विश्व-शक्ती राष्ट्र बन्ने चाहना राख्ने भारत र एक्लो सुपर-पावर रहेको अमेरिकाबीच यो हप्ता चलेको कुटनैतिक झडपले भारतीय शासक वर्गको केटाकेटीपनलाई उजागर गरीदिएको छ । घरेलु कामदारलाई कम तलब दिएको र कामदार बोलाउँदा नक्कली कागजपत्र पेश गरेको आरोपमा न्यूयोर्क प्रहरीले भारतीय उप-वाणिज्यदूत देवयानी खोब्रागादलाई डिसेम्बर १२ मा पक्राउ गरी, हथकडी लगाएको र निर्वस्त्र खानतलासी लिएको प्रतिकृयामा भारत अत्यन्त कडा भएर सार्वजनिक रूप मै प्रस्तुत भएको हो । भारतीय आक्रोशलाई सम्बोधन गर्न अमेरिकी विदेशमन्त्री जोन केरीले खेद व्यक्त गरिसकेका छन् । विश्व-शक्ती र क्षेत्रीय शक्ती-राष्ट्र भनिएका यी दुइ देशको कुटनीतिक झगडा कहाँ टुँगिने हो ? यसले कस्ता असरहरू छाड्ने हो ? परराष्ट्र मामिलाका जानकारहरू चाखपूर्वक हेरीरहेका छन् ।
अमेरिकीहरूको ब्यवहारलाइ सर्सर्ती हेर्दा, एक विदेशी उप-वाणिज्यदूतलाई निर्वस्त्र पारी खानतलासी लिने काम खराब हो । न्यूयोर्क प्रहरीले यस्को अपजस पाउँछ नै । खासमा यो न्यूयोर्क प्रहरीको कुरा मात्र होइन, अमेरिकी कानूनी प्रकृयामा रहेको आडम्बर पनि हो । ख्याल राख्नुपर्ने कुरा, जसरी एक देवयानीलाई पक्राउ गरियो, हथकडी लगाइयो र खानतलासी लिइयो, त्यो एक सामान्य अमेरिकी कानूनी प्रकृया हो । जो सुकै होस्, अपराधको आरोप लागेपछि अमेरिकी भूमीमा अमेरिकी प्रहरी त्यसै गर्छन् ।
केही वर्षअघि न्यूयोर्कमा, अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष दोमिनिक स्त्रास-काहनलाई यौन हिँसाको आरोप लाग्दा उनलाई पक्राउ गरेर हत्कडी लगाएको फोटो पत्रकारहरूले खिचेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्षलाइ गरिएको त्यस्तो व्यवहारले उनको गृहराष्ट्र फ्रान्समा ठूलो तनाव सृजना गरेको थियो । काहन अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष थिए, त्यस अलवा त्यतिखेर फ्रान्सको आउँदो राष्ट्रपति निर्वाचनका लागि चर्चित व्यक्तित्व पनि थिए । तर, अमेरिकी प्रहरीको कार्यवाही रोकिएन । २ वर्षपछि काहनलाई निर्दोष करार गरियो र उनी फ्रान्स फर्के ।
यसको मतलब अमेरिकी कानूनी प्रकृया राम्रो भन्ने होइन । अमेरिकी कानूनी प्रकृयाले गर्दा त्यतिखेर फ्रान्स र अहिले भारतसँग उसको तनाव बढाएको छ । अमेरिकाको यो चालाले, यस्ता घटनालाई साम्य पार्न राष्ट्रपति र विदेशमन्त्रीले नै कुटनीतिक पहल गर्नुपर्ने स्थिति बन्यो । अहिले पनि अमेरिकी प्रहरीको कारणले गर्दा राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री केरीको काम थपिएको छ । बारम्बार विवादित बन्ने यस्तो काम भविष्यमा हुन नदिन अमेरिकी प्रशासन चनाखो बन्नै पर्ने हो । कानूनीको अगाडि सबै बराबर भनेर समस्या सृजना गर्ने, र त्यसरी सृजित समस्या समाधानमा कुटनीति लगाउनु पर्ने यो कस्तो अमेरिकी बिडम्बना हो ?
उसो त अमेरिका आफ्नो यस्तो कार्यवाहीलाई ‘प्रचलित कानूनी प्रकृया’ भन्छ । तर अर्काको देशमा आफ्ना नागरिकलाइ त्यही देशको ‘प्रचलित कानूनी प्रकृया’ अनुसार प्रहरी कार्यवाही गरियो भने मान्दैन । हाम्रै देशमा फर्काउ, हामी नै कार्यवाही गर्छौँ भन्छ, अरू देशमा सही-सलामत काम हुन्छ भनेर मान्दैन । विश्वशक्ती-राष्ट्र हुनुको घमण्ड छ उसमा । अहिले भारतीयहरूको राष्ट्रवादी रिसमा परेका छन्, उनिहरू । त्यही सिलसिलेवार घटनामा जोन केरीले भारतीय रक्षा सल्लाहकार शिव शँकर मेनोनलाइ फोन-सम्पर्क गरी ‘खेद व्यक्त’ गरेका छन् । फकाउन खोजेका छन् र भनेका छन्– यस्तो सानो प्राविधिक घटनाले दुइ देशको उच्च सम्बन्धलाइ असर पार्नुहुन्न ।
हो, कुटनीतिमा एउटै घटनामा रिसाइहाल्ने भन्ने हुन्न । आफू पीडामा परे/पारिए पनि दिर्घकालिन राष्ट्रिय हितका निम्ति सम्हालिएर चल्नु पर्ने हुन्छ । घात भए पनि तातो रिस देखाइ हाल्नु हुन्न । निश्चित रूपमा आफू हेपिने पनि होइन, तर असहमति र असन्तोषलाइ बचकाना पाराले प्रस्तुत गर्दा त्यो बन्चरोले आफैलाइ घात गर्छ । देवयानी घटनामा भारतीय आक्रोशको स्तरले उसैलाई ज्यादा घाटा लाग्ने निश्चित छ ।
भारत यतिसम्म रिसाएको छ की वक्तव्य भन्दा अघि बढेर असन्तोष व्यक्त गर्ने थुप्रै उपायहरू अपनाएको छ । न्यू दिल्लीस्थित अमेरिकी दूतावासअगाडिको बाटोको सुरक्षा-वार हटाइदिएको छ । अमेरिकी कुटनीतिज्ञहरू र उसका परिवारहरूले पाउने सुविधाहरूमा कटौती (जसमा एयरपोर्टबाट सामान सजिलै छुटाउनेदेखि रक्सीहरू ल्याउँदा दिइने सहुलियत छन्) गरिदिएको छ । भारत भ्रमणमा रहेको अमेरिकी उच्चस्तरिय सँसदीय टोलीलाइ भारतीय नेताहरूले भेट दिएका छैनन् र भनेका छन्- त्यो ‘बेवास्ता’ गरेको हो, ‘महत्वहिन’ मानेको हो । केही भारतीय नेता र मिडियाले अमेरिकी कुटनीतिज्ञका समलिङ्गी पार्टनरहरूलाई गिरफ्तार गर्ने सम्मका आवाज उठाएका छन् । तिनको तर्कमा भारतमा त्यो गैरकानूनी हो ।
खासमा, अमेरीकाको मिचाहा प्रवृत्तिले उसैका पश्चिमी मित्र राष्ट्रहरू पनि पिडित छन् । केही महिनाअघि युरोपेली सँघको सबैभन्दा ठूलो राष्ट्र र सँसार कै चौथो ठूलो अर्थतन्त्र जर्मनीमा अमेरिका विरूद्ध ठूलो जनआक्रोश देखियो । जर्मन चान्सलर (प्रधानमन्त्री) एन्जेला मेर्केलले बर्षौँपछि थाहा पाइन्- अमेरिकी जासूसहरूले उनको सबै फोन-संवाद जासूसी रूपमा सुन्ने गर्दा रहेछन् । सायद, त्यो सत्यताको रहस्योद्घाटन मेर्केलका लागि उनको राजनीतिक जीवन कै स्तब्धकारी आश्चर्य थियो । जर्मनीमा, धोका भएको चर्चा चल्यो र आक्रोश बढ्यो । मेर्केलले सम्हालिएर गुनासो गरिन्, आफ्नो चित्त दुःखाइ वासिङ्टनमा राम्ररी सुनाइन्, एक जर्मन टोली अमेरिका पठाइन् । असन्तोष र विरोधलाई भित्री कुटनीतिक च्यानेलबाट व्यक्त गरेर भविष्य सुनिश्चित गर्नपट्टी लागीन् । उनी सावधान भइन् । अमेरिकी जासूसहरूको कृत्यभन्दा माथि उठेर दीर्घकालिन राष्ट्रिय हितको हेक्का राखिन् र नयाँ मापदण्डहरू अपनाइन् । अमेरिकासँग भारतले गर्ने कुटनीति पनि पाकिस्तानसँग गरिने भन्दा धेरै फरक हुनुपर्ने हो ।
भारतमा, आम-निर्वाचन नजिकिँदैछ । भारतमा पनि राष्ट्रवाद निकै बिक्ने हुँदा पपुलिस्ट बन्नुको फाइदा आफ्नै ठाउँमा हुन सक्छ । तर अमेरिकासँग रिसाएर ‘स्ट्राटेजिकल्ली’ भारतले पाउने फाइदामा घात नै हुनेछ ।
सँसार कै ठ्लो प्रजातान्त्रिक राष्ट्र भनिने भारत शितयुद्धका बेला कम्युनिष्ट सोभियत सँघको पार्टनर थियो । त्यतिखेर रसियासँग बनेको उसको पार्टनरसिपका कारण अहिलेसम्म उ अमेरीकी क्लबमा जम्न सकेको छैन । धेरै हदसम्म अमेरिकासँग सम्बन्ध सुधारिएको भने छ । ऎतिहासिक रूपमा उच्चबिन्दूमा छ । चीनको बढ्दो प्रभावलाइ रोक्न अमेरिकाले पनि भारतको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ । चीनसँग टक्कर गर्छु भन्ने भारतका निम्ति अमेरिकी दोस्ती आवश्यक पनि छ । अझ महत्वपूर्ण कुरा, भारत सँयुक्त राष्ट्र सँघको ‘स्थायी सदस्य’ बन्ने आकांक्षी राष्ट्र पनि हो । उसको यो दौडमा अमेरिकाको ‘धाप’ अत्यावश्यक छ । ओबामा प्रशासन र मनमोहन सिँहको कार्यकालमा दुइ देशको सम्बन्ध यतिसम्म विकसित भएको छ की ओबामाले भारतीय इच्छालाई ‘सकारात्मक’ रूपमा ग्रहण गरेको सँकेत गरिसकेका छन् । समग्रमा हेर्दा, अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी ‘गुड-वील’ ले भारतको शक्ती-राष्ट्र बन्ने रहरमा प्रशस्त लाभान्वीत हुने अवस्थामा छ ।
यो सबै परिप्रेक्ष्यमा, देवयानी घटनामा भारतले देखाएको आवेगको मूल्य के हुनसक्छ ? कुटनीतिमा मित्रराष्ट्र बनाउने, ‘स्टाट्रेजिकल पार्टनरसीप’ गर्ने प्रकृया र प्रगति अत्यन्त सुस्त हुन्छ । १९९० को दशकबाट अमेरिकासँग सुध्रन थालेको सम्बन्धलाई भारतीय रवैयाले शक्ती-राष्ट्रमा दरिने आफ्नै आँकाक्षामा जानेर वा नजानेर कुहिरो लागेको छ ।
यो घटनाले यु.एस.- इण्डिया सम्बन्ध झ्याप्पै नबिग्रीएला, तर अमेरिकाले ‘सजिलै सन्किने’ राष्ट्रलाई ‘मित्र-मण्डली’ का रूपमा पत्याइहाल्ने र पक्षमा बोल्ने अवस्था भैनसकेको जगेडा अवस्थामा धकल्नेछ ।
– पंचम अधिकारी