अन्य ३ गाविस गाभेर भरतपुरलाई ‘उपमहानगरपालिका’ बनाउने तयारी

तीव्र शहरीकरण भइरहेको भरतपुर नगरपालिकामा थप ३ गाउँ विकास समिति गाभेर उपमहानगरपालिका बनाउने तयारी भइरहेको छ । उपमहानगरपालिका सिफारिस गर्न नगरपालिकाले सोमबार जिल्ला विकास समितिसमक्ष वैठकको निर्णय पठाएको छ ।
४ नगरपालिका भएको चितवनमा भरतपुर उपमहानगरपालिका बने नगरपालिका ३ बाँकी रहनेछन् । भरतपुरमा गाभिन तयार गाविसहरुमा मंगलपुर, फूलबारी र गीतानगर रहेका छन् । २ सालअघि स्थानीय विकास मन्त्रालयले मागेको सिफारिसको बेलामा पनि भरतपुरलाई उपमहानगर घोषणा माग गर्ने चर्चा चलेपनि त्यसबेला गरिएन ।
भरतपुर नगरपालिका प्रमुख नारायणप्रसाद सापकोटाले भरतपुरले स्थानीय स्वायत्त शासन ऐन २०५५ ले तोकेअनुसारका सबै पूर्वाधार पूरा गरिसकेकाले उपमहानगर माग गरेको बताए । “जनसंख्या, आम्दानी र पूर्वाधार विकास पूरा गरिसकेका छौं”, सापकोटाले भने, “त्यसैले सिफारिस गर्ने निर्णय गरिएको हो ।” सोमबार जिल्लाका राजनीतिक दल प्रमुख तथा प्रतिनिधि र नगरपालिका प्रशासनको वैठक बसी सो निर्णय गरिएको हो । मंगलपुर, फूलबारी र गीतानगरले यसअघि नै आफूहरु गाभिन तयार भएको व्यहोराको निर्णय गरी पत्र पठाइसकेको छ ।
bharatpur_map_nepalअब जिल्ला विकास समिति चितवनले यही सिफारिसलाई जस्ताको तस्तै स्थानीय विकास मन्त्रालयमा पठाउने आजको कायाकैरन दैनिकमा समाचार छ । मन्त्रालयले थप अध्ययन गरी मापदण्ड पूरा गरेको पाएमा उपमहानगरपालिका घोषणा गर्नेछ । “हाम्रो काम भनेको तल्लो निकायबाट निर्णय गरी आएको विषयलाई एकीकृत गरेर मन्त्रालय पठाउने हो”, जिल्ला विकास समिति कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले भने, “सम्भवतः मंगलबार पठाइने छ ।” उनका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिकामा गाभिन तयार भएको निर्णयसहितको पत्र बछौली गाविसले पनि पठाएको छ । बछौलीलाई पनि रत्ननगर नगरपालिकामै गाम्भ सिफारिस पठाइने शर्माले बताए ।
तर, पटिहानी र शिवनगरले पनि भरतपुरमा गाभिएर उपमहानगर बन्न इच्छा जाहेर गरेको जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुइँटेलले जानकारी दिए । “उनीहरुले पठाए फेरि सिफारिस गरिने छ”, उनले भने ।
स्थानीय स्वायत्त शासन ऐन—२०५५ मा व्यवस्था भएअनुसार उपमहानगरपालिका हुनका लागि कम्तिमा १ लाख जनसंख्या भएको र न्यूनतम १० करोड रुपैया“ वार्षिक आयस्रोत भएको हुनुपर्ने उल्लेख छ । तर, यसको अलावा विद्युत्, खानेपानी, सञ्चारको सुविधा भएको, नगरका प्रमुख सडकहरूसमेत पक्की भइसकेको, उच्चस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको सुविधा भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद कार्यक्रमका लागि सामान्य व्यवस्था भएको, सार्वजनिक उद्यानहरू र नगर सभागृहको व्यवस्था भएको र अन्य त्यस्तै आवश्यक शहरी सुविधा हुनुको साथै नगरपालिका भइसकेको हुनुपर्ने ऐनमा उल्लेख छ ।
भरतपुर नगरपालिका प्रमुख सापकोटा यी सबै पूर्वाधार पुगेकाले निकट भविष्यमै उपमहानगर बन्ने बताउ“छन् । तैपनि ऐनमा समेटिएको अन्य कुरा रहेको भएतापनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद कार्यक्रमका लागि सामान्य व्यवस्था भएको तथा सार्वजनिक उद्यानहरू र नगर सभागृहको व्यवस्था भने तत्कालै गर्न सकिने अवस्था छैन ।