अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले चार साहित्यिक कृति एकै चोटि प्रकाशनमा ल्याएको छ।
सार्वजनिक भएका कृतिमा गोरखाका रामचन्द्र आचार्यको ‘भावना’ र झापाकी जया राईको ‘पार्क र पानीको थोपा’निबन्धसङ्ग्रह, गोरखाकै (हाल बेलायत) विकलचन्द्र आचार्यको ‘मोह′ उपन्यास तथा छानिएका नेपाली कविताहरुको अङ्ग्रेजी अनुवादसङ्ग्रह′हिमालयन सोल′(हिमाली आत्मा)छन्।
पहिलो निबन्धसङ्ग्रहमा व्यङ्ग्य, बौद्धिकता र भावुकताले भरिएका १३ निबन्ध्ा छन् भने दोस्रोमा बेलायत बसाइका दैनिकी छन्। उपन्यासमा परदेश बस्नुपर्दाको बाध्यता र चुनौतीसँगै मातृभूमिप्रतिको ममता पोखिएको छ। विधान आचार्य र राजेन्द्र शलभले सम्पादन गर्नुभएको ‘हिमाली आत्मा’ अनुवादसङ्ग्रहमा मनुजबाबु मिश्र, रामकुमार पाँडे, रमण घिमिरे, श्याम रिमाल, फूलमान बल, तोया गुरुङ, हरिमाया भेटवाललगायत २७ कविका अङ्ग्रेजी भाषामा अनुदित ५९ कविता सङ्गृहीत छन्।
प्रतिष्ठान नेपाल शाखाका अध्यक्ष प्रा डा सुषमा आचार्यले भर्खरै स्थापित प्रतिष्ठानले देशभित्र र बाहिर रहेका नेपाली साहित्यकारको कृति प्रकाशन, अनुवाद, साहित्यकारलाई पुरस्कार तथा सम्मान गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो। प्रतिष्ठानले गत बुधबार मात्रै ‘कमलहरीदेखि सभासद्सम्म’कृतिका लागि पूर्वसभासद् शान्ता चौधरीलाई पुरस्कृत गर्नाका साथै वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा र चन्द्रकला नेवारलाई सम्मान गरेको थियो।