अतिको पनि हद हुन्छ। पुरातात्त्विक महत्वको सिंहदरबारको मूलढोका सार्क शिखर सम्मेलनका लागि भनेर सिमेन्ट प्रयोग गरेर मर्मत गरिँदैछ।
पुरातत्त्व विभागले सिमेन्ट उप्काएर पहिले प्रयोग भएकै सामग्रीबाट सिंहदरबारको मूलढोका मर्मत गर्न दिएको निर्देशन पालना नभएको देखिन्छ।
यसबारे संसदको सम्बन्धित समितिको ध्यान जान अत्यन्तै जरूरी छ।
एक सय १० वर्षअघि बनेको यो ढोका २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि बाँकी रहेका थोरै मौलिक संरचनामध्ये एक हो।
कलात्मक द्वारमा साना बुट्टा कुँदिएका छन्। पुरातत्त्वविद्का अनुसार इँटाको धुलो, चुना, मास, सुर्की लगायतका पदार्थ ७२ घन्टासम्म भिजाएर तयार गरिने बज्र जति पुरानो भयो, उति बलियो हुन्छ।
नेपालका अधिकांश पुरातात्त्विक संरचनामा यही सामग्री प्रयोग भएको छ।
सिमेन्ट लाउने “विज्ञ”हरूले पुरानै सामाग्री प्रयोग गर्न दक्ष जनशक्ति समयमा भेट्टाउन गार्हो परेको बताएका रहेछन्। संरक्षणविद् रवीन्द्र पुरीलाई मात्र सोधेको भए या पाटन, भक्तपुर दरबार स्क्वायरहरू जिर्णोद्वार गर्नेहरूलाई सम्पर्क गरेको भए निश्चय पनि समाधान निस्किने थियो।
सार्कको लागि त्यो सबै गर्न नभ्याउने भए मोदी भ्रमणका बेला सेतो रंग लगाएकै थियो, त्यसै छोडिदिएको भए पनि पछि पुरातात्विक ढंगबाट जिर्णोद्वार गर्न सकिन्थ्यो।
यस्ता महाशयहरु भएपछि भोली पशुपतिको छानो चुहियो र हतार पर्यो भने त्यहां पनि तिनले ढलान गरिदिनेछन्।
-रविन्द्र मिश्र