‘मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा
मनभित्रै छ कलकल छलछल शीतल गंगा धारा।’
७५ वर्षको उमेरमा पनि संगीतका क्षेत्रमा उत्तिकै सक्रिय वरिष्ठ संगीत साधक अम्बर गुरुङले यस्तो अटोग्राफ लेखेर दिँदा हङकङकी गायिका तथा नेपाली शिक्षिका शारदा गुरुङको खुट्टै भुइँमा थिएन। नहोस् पनि कसरी? उनको आँखैअगाडि संगीत साधक गुरुङ जो थिए।अम्बर गुरुङ रात्रि कार्यक्रपश्चात मध्यरात बितिसक्दा पनि गुरुङसँग अटोग्राफ लिने र फोटो खिचाउनेहरूको घुइँचो लागिरहेको थियो।
‘नेपाली समुदायबाट हङकङमा एउटा ऐतिहासिक इभेन्ट भएको छ’, मञ्जु श्रेष्ठले चाहिँ फेसबुकमा लेखिन्– ‘आफ्नो सांगीतिक यात्रा शेयर गरिदिनुभएकोमा अम्बर गुरुङज्यूलाई सलाम।’
हङकङेली नेपालीको नयाँ वर्षको दोस्रो दिन फेसबुकका भित्ताहरू अम्बर गुरुङसँग खिचिएका तस्वीर, चर्चा र अटोग्राफका प्रसंगले भरिए।
नयाँ साल २०१४ लाई स्वागत गर्न यहाँस्थित हिमालयन टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको अम्बर गुरुङ नाइटमा कति दर्शक आउने वा नआउने हुन् भनेर आयोजक दुविधामा थिए। किनकि धेरै नेपाली ल्होसार मनाउन मंकी हिल र ताइमोसनमा लागेका थिए। सञ्चारकर्मी प्रेम बानियाँले तयार गरेको जय स्वाभिमानबाट शुरु भएको कार्यक्रममा पछि भने मानिसहरूको घुइँचो लागेको थियो। दर्शकहरू ल्होसार मनाएर सीधै कार्यक्रमस्थल हेनरी जी लियङ कम्युनिटी हलमामा ओइरिरहेका थिए, राष्ट्रिय गानका संगीतकारलाई नियाल्न।
उद्घोषक देवराज राईले राष्ट्रगानका संगीतकारसमेत रहेका गुरुङलाई मञ्चमा बोलाउँदा उपस्थित सबैले उठेर उनीप्रति सम्मानभाव व्यक्त गरेका थिए। त्यससँगै शुरु भयो सहभागी कलाकारहरूबाट स्वदेश गानको प्रस्तुति। पाकिन्र्सन्सले ग्रसित मुस्किलले हिँडडुल गर्न सक्ने गुरुङले कसरी गाउने हुन्, के भन्ने हुन् भन्ने सबैलाई कौतूहलता थियो। त्यसै बेला आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गरियो। ‘जहाँ जसरी रहे पनि विभेद त्यागी पहिले हामी नेपाली हुनुपर्छ’ –गुरुङको भनाइमा हल तालीले गुञ्जयमान भयो। त्यस अवसरमा ब्रिटिस भारतको लर्ड सेभ द क्विन, स्वतन्त्र भारतको जन गण मन, नेपालको श्रीमान् गम्भीर र सयौं थुँगा गरी ४ आफूले जीवनमा ४ राष्ट्रिय गान गाउनुपरेको र चौथोको संगीत आफैं गर्न पाएको गुरुङले चर्चा गरे।
राष्ट्रगानको छनोटपछि त्यसको संगीत तयार गर्दा साढे एघार (एउटा अपूरासहित) धुन तयार गरेको खुलाउँदै उनले यसलाई बालक, वृद्ध, युवा सबैले गाउन सक्ने गरी तयार पारेको र यो विश्वका उत्कृष्ट राष्ट्रिय गानमध्ये उत्कृष्ट ९ मा परेका अन्तर्राष्ट्रिय विशेषज्ञहरूले छनोट गरेको बताए।
गुरुङलाई चिनाउने उनको पहिलो गीत नौ लाखे ताराको चर्चासँगै अघि बढेको कार्यक्रममा उनले आफ्ना गीतको बनोट र तिनका भाव तथा आशयबारे प्रस्ट पार्दै तिनमा प्रवासी नेपालीको व्यथा पोखिएको बताए। उनले गीतहरू पनि गाए। उनले म अम्बर हुँ तिमी धर्ती भनेर लेख्दा तपाईंको धर्ती को थिइन्? भनेर आईबी राईलगायत धेरैले गिज्याएको तर यो गीत केवल काल्पनिक रचना भएको भन्दै हँस्यौली पनि गरे।
युग युगको तृष्णा हाम्रो कहिले न तृप्त होला युग युगकै गाथा हाम्रो, रोग र बुढ्यौलीले घेरिरहे पनि गुरुङले दर्शकलाई निराश नपारी गाइदिए। दर्शकले पनि तालीको गडगडाहटले उनलाई हौस्याइरहे। महासंगीतकारको गोडा छुँदै गायकगायिकाले गायन प्रस्तुत गरे। गायक चेतमान गुरुङले गाए आँधी हुरी त चल्छ नै चल्छ, तर पनि दियो चाहिँ जल्छ। अर्का गायक नागेन्द्र श्रेष्ठले आफ्नै शैलीमा सुनाए ठाउँ पनि त्यही हो त्यही छ नाम।
‘यो स्टेजकै कुरा गर्ने हो भने गएको हप्ता प्रेमध्वज (प्रधान) हुनुहुन्थ्यो, आज अम्बर गुरुङ हुनुहुन्छ, भोलि कोही अरू होलान्, दुनिया यो स्टेज जस्तै छ’ –गुरुङका शिष्य संगीतकार दिनेश सुब्बाले भने। गुरुङकै अर्का शिष्य गणेश पराजुलीले गाए मेरो आँखालाई राखने फूलबारी छैन। उनले यो गीत गाइरहँदा अम्बरले आफ्नो रचनालाई आफू जीवित छँदै, अरूको नाममा रेडियो नेपालले प्रसारण गरेको र ३ पटक ध्यानाकर्षण गराउँदा समेत कारबाही नभएको खुलासा गरे।
गम्भीर विषयहरूलाई हाँसो, ठट्टा तथा रोचक प्रसंगका साथमा संगीत प्रस्तुत गरिरहँदा रात छिप्पिसकेको थियो। र पनि महासंगीतकारको अन्तरक्रियात्मक सांगीतिक कार्यक्रममा संगीतकार विक्रम गुरुङले गाए तिमी भूलमा पर्यौ म पनि झुक्किएँ। उनका प्रस्तुतिमा डुबेका दर्शकलाई स्वर सम्राट् नारायण गोपाल र आफ्नो अर्को प्रसंग सुनाएर गुरुङले फेरि हँसाए– ‘मालती–मंगले लेखेपछि तत्कालीन उपकुलपति राष्ट्रकवि माधवप्रसाद घिमिरेले मलाई संगीत गर्ने आदेश दिए।
त्यस समय नारायण गोपाल र मबीच मनमुटाव भई बोलचाल बन्द भएको घिमिरेलाई थाहा थिएन। उनले गायकका रूपमा नारायण गोपाललाई चयन गरे। अफिस छुटेपछि बाहिर निस्किँदा घिमिरे र नारायण गोपाल गेटमै पर्खिरहेका रहेछन्। घिमिरेले हात मिलाउनभन्दा म गुरुङको छोरो के हात दिन्थें, नारायण गोपाल आफैंले मेरो हात तानेर लगे। त्यसरी लगेको हात छुटाउन पनि असभ्य हुने? तर त्यसपछि हाम्रो सम्बन्ध नवीकरण भयो।’
कार्यक्रमकै क्रममा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ को समूह गायनले हलमा सबैमा स्वाभिमान र गौरवको प्रसार गरिदियो। सोनम महर्जन र कला चेम्जोङले अरूणा लामाको स्वरमा रहेका गीत सुनाए भने ज्ञान सुब्बाले गीतैले बोलाई दरौंदीलाई गाए।
नेपाली सेनाका मानार्थ महासेनानी वरष्ठ संगीतकारले सबैको मनलाई जोडिदिएपछि दर्शक मन नलागी नलागी घर फर्किए। ‘मैले कतै नपाएको विशेष सम्मान यहाँ पाएँ’ – सोही कार्यक्रममा महासंगीतकार घोषित अम्बरको चाहिँ छोटो प्रतिक्रिया थियो।
– रविन राई, हङकङ