अब फेसबुकबाटै चुनाव प्रचार

इजिप्टको क्रान्तिमा र २ वर्षअघि यु. के. मा भएको दङ्गामा सामाजिक सञ्जालको भूमिका ठुलो रहेको चर्चा गरिन्छ । यसपालीको नेपालको संविधान सभाको निर्वाचनमा फेसबुक पनि प्रचारको एक सशक्त साधन बन्दैछ । नेपाली संचार माध्यममा यसको चर्चा चुलिएको छ ।
चुनावी प्रचारप्रसारको नयाँ शैलीको रुपमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग व्यापक देखिन थालिएको छ। साथीहरुबीच सम्पर्क स्थापित गरी जानकारी आदानप्रदान गर्ने उद्देश्यले सञ्चालित फेसबुक यतिखेर विभिन्न राजनीतिक पार्टी, उम्मेदवार र उम्मेदवारका शुभेच्छुकले प्रचारप्रसारको नयाँ शैलीको रुपमा प्रयोग गर्न थालेको हो।
एक दशकअघिसम्म ग्रामीण भेगका मतदातालाई आकर्षित पार्नका लागि उम्मेदवारले नाच गर्ने टोलीको माध्यमद्वारा प्रचारप्रसार गराउने गर्थे। ती टोलीले उम्मेदवारको चरित्रका साथै उहाँद्वारा गरिने विकास कार्य गीतको माध्यमबाट गाउँदै मतदातालाई रिझाउने प्रयास गर्थे।
उतिखेर कुन उम्मेदवारद्वारा सञ्चालित नाच राम्रो, गल्ली गल्लीमा म्याकिङ प्रचारको शैली कसको राम्रो भन्ने विषयमा आमनागरिकले चर्चा गर्ने गर्दथे। त्यसकारण उम्मेदवारले सो माध्यमबाट मतदातालाई खुसी पार्न प्रयासरत रहन्थे। समयले कोल्टो फेर्यो । यतिखेर त्यस्ता प्रचारका शैली हराउँदै नयाँ शैलीको रुपमा फेसबुकको आएको छ।
facebookसमयको परिवर्तनसँगै शिक्षाको र इन्टरनेटको सञ्जालको विकास भएपछि यसको भरमग्दुर फाइदा उठाउँदै शिक्षित मतदातासमक्ष आफ्ना विचार पुर्या उनका लागि राजनीतिक दल, उम्मेदवार र शुभेच्छुकले यसको महत्व सम्झेर फेसबुकको सदुपयोग गर्न थालेका छन्।
आधुनिक मोबाइल फोनमा इन्टरनेटको सुविधा रहेकाले अधिकांश मोबाइल प्रयोगकर्ताले फेसबुक चलाउने गर्छन्। साथीहरुको कुरा पढेर सम्बन्ध बनाउने माध्यमको रुपमा परिचित फेसबुकले त्यस्ता मतदातालाई आकर्षित गर्नसकिने उद्देश्य राखेर यसको प्रयोग गर्न थालिएको हो।
फेसबुकमार्फत प्रचारप्रसार गर्नु सकारात्मक रुपमा देखिनुहुन्छ सहप्राध्यापक एवम् झापाका वरिष्ठ पत्रकार चिन्तामणि दाहाल। उहाँ भन्नुहुन्छ, “फेसबुकमार्फत आफ्ना कुरा राख्नसकिने र यसबाट जनमत पनि सङ्कलन हुनसक्ने भएकाले यसको महत्व बढ्दै गएको देखिन्छ।”
फेसबुकमार्फत चुनावप्रचारमा संलग्न पङ्कज शर्माको नजरमा अधिकांश व्यक्ति ल्यापटाप, कम्प्युटर र मोबाइलको प्रयोग गर्न थालेकाले त्यसता मतदातासमक्ष पुग्न महत्वपूर्णमाध्यमको रुपमा फेसबुक देखिएको छ। उहाँ भन्नुहुन्छ, “निर्वाचन आचारसंहिताले आर्थिक खर्च सीमित गरेपछि बिना लागत र शारीरिक परिश्रम नगरिकन मतदातासमक्ष आफ्नो विचार राख्न सरल उपायको रुपमा फेसबुक हो”।
फेसबुकको माध्यमबाट पनि प्रचारप्रसार गर्नसकिने थाहा पाएपछि कतिपय उम्मेदवार वा उहाँहरुका शुभेच्छुकले धमाधम फेसबुकमा खाता खोलेर आ–आफ्ना विचार पस्किन थालेका छन्।