आबुधाबीमा पहिलो पटक घन्कियो नेपाली संगीत

राजधानीको मुलपानीमा इन्डोर क्रिकेट प्राक्टिस ग्राउन्ड निर्माण गर्न यूएईको आबुधाबीमा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। एनआरएन यूएईले आबुधाबीमै पहिलोपटक नेपाली कार्यक्रम आयोजना गरेको हो।आबुधाबीका साथमा अल ऐनमा सम्पन्न सांस्कृतिक एवम् सांस्कृतिक कार्यक्रममा प्रस्तुत हुन नेपालबाट लोकप्रिय गायक राजेशपायल राईका साथमा हास्य कलाकार नारद खतिवडा र मोडल एवम् नायिका क्षितिजा शाक्य यूएई पुगेका थिए। काठमाडौंबाट गएका कलाकारका साथमा यूएईमै रहँदै आएका रुञ्चे गायक प्रकाश पौडेल, रेखा घिमिरेलगायतले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।

abu_dhabiपहिलोपटक आबुधाबीमा कार्यक्रम हुँदा यूएईबासी हजारौं दर्शक सहभागी भई रमाएका थिए। राष्ट्रिय गीतबाट शुरू भएको कार्यक्रममा गायक राजेशपायल राई आफ्नो नविनतम एल्बम दर्शन नमस्ते–२ का गीतदेखि अन्य हिट नम्बर प्रस्तुत गरेर दर्शक नचाए र सँगसँगै आफू पनि नाचे। उनले दर्शन नमस्ते, नौजाले मायाले, सागर सरी चोखो माया, एक्कासी दुक्कासी, शिरै फूल शिरबन्दी, मोहनी लाग्ला है, धरान धनकुटा, जुनतारा तीनतिर टललजस्ता हिट नम्बर गाएर दर्शकलाई उत्तेजित बनाएका थिए। ‘मेरो त अहिलेसम्म गर्लफ्रेन्ड नै छैन, आबुधाबीमा यति राम्रा मान्छे रहेछन्। आज कि म आइलभ यु भन्छु कि मलाई भन्छन् है’ गायक राईले यस्तै ठट्टासमेत गर्दै झन्डै दुई दर्जन गीत गाएर माहौल तताए। उनले आफ्ना हिट नम्बरका लागि हुटिङ आएपछि दर्शककै अनुरोधमा ती गीत गाएका थिए। कार्यक्रममा नायिका क्षितिजा शाक्यले पनि दर्शकलाई उत्तिकै रोमाञ्चित बनाइन्। उनले उध्रेको चोली बोलको गीतमा नृत्य गरेर दर्शकलाई मोहित तुल्याइन्। हास्य कलाकार नारद खतिवडाले पनि लगातार दर्शकलाई आफ्नो पक्षमा बनाइरहे। नारदले विभिन्न नेताहरुको क्यारिकेचरका साथ समसामयिक विषयमा व्यग्य गर्दै सबैलाई पेट मिची–मिची हसाएका थिए। नाई मलाई त्यही केटी चाहिन्छ बोलको गीतबाट रुञ्चे गायकको छवि बनाएका यूएईमै बस्दै आएका गायक प्रकाश पौडेलले पनि स्टेज तताए। उनले डाक्टरसाप भिटामिन लेखिदिनुस् नदेखि तितेपाती तीतेपाती झ्याप झ्याप झ्यापजस्ता आफ्ना गीतबाट स्टेज तताउन सफल भए।

यूएईमै रहँदै आएकी गायिका रेखा घिमिरे पनि मञ्चमा कम लागिनन्। स्टेज चढ्नासाथ सबैलाई आई लभ युभन्दै हुटिङ गराएकी रेखाले आफ्ना गीतबाट दर्शकलाई आकर्षित गरिन्। कार्यक्रममा स्थानीय कलाकारहरु किशोर सुनार, प्रेम लागुन, सुमन सिङदेन, गौतम थापा, दीपेन्द्र गुरुङलगायतले गीत–संगीत प्रस्तुत गरेका थिए भने जुनु नेपालीले वबनमा फुल्यो फूलै फूल बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरुेकी थिइन्। विकाश क्षेत्री अधिकारी र सन्तोष प्रसाईंद्वारा सञ्चालित कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले कार्यक्रमका लागि काठमाडौंबाट त्यहाँ पुगेका कलाकारहरुलाई सम्मान गरेका थिए।