एनआरएन सँघद्धारा अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी

गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हिजो असोज २३ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी २०७० आयोजना गरियो ।

सङ्गोष्ठीको उदघाटन गर्दै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले नेपाली समाज साहित्यको क्षेत्रमा समृद्ध रहेको तथा पौराणिक ग्रन्थका कारण नेपाली साहित्य उत्कृष्ट तथा कालजयी हुनु सबैको लागि प्रेरणादायी भएको टिप्पणी गर्नुभयो । त्यसैगरि राज्यले साहित्यको क्षेत्रमा गरेको सकारात्मक प्रयास सन्तोषजनक भएपनि पर्याप्त नभएको उहाँले बताउनुभयो । प्रवासनमा भएको वृद्धिले मानिस एकै ठाउँमा बस्न नसक्ने र यो स्वाभाविक भएको भन्दै अध्यक्ष रेग्मीले भाषा संस्कृतीको दायरा कुनै सीमामा नरहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काईँलाले संघसँगको समझदारीपछि अबका दिनमा वर्षमा कम्तीमा एउटा नेपाली डायस्पोरा, संस्कृति, कलाकार, साहित्यकारसँग छलफल गर्ने अवस्थामा पुगेको बताउनुभयो । उपकुलपति काईँलाले विदेशमा कमाएको रकम नेपालमा लगानी गरेर देशभक्तिपूर्ण काम गरेको भन्दै भाषा साहित्यको क्षेत्रमा उनिहरुको लगानी अहिले देखिएको टिप्पणी गर्नुभयो ।

NRNA litaratureगैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले संसारको जुनसुकै कुनामा पुगेर पनि नेपालीहरुले आफ्नो भाषा, परिचय, मौलिकता नभुलेको भन्दै नेपाली कला, साहित्य, संस्कृति मुल्य र मान्यतालाई विश्वभर फैलाउन भुमिका खेलिरहेको बताउनुभयो । संसारभर छरिएर रहेका नेपालीहरुले व्यक्तिगत तबरबाटै किताव लेखिरहेका, छापिरहेका र आफ्नो भाषा साहित्यको प्रबद्र्धन गरिरहेको हुँदा त्यहि व्यक्तिगत प्रयासलाई संस्थागत रुप दिन प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सङ्गोष्ठी गरेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा अध्यक्ष लामिछाने र उपकुलपति काईँलाबिच साहित्यको विकास गर्नेबारे ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर समेत भएको थियो । त्यसैगरि सङ्गोष्ठीको अवसर पारेर ७ बुँदे घोषणापत्र जारी गरिएको छ भने नेपाली भाषा साहित्यको विकास गर्न ५ लाख रुपैंयाको अक्षयकोषको समेत स्थापना गरिएको छ ।