिने तयारीमा रहेका अर्का उपाध्यक्ष कुमार पन्त अहिले ‘पर्ख र हेर’ को स्थितिमा छन् । पन्तले भट्टको प्रतिस्पर्धीको रूपमा चुनावी तयारी गरिरहेका थिए तर त्रिपक्षिय भिडन्त हुँदा जमुनाले चुनाव जित्ने डरमा अझैसम्म उमेदवारी घोषणा गरेका छैनन् । जमुना उठेमा उनलाई हराउनै पर्छ भन्ने साझा उद्देश्यका निम्ति पन्त भवन भट्टलाई छोड्न तयार देखिएका हुन् र जमुनाको उमेदवारी कुन पदमा आउँछ भनेर कुरेका हुन् । जमुना अध्यक्षमा उठे पन्तले पुनः उपाध्यक्षमा उमेदवारी दिने र दुई वर्षपछि भट्टले पन्तलाई समर्थन गर्ने समझदारी भएको बताइन्छ । भट्ट र पन्तबीच हङकङमा पहिलो चरण र अबुधाबीमा दोस्रो चरणको वार्ता भएको थियो । उपाध्यक्ष पन्तको रणनीतिमा प्रभावशाली पूर्व अध्यक्ष जीवा लामिछानेको धाप रहेको मानिन्छ ।
पन्तले भट्टलाई मैदान खाली गरिदिएपछि पन्त पक्षबाट अन्य पदमा दावा गर्नेहरू हतोत्साही भएका छन् । र त्यही हैरानीमा कतारका टिबी कार्की, बेलायतका विश्वआदर्श पण्डित र बेलायत कै कुल आचार्यले अध्यक्षमा लड्ने हल्ला चलाएका हुन् ।
संघमा परम्परागत रूपमा प्रभावशाली रहेका पूर्व अध्यक्षहरू महतो र लामिछानेलाई अध्यक्ष घलेले एकप्रकारको हाँक दिएका छन् । घले आफै एनआरएन अभियानमा पछिल्लो समयमा आबद्ध भएका हुन् । उनकी श्रीमति जमुना गुरूङ श्रीमानबाट मनोनित आइसीसी सदस्यका रूपमा काम गरे पनि संघमा कहिल्यै निर्वाचित पद हासिल गरेको रेकर्ड छैन । तर पैसा र श्रीमानको प्रभावका कारण उनी अहिले भवन भट्टको प्रमुख चुनौतिका रूपमा स्थापित भएकी छन् । कतिपयले गुरूङ सफल व्यवसायी भए पनि एक कार्यकाल कुनै पदाधिकारी पद पुरा गरेर नेतृत्वमा आउँदा राम्रो हुने ठान्छन् ।
संघको चुनावमा पैसाको चलखेल हुनुको एक प्रमुख दोष यसको निर्वाचन प्रणाली हो । भोट हाल्नका लागि काठमान्डुको विश्व सम्मेलनमा भाग लिनुपर्ने हुँदा धनी उमेदवारको आर्थिक सहयोगमा भोटरहरूको हवाई टिकट स्पोन्सर हुने गरेको छ । जसले काठमान्डुमा बढी भोटर उतार्न सक्यो उसले बढी भोट पाउने हुँदा एनआरएन संघको चुनाव अत्यधीक महंगो बन्दै गएको छ । र, यो महंगो चुनावमा अस्ट्रेलिया र जापानका दुई धनाढ्य आमनेसामने भएका छन् । संघले एक वर्षभरि समाजसेवामा खर्च गर्ने बराबरको बजेट यो एउटै चुनावमा खर्च हुने आँकलन गरिएको छ ।