आखिर विजय सुब्बा एमालेमै फर्किए

Bijaya-shuba-UMLPrabeshसंघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजय सुब्बासहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्केका छन|एकल जातीय पहिचानको वकालत गर्दै डेढ वर्ष अघि संघीय समाजबादी पार्टी गठन गरी सक्रिय रहेका सुब्बा एमालेका तत्कालिन पोलिटब्युरो सदस्य थिए| उनि सगै संघीय समाजवादी पार्टीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी,नवपरासीका पूर्व सांसद मजीलाल थारु, ललितपुर अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता-कार्यकर्ताहरु एमालेमा फर्केका छन |

पार्टीमा फर्कने नेता कार्यकर्ताहरुलाई एमालेले बिहीबार दिउँसो एमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजना गरेको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर स्वागत गरे |सुब्बासहितका केन्द्रीय नेताहरुले दुई दिनअघिमात्रै संघीय समाजवादी पार्टी परित्याग गरेका थिए | संघीय समाजवादी पार्टी गठनका लागि विशेष भूमिका निर्वाह गरेका सुब्बा तत्कालिन एमाले उपाध्यक्ष सगै एमाले परित्याग गरेका थिए|

कार्यक्रममा सुब्बाले आफु १९ महिने काजमा गएको उल्लेख गर्दै  एमाले दिने जिम्मेवारी बहन गर्ने बताए| नयाँ पार्टी बनाएर चलाउने रहर पुरा भएको जनाउदै उनले नयाँ पार्टीमा निराश रहेको बताए |

संघीय समाजवादी पार्टी गठनका दुई वर्ष नपुग्दै संघीय समाजवादीका केन्द्रीय नेताहरु छाड्ने र निष्क्रिय हुनेक्रम सुरु भएको छ | उपाध्यक्ष गोपाल ठाकुर, स्थायी कमिटी सदस्य योगीलाल यादव, पोलिट्ब्यूरो सदस्य मझीलाल थारु थनेत, केन्द्रीय सदस्य अनिल मिश्रले यसअघि नै पार्टी परित्याग गरिसकेका छन भने तीमध्ये थारु एमालेमा फर्किसकेका छन् | यसैगरी उपाध्यक्ष मो. रिजवान अन्सारी र दानबहादुर विश्वकर्मा पनि पार्टीमा निष्क्रिय छन् |

पार्टी गठनका उद्देश्यमा विमुख भएको भनि उनीहरुले पार्टी अध्यक्ष अशोक राईलाई आरोप लगाउदै आएका थिए|लगत्तै पार्टी निर्णयबिना नै अध्यक्ष राई आफैं सभासद् भएपछि सुब्बासहितका नेताहरु उनि प्रति झन रुष्ट बनेका थिए|

दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीले पाँच समानुपातिक सिट सुरक्षित गरेको थियो |एमालेका अधिकांश नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै ०६९ साल मंसिर ७ गते संघीय समाजवादी पार्टी गठन गरेका थिए |