भूकम्पप्रभावित विश्व सम्पदास्थलमा तत्काल प्रवेश नदिन युनेस्कोको आग्रह

भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचिमा रहेका स्मारक स्थल तथा सम्पदास्थलमा तत्काल सर्वसाधारणलाई प्रवेश नदिन युनेस्कोले आग्रह गरेको छ। बैशाख १२ को भूकम्पपछि पर्यटक तथा सर्वसाधारणका लागि बन्द गरिएका तीन स्मारकस्थल हनुमानढोका (काठमाडौं) दरबार परिसर, स्वयम्भू र पाटन दरबार परिसर आउँदो ३२ गतेबाट खुला गर्ने तयारी भैरहेका बेला युनेस्कोले यी स्मारकस्थल सुरक्षाका दृष्टिले अझैसम्म जोखिमपूर्ण अवस्थामा रहेको जनाएको हो। सर्वसाधरण र पर्यटकका लागि ती स्थान खुला गर्नुपूर्व सम्पदाहरुको सुरक्षा र संरक्षणलाई ध्यान दिन युनेस्कोले नेपाल पर्यटन बोर्ड र पुरातत्व विभागलाई अनुरोध गरेको छ।

nepal quake heritageयूनेस्को निरीक्षणमा  पाटन सङ्ग्राहलय असुरक्षित अवस्थामा छ भने  थुप्रै क्षतिग्रस्त मन्दिरका वरिपरि सुरक्षाघेरा राखिनु पर्ने अवस्था छ। त्यसैले पाटन दरबार परिसरमा  प्रवेशमा रोक लगाउन युनेस्कोले सुझाब दिएको हो ।

स्वयम्भू र चाँगूनारायण दुवै स्थलहरु भूस्खलनको जोखिममा रहेका हुनाले थप निरीक्षण  नगरुन्जेलसम्मका लागि ती स्थलहरू सर्वसाधारणको लागि बन्द राखिनुपर्ने युनेस्कोको ठहर छ। स्वयम्भू क्षेत्रका कलाकृतिलाई संरक्षित गर्ने काम भइरहेको अवस्थामा ती स्थलहरूलाई खुला गर्दा यहाँका कला तथा सांस्कृतिक सम्पदाहरुको चोरी हुन सक्ने भएकाले ती स्थलहरु अहिले नै खुला नगर्न पनि युनेस्कोले सुझाब दिएको छ।  हनुमानढोका (काठमाडौं) दरबार परिसरमा ध्वस्त भएका मन्दिर र परिसरमा  सर्वसाधारणको पहुँच निषेध गर्न युनेस्कोले आग्रह गरेको छ। क्षतिग्रस्त संरचनामा  आवात–जावत गर्दा अहिले भएका संरचनाहरू झन कमजोर हुने भएकाले यस्तो आग्रह गरिएको युनेस्कोले आग्रह गरेको हो।  ध्वस्त र क्षतिग्रस्त भएका मन्दिरको वरिपरि सुरक्षाको घेरा बनाउन,  बसन्तपुर प्लाजा र दरबार परिसरबीचको बाटोमा आवतजावत गर्न दिने हो भने पनि अतिरिक्त सावधानी अपनाउन युनेस्कोले आग्रह गरेको छ।  यसका साथै यहाँका भग्नावशेष  मन्दिरहरुबाट हटाउनु अगावै ध्वस्त भएका ऐतिहासिक स्मारकहरू र अन्य कलाकृतिका टुक्राहरू बटुली अलग–अलग छुट्याएर व्यवस्थित तरिकाले भण्डारण गर्न आवश्यक रहेकोतर्फ ध्यान दिन पनि सुझाब दिएको छ।