अनेसासको आठौँ विश्व सम्मेलन पोर्चुगलमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को आयोजनामा भएको त्रिदिवसीय आठौँ विश्व सम्मेलन फागुन २५ दखि २७ गते (तदनुसार मार्च ८ देखि १०) सम्म पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ। प्रवासमा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा सक्रिय अनेसासको सम्मेलनमा पोर्चुगलबाहेक पनि युरोप, अफ्रिका, अमेरिका र एशियाका बिभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिन फागुन २५ गते शुक्रबार महिला सम्मेलन आयोजना थियो। अनेसास पोर्चुगलकी अध्यक्ष सबी श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली साहित्यमा महिला हस्ताक्षर र महिला सहभागीताका बारेमा चर्चा भएको थियो।

दोस्रो दिन शनिबार, कार्यक्रमको पहिलो सत्रमा स्वागत र विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राई र नवरत्न पुरस्कार पाउने माया गुरुङ र संगीता स्वेच्छा लगायतका सर्जकहरु थिए।

त्यसपछिको दोस्रो सत्रमा, तिन कार्यपत्रहरु प्रस्तुत गरिएका थिए। अनेसास केन्द्रिय समितिका अध्यक्ष गोबर्द्धन पूजाको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरु र अनेसासका सल्लाहकारहरु लगायतले भाषा साहित्यको महत्त्वबारे मन्तव्य राखेका थिए।

त्यसैगरी, बेल्जियमका डिल्लीराम अम्गाईंले ‘युरोपमा नेपाली साहित्य’, बेलायतकी संगीता स्वेच्छाले ‘विश्व मञ्चमा नेपाली साहित्यको चुनौती र अवसर’ तथा अमेरिकाका मोहन सिटौलाले ‘नेपाली साहित्यको विश्व-बजार’ शिर्षकमा आ-आफ्ना कार्यपत्रहरु सारांशमा प्रस्तुत गरेका थिए। त्यस्तै, पोर्चुगलका यादव देवकोटाको संयोजनमा काव्य गोष्ठीको नाममा एक छोटो ‘टक शो’ पनि प्रहशित गरिएको थियो। कार्यक्रममा थोकमा डेढ दर्जन पुस्तकहरूको विमोचन समेत गरिएको थियो।

कार्यक्रमको तेस्रो दिन २७ गते आइतबार काव्यिक यात्राका रूपमा लिस्बोन भ्रमण गरिएको थियो।

युरोपमा धेरै नेपालीहरुको प्रवेशद्वारको रूपमा रहेको र ५० हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको पोर्चुगलमा आयोजित यस विश्व सम्मेलनले खासगरी युरोपमा रहेका नेपाली सर्जक र साहित्यप्रेमीहरूबिच साहित्यिक अभियानमा अभिरुचि जगाउने, नेपाली साहित्यको विश्वब्यापीकरण गर्ने र अनेसास अभियानलाई विस्तार गर्ने उद्देश्य लिइएको थियो।

अनेसासको यो विश्व सम्मेलनले चार महादेशका झण्डै एक सय प्रतिनिधिहरूलाई एकै ठाउँमा जम्मा भएर साहित्यिक मन्थन गर्ने अवसर जुटाइ दिएको थियो। सम्मेलनमा पोर्चुगलबाहेक अमेरिका, क्यानाडा, नेपाल, भारत (सिक्किम, दार्जिलिङ र सिलगुढी), कतार, सेसेल्स, बेलायत, बेल्जियम, पोल्याण्ड, जर्मनी, डेनमार्क र फ्रान्सबाट सहभागिता रहेको थियो।

सम्मेलन साहित्यिक मन्थन, अन्तर्क्रिया र विविध आयामबारे गहन विचार-विमर्शभन्दा पनि भेटघाटको अवसरको लागि एक मञ्च, मानसम्मान र गीत-गजल गानका रूपमा नै बढी केन्द्रित रह्यो। प्रवासी नेपाली साहित्यको विकास र डायस्पोरिक साहित्य, अनि यसको मानक परिभाषाबारे समसामयीक साहित्यमा उठेका अनेक सवालहरुबारे सम्मेलनमा खासै कुनै छलफल नै भएन। त्यसैगरी सामान्यतः सम्मेलनहरूपछि विश्व घोषणा गर्ने चलन पनि त्रिदिवसीय सम्मेलनमा समायाभावले ‘पछि’ गर्ने गरी थाँती नै रह्यो। कतिपय सहभागीहरुले सम्मेलन अवधिमा ३/४ पटक आफ्नो विचार व्यक्त गर्ने अवसर पाएका थिए भने अफ्रिका महादेशका प्रतिनिधिहरू लगायत दर्जनौंले कुनै एउटो कार्यक्रममा पनि आफ्नो अभिव्यक्तिको मौका पाएनन्।

त्यसैगरी, साहित्यको विश्व सम्मेलनमा पोर्चुगल समेतको जिम्मेवारी पाएको फ्रान्स स्थित नेपाली दुतावासबाट पनि कुनै प्रतिनिधित्व हुन सकेन।

यद्यपि, नेपाली भाषा साहित्यलाई गैरआवासीय नेपालीहरुबिच संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यमा निश्चित रूपमा यो सम्मेलन फलदायी रह्यो। पश्चिम युरोपेली देशहरूमा अनेक चुनौतीहरूबिच रहेर पनि पोर्चुगलको नेपाली समुदायले नेपाली भाषा साहित्यको जगेर्नामा सम्पन्न गरेको यस विश्व सम्मेलनले प्रवासको नेपाली साहित्यिक अभियानमा एक इँटा थपेको छ। खासगरी अनेसास पोर्चुगलका महासचिव एन. बी. अन्जानको कार्यक्रम संयोजन र सम्पन्न गर्न खेलेको भूमिकालाई विश्वका चार महादेशबाट आएका प्रतिनिधिहरूले सराहना गरेका थिए।

यसरी, एक प्रकारले कार्यक्रम प्रवासी नेपालीहरुको साहित्यिक अभियानमा एक खुड्किलो चढ्न सफल त रह्यो, तर अर्को तर्फ एक प्रशंसनीय साहित्यिक प्रयास गुणात्मक दृष्टिले ‘गुमेको मौका’ बन्न पुग्यो।

स्वभावतः प्रवासमा आयोजना गरिने यस्ता कार्यक्रमहरु खर्चालु हुने र व्यवस्थापनको दृष्टिकोणले पनि चुनौतीपूर्ण हुन्छन्। अनेक चुनौतीका माझ पनि कार्यक्रम  सम्पन्न गरेर अनेसास पोर्चुगलले प्रवासी नेपाली भाषा साहित्यको आदान प्रदानमा टेवा पुर्याएको छ। त्यसैगरी अनेसास अभियानका आगामी कार्यक्रमहरु परिष्कृत हुँदै जाने र गुणात्मक बन्ने आशा गर्न सकिन्छ।