अल-कायदाको नयाँ निशानामा बेल्जियम पनि

Al Qaidaअल कायदाले नयाँ ठूला हमला गर्ने योजना बनाएको देशहरूमा बेल्जियमको नाम पनि रहेको बताइएको छ । गुप्तचरी सूचनाहरूबाट सो तथ्य थाहा भएको हो ।
फलस्वरूप, ब्रसेल्स-जाभेन्तम र लिःजको एयरपोर्टहरू तथा ब्रसेल्सको मिडीमा रहेको अन्तर्राष्ट्रिय रेल स्टेशनमा थप सुरक्षा निगरानी बढाइएको यहाँको ‘हत लास्त न्यूज’ नामक डचभाषी दैनिक पत्रिकाले सूरक्षा श्रोतलाई उल्लेख गर्दै लेखेको छ ।
अल कायदाका नेता अयमान अल जवाहिरीले उनका विश्वासपात्र यमनका अल कायदा प्रमुखसँग गरेको फोन कुराकानीमा सो वार्ता भएको अमेरिकी गुप्तचरहरूले पत्तो पाएको र अमेरिकीहरूले बेल्जियन सुरक्षा निकायलाई जानकारी दिएको बताइएको छ ।
त्यसैगरी, अर्को एक समाचारमा बताइए अनुसार, अल कायदाका नेता अयमान अल जवाहिरीले करिब २० देशका अल कायदा प्रमुखहरूसँग कन्फरेन्स गफ गरेको र आक्रमणको योजनाबारे छलफल गरेको कुरा अमेरिकी गुप्तचरहरूले सुनेको उल्लेख गरिएको छ । यही सूचनाका आधारमा मध्यपूर्व लगायतका २२ देशहरूमा अमेरिकी दूतावास बन्द गरिएका छन् र आतंकवादी आक्रमणको चेतावनी जारी गरिएको छ ।