Mar 312014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

nehruभारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको नेपालनीतिको जग स्थापना गरेकाले नेपालप्रतिको भारतको दृष्टिकोण बुझ्नुअघि नेहरुको नेपालसम्बन्धी धारणा बुझ्न आवश्यक छ । ग्लिम्सेज अफ वल्र्ड हिस्ट्र, डिस्कभरी अफ इन्डियालगायत आफ्ना किताबमा उनले नेपालबारे उल्लेख गरेका छन् । यसबाहेक विभिन्न अवसरमा उनले गरेका भाषण र नेपालका नेतालाई उनले भारतीय प्रधानमन्त्री अथवा मित्रको हैसियतले लेखेको पत्रबाट नेपालप्रतिको उनको दृष्टिकोण बुझ्न सहायक हुन्छ । यी स्रोत तथा सामग्रीको अध्ययनबाट प्रस्ट हुन्छ– ‘फ्रिडम फाइटर’ छउन्जेल उनको नेपालसम्बन्धी दृष्टिकोण मित्रवत् थियो । स्वतन्त्र भारतको प्रधानमन्त्री बनेपछि भने उनको नेपालप्रतिको धारणा कलुषित बन्न पुगेको थियो ।

नेपालको सार्वभौमिकता
प्रधानमन्त्री नबनुन्जेल नेहरुको नेपालप्रतिको दृष्टिकोण मित्रवत् थियो । प्रधानमन्त्री बनेपछि भने उनी नेपालप्रति असहिष्णु बन्दै गए । ‘डिस्कभरी अफ इन्डिया’मा उनले लेखेका छन्, ‘भारतमा रहेको एकमात्र वास्तवमै स्वाधीन राज्य उत्तरी सीमामा पर्ने नेपाल हो । यसको (भूराजनीतिक र भूरणनीतिक) अवस्था अफगानिस्तानको जस्तै छ । यद्यपि, यो अझ बढी एक्लिएर बसेको छ । बाँकी जम्मै राज्य अधीनस्थ प्रणाली (सब्सिडरी सिस्टम)अन्तर्गत थिए, जहाँ सम्पूर्ण मूल शक्ति ब्रिटिस सरकारमा निहित हुन्थ्यो र उसको रेसिडेन्ट अथवा एजेन्टले सत्ता सञ्चालन गथ्र्यो ।’ (पृष्ठ ३१०)

तर, प्रधानमन्त्री बनेपछि नेपालको सार्वभौमिकतामाथि अंकुश लगाउनेखालका अभिव्यक्ति नेहरुबाट आउन थाले ।

२००८ जेठ २८ मा दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘नेपालको हालैको राजनीतिक परिवर्तनसँग मेरो केही सरोकार छैन । नेपालले चीनसँग नाता जोड्ने मनसाय गरेको छ भन्ने कुराको पुष्टि नेपाल सरकारका तर्फबाट भएको छैन । शुद्ध सद्भावनाबाट कुनै मैत्रीसम्बन्ध कायम हुन्छ भने त्यो बहुतै असल हो । तर, नेपाल भौगोलिक तथा अन्य प्रकारबाट भारतसँगै घनिष्ट छिमेकी बन्न गएकाले उभयपक्षलाई निकै लाभदायक हुन दुवैको सम्बन्ध बहुतै नजिकको हुनुपर्छ । नेपालमा कुनै विदेशी हस्तक्षेप हुन्छ र भारतलाई त्यसबाट कुनै किसिमको बाधा पर्न जान्छ भने नेपालको त्यस्तो सम्बन्धलाई भारतले नापसन्द गर्नु स्वाभाविक हुन्छ ।’

यसैगरी विसं. २००८ मै भारतीय संसद्मा नेहरुले भनेका थिए, ‘भारतले नेपालमा विशेष गरेर दुई कुरामा ध्यान दिएको छ । एउटा त नेपाललाई एउटा स्वतन्त्र मित्रराष्ट्र मान्नु तथा नेपालमा लोकतन्त्रको उत्तरोत्तर विकास हुँदै गएको हेर्न चाहनु । दोस्रो, भारतको आफ्नो सुरक्षाका निम्ति नेपालमा पनि स्थिरता तथा सुरक्षाको स्थापना हुनु । जहाँसम्म सुरक्षाको प्रश्न छ, भारत हिमालयसम्मलाई आफ्नो सुरक्षा–सीमा सम्झन्छ ।’ फागुन २६ गते भारतीय संसद्मा नेहरुले फेरि यसो भनेका थिए, ‘नेपालको आर्थिक र यातायातको विकासमा भारतले चाख लिएको छ । रक्षा र परराष्ट्र नीतिको समस्यामा दुवै सरकारका कुनैकुनै समान स्वार्थ हुनाले दुवै सरकारले विचार–विमर्श गरेको हो ।’ (नेपालको राजनीतिक दर्पण–१)

०१६ मंसिर १२ मा भारतीय लोकसभामा नेहरुले भनेका थिए, ‘नेपाल र भुटानमाथि भएको जुनसुकै आक्रमणलाई भारतले आफ्नै विरुद्धमा आक्रमण भएको भन्ने सम्झिनेछ ।’ त्यसको दुई दिनपछि तत्कालीन नेपाली प्रधानमन्त्री बिपी कोइरालाले नेहरुको भनाइको प्रतिवादमा भनेका थिए, ‘नेपाल पूर्ण सार्वभौमिकतासम्पन्न स्वतन्त्र राष्ट्र हो र यसले आफ्नो वैदेशिक तथा घरेलु नीति कुनै बाहिरी शक्तिसँग सम्बन्ध नराखी आफ्नै विचार र आफ्नो अनुकूल हेरी निर्णय गर्छ । भारतसित भएको हाम्रो मित्रता र शान्तिको सन्धिबाटै यो कुरा प्रस्ट हुन्छ । म श्री जवाहरलाल नेहरुको वक्तव्यलाई नेपालमा आक्रमण भएमा र नेपालले सहायता मागेमा भारतले सहायता दिनेछ भन्ने आशयको मित्रताको अभिव्यक्ति ठान्दछु । यसबाट यो कदापि सम्झन हुन्न कि भारतले एकतर्फी कार्य गर्न सक्छ ।’ बिपीको आपत्तिपछि नेहरुले मंसिर १८ मा ‘मैले नेपालको सम्बन्धमा जुन भाषाको प्रयोग गरेको छु, त्यो सैनिक भाषा होइन । यो त दुवै देशबीचको आश्वासन मात्र हो’ भन्नुपरेको थियो ।

त्यसैगरी नेहरुले ०१६ माघ ३ मा भारतीय सहर बैंग्लोरमा भारतीय कंग्रेसको विशेष समितिको सीमासम्बन्धी प्रस्तावमा बोल्ने क्रममा भनेका थिए, ‘सिक्किम भारतको जिम्मेवारीमा छ । भुटान पूर्णरूपले एउटा स्वतन्त्र देश हो । तर, एउटा सन्धिले भुटानको परराष्ट्र मामला भारतसित सल्लाह गरेर चलाउने भनेको छ, परराष्ट्र मामिलामा सुरक्षा पनि गाभिएको छ । त्यसकारण भुटान भित्री मामलामा पूर्ण स्वतन्त्र देश छ, तर परराष्ट्र र सुरक्षाको मामलामा हामीसँग भएको सन्धिअनुसार भारतसित सल्लाह गर्नुपर्छ । नेपाल संसारका अरू स्वतन्त्र राष्ट्रसरह नै स्वतन्त्र छ । भारतसित नेपाल घनिष्ट छ भन्नुको तात्पर्य त्यसको भौगोलिक अवस्था र सांस्कृतिक समानताले हो, राजनीतिक वा अरू कुनै कुराले होइन ।’

नेपालमा राजा महेन्द्रले ‘कु’ गरेपछि नेहरुले नेपाली सार्वभौमिकताविरुद्ध चर्को प्रतिक्रिया दिएका थिए । ०१७ माघ ५ मा दिल्लीमा आयोजित पत्रकारसम्मेलनमा उनले भनेका थिए, ‘भारतमा ब्रिटिस आधिपत्य भएका वेला नेपालको स्वतन्त्रता बिलकुल सीमित थियो । नेपाली घरायसी मामलामा मात्र त्यसवेला स्वतन्त्र थिए, वास्तवमा । स्वतन्त्रताको माने आन्तरिक स्वशासन मात्र होइन । त्यसवेला बाहिरी देशहरूसित नेपालको सम्बन्ध बिलकुल थिएन । जब हामीले स्वतन्त्रता पायौँ, बिना कुनै हिचकिचाहट नेपालको वास्तविक स्वतन्त्रतालाई तत्काल स्वीकार गर्‍यौँ ।’

नेहरुको भनाइको भत्र्सनामा चार दिनपछि डा. केआई सिंहले भनेका थिए, ‘नेपाल आदिदेखि नै एउटा स्वतन्त्र राष्ट्र रहेर आएको छ र रहने पनि छ । प्रथम महायुद्धपछि सन् १९२४ मा सारा विश्वका ६२ स्वतन्त्र राष्ट्रहरूको ‘लिग अफ नेसन’का नाममा जेनेभामा एउटा संगठन खडा भयो । नेपाल पनि त्यसको सदस्य थियो । द्वितीय महायुद्धपछि राष्ट्रसंघको जन्म भयो र त्यसमा पनि समाजवादी र साम्राज्यवादीहरूको आपसी मतभेदले गर्दा नेपालको सदस्यतामा केही ढिलाइ भएको हो र अन्तमा उपर्युक्त दृष्टिकोणका १३ वटा देशहरूका साथ नेपाल पनि राष्ट्रसंघको सदस्य भयो । भारतका प्रधानमन्त्री नेहरुले नेपाल भारतपछि मात्र स्वतन्त्र भएको हो भन्नु एउटा ऐतिहासिक उपहास मात्र हो ।’ (नेपालको राजनीतिक दर्पण–२ र ३)

आपत्तिजनक पत्राचार

बाहय र प्रतिरक्षा मामलामा मात्र नभई नेहरुले नेपालका विशुद्ध आन्तरिक मामलामा पनि भाँजो हाल्ने गरेको राजा त्रिभुवन र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग उनले गरेको पत्राचारबाट प्रस्ट हुन्छ । साथै, कुनै तेस्रो मुलुकसँग नेपालले सम्बन्ध विस्तार गरेको उनलाई असहय हुन्थ्यो भन्नेसमेत पत्राचारले खुलस्त पार्छ । मातृकाप्रसाद कोइरालाको ‘माई रोल इन रिभोल्युसन’मा यी पत्र संकलित छन् ।

२५ अप्रिल, १९५२ मा मातृकाप्रसादलाई लेखेको चिठीमा नेहरुले भनेका छन्, ‘तपाईंको सरकारले संयुक्त राज्य अमेरिकाको सरकारसँग अनुदान अथवा ऋण अथवा यस्तै केहीका लागि आग्रह गरेको मैले थाहा पाएँ । यो निकै जटिल विषय हो । तपाईंको सरकारले अमेरिकी सरकारसँग गरेको सीधा सम्पर्कले अन्योल बढाउन सक्छ र तपाईंको सरकारलाई समस्यामा पार्न सक्छ । त्यसैले अमेरिका अथवा कुनै विदेशी सरकारसमक्ष यस्ताखाले माग राख्नुअघि हामीसँग सल्लाह माग्नु ज्यादै आवश्यक छ । किनकि यस्तो विषयमा हामीले मनग्गे अनुभव हासिल गरेका छौँ ।’

८ मे १९५४ मा मातृकाप्रसादलाई लेखेको अर्को चिठीमा उनले भनेका छन्, ‘विशेषगरी नेपालमा हामीले अमेरिकाप्रति चनाखो बन्नुपर्छ । उनीहरू अहिले विभिन्न ठाउँमा आक्रामक बनिरहेका छन् । उनीहरूलाई ‘आफ्नो थान्कामा बस्नुस्, सीमा उल्लंघन नगर्नुस् र कुनै हालतमा पनि हाम्रो आन्तरिक मामलामा हस्तक्षेप नगर्नुस्’ भन्न तपाईंले संकोच मान्नुहुँदैन । यदि उनीहरूले त्यसो गरेछन् भने यहाँ (दिल्लीमा) उनीहरूसँग कुराकानी गर्न हामी तयार छौँ ।’

मातृकाप्रसादलाई १९५४ मे महिनामा लेखेको चिठीमा उनले भनेका छन्, ‘मैले तपाईंका मन्त्रीहरूसँग तिब्बतबारे छलफल गरेँ र नेपालले अहिल्यै चीनसँग तिब्बतसम्बन्धी विषय उठाउनु हुँदैन भन्ने सुझाब दिएँ । नेपाल सरकारले पेकिङमा वार्ता गर्न कुनै हालतमा पनि तयार बन्नुहुँदैन भन्ने सुझाबसमेत दिएँ । त्यहाँ तपाईंहरू घाटामा पर्नुहुनेछ । यस्तो छलफल काठमाडौं अथवा दिल्लीमा हुनुपर्छ र यो पनि तपाईंहरूले प्रस्ट पार्नुपर्छ कि तपाईंको विदेशनीति भारतसँग गाँसिएकाले वार्तामा भारतीय प्रतिनिधिको उपस्थिति पनि आवश्यक छ ।’

८ मे १९५४ मा मातृकाप्रसादलाई लेखेको चिठीमा उनले भनेका छन्, ‘(विदेश मामलाबारे) मैले रेग्मी (डिल्लीरमण रेग्मी) र तपाईंका अन्य मन्त्रीसँग यहाँ (दिल्लीमा) छलफल गरेँ । साथै राजा त्रिभुवनसँग पनि कुराकानी गरेँ । उहाँहरू सबैले नेपालको विदेशनीति भारतसँग घनिष्ट रूपले समन्वित गर्नुपर्छ भन्ने मान्यता राख्नुभएको छ । आज अपराह्न मैले तपाईंका मन्त्रीसँग छलफल गरेँ । (छलफलको) विषयबारे एउटा छोटो स्मृतिपत्रको मस्यौदा तयार पारेको छु । आशा गर्छु कि यो पत्र चाँडै अनुमोदन गर्नुहुनेछ । पत्र हतारमा मस्यौदा गरिएको छ र यसको भाषाको स्तरोन्नति गर्ने काम सम्भवत: हुन पनि सक्छ । तर, पत्रका मुख्य बुँदा भने प्रस्ट छन् ।’ नेहरुले तयार पारेको स्मृतिपत्रमा परराष्ट्र नीतिबारे नेपालले भारतसँग राय लिनुपर्ने, तिब्बत तथा चीनसँगको सम्बन्धबारे भारतसँग विशेष राय लिनुपर्ने, भारतीय कूटनीतिक मिसनमार्फत विदेशमा नेपालको प्रतिनिधित्व गराउनेलगायत कुरा थिए । यद्यपि, मातृकाप्रसादको मन्त्रिपरिषद्ले स्मृतिपत्र अनुमोदन गर्न सकेन ।

२३ अप्रिल १९५२ मा मातृकाप्रसादलाई लेखेको अर्को चिठीमा नेहरुले भनेका छन्, ‘विदेशीलाई काममा लगाउनुपूर्व हामीसँग परामर्श मागियोस् भन्ने सुझाब दिन चाहन्छु । तपाईंको सरकारलाई विदेशी नागरिकसम्बन्धी सीमित जानकारी छ । हामीसँग बढ्ता स्रोत र ज्ञान छ । कुनैपनि विदेशीलाई काममा लगाउनुअघि हामी यहाँ र उसको आफ्नो देशमा धेरै सोधखोज गर्छौं र त्यसपछि मात्रै उसलाई काममा लगाउँछौँ ।’ त्यसैगरी ३१ जुलाई १९८२ मा लेखेको चिठीमा उनले भनेका छन्, ‘तपाईंको ध्यानाकर्षण गराउन खोजेको अर्को विषय हो– हाम्रो जानकारीबिनै अन्य विदेशी राष्ट्रसँग नेपालले विकास गरिरहेको नयाँ सम्बन्ध । यस्ता क्रियाकलाप हामीबीचको सम्झौता र नेपाल सरकारले वैदेशिक मामलामा र बाहय सम्पर्क स्थापना गर्दा अवलम्बन गर्छौं भनी हामीलाई विश्वस्त तुल्याएको नीतिविपरीत छ भन्ने मलाई लागेको छ ।’

२७ जनवरी, १९५२ मा राजा त्रिभुवनलाई लेखेको चिठीमा उनले रक्षा दलबारे सूचना पाएपछि विद्रोह दमन गर्न नेपाल सरकारलाई सघाउने निहुमा भारतीय फौजले नेपाल प्रवेश गर्ने तयारी गरेको, तर स्थिति नियन्त्रणमा आएपछि भारत रोकिएको उल्लेख गरेका छन् । यसका लागि नेपालसँग परामर्श गर्न आवश्यक ठानिएको संकेत चिठीमा कतै छैन । आगामी दिनमा नेपालमा स्थिरता र सुरक्षा सुनिश्चित गर्न गर्नुपर्ने कामबारे नेहरुले चिठीमा भनेका थिए, ‘काठमाडौंको हवाई अड्डाको स्तरोन्नति गर्ने र (काठमाडौंलाई) भारतसँग जोड्ने स्तरीय बाटो निर्माणलाई हामीले उच्च प्राथमिकता दिनुपर्ने भएको छ । प्रतिरक्षा र असैनिक दुवै दृष्टिकोणबाट यस्तो गर्नु आवश्यक छ ।’

भारत धेरै नजान सुझाब

नेपालका उच्चपदस्थ अधिकारीलाई भारत भ्रमण गरिनरहनसमेत नेहरुले पत्रमा सुझाब दिएका छन् । २३ अप्रिल १९५२ मा मातृकाप्रसादलाई लेखेको चिठीमा उनले भनेका छन्, ‘राजा र मन्त्रीहरूले नेपालबाहिर गइरहने नगरिदिए हुन्थ्यो । खासगरी कलकत्ताजस्ता ठूला सहरमा बारम्बार नगइदिए हुन्थ्यो । जनताको सोचाइमा कुनै कठिन काम भइरहेको छ भन्ने छाप पार्नु आवश्यक छ ।’ सोही दिन मातृकाप्रसादलाई लेखेको अर्को पत्रमा उनले थप भनेका छन्, ‘राजा अथवा राष्ट्रप्रमुखले गरिमा जोगाउनुपर्छ र आफूलाई केही हदसम्म पर राख्नुपर्छ । उच्च ओहोदासँग दायित्व र संयम गाँसिएको हुन्छ, जसलाई मनन गर्न नसक्दा अधिकारीले दु:ख पाउन सक्छन् ।’

चीन र ब्रिटिससँग नेपालको युद्ध

नेहरुले ‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’मा चिनियाँ साम्राट सियन लुङबारे चर्चा गर्ने क्रममा नेपालबारे उल्लेख गरेका छन् । ‘सम्राट काङ हिका नाति सियन लुङका दुईवटा रुचि थिए– कलासम्बन्धी क्रियाकलापमा सरिक हुनु र साम्राज्य विस्तार गर्नु । सियन लुङले मध्यएसियाको तुर्किस्तानमाथि विजय हासिल गरेर तथा तिब्बतमाथि कब्जा जमाएर आफ्नो साम्राज्य विस्तार गरेका थिए । केही वर्षपछि सन् १७९० मा नेपालका गोर्खालीले तिब्बतमाथि हमला गरे । जवाफमा सियन लुङले गोर्खालीलाई तिब्बतबाट निकाल्ने काम मात्र गरेनन्, पर्वतशृंखला पार गरी गोर्खालीलाई लखेट्दै नेपालसम्मै आइपुगे । र, उनले नेपाललाई चिनियाँ साम्राज्यको मातहत राज्य (भेसल स्टेट) बन्न बाध्य पारे । नेपालमाथिको यो विजय चीनको उल्लेख्य कार्यसिद्धि थियो । चिनियाँ सैनिकले तिब्बत र त्यसपछि हिमालपार गरी गोर्खालीजस्ता लडाकु जातिलाई उनीहरूकै भूमिमा पराजित गर्नु विस्मयकारी थियो । यो सब भएको २२ वर्षपछि सन् १८१४ मा भारतमा रहेका ब्रिटिसको नेपालसँग वैमनस्य बढ्न थाल्यो । फलस्वरूप, ब्रिटेनले नेपालमा आफ्नो फौज पठायो । ब्रिटिस फौजले हिमाल पार गर्नु परेन, यद्यपि उनीहरूले नेपालमा ठूलाठूला समस्या झेल्नुपर्‍यो ।’ (पृष्ठ ३८४–३८५)

भारतमा ब्रिटेनको शक्तिविस्तार र शक्ति सुदृढीकरणको चर्चा गर्ने क्रममा समेत उनले नेपालबारे उल्लेख गरेका छन् । ब्रिटिसले नेपोलियनसँगको युद्धमा फ्रान्सलाई पराजित गरिसकेपछि भारतीय उपमहाद्वीपमा ब्रिटिस उपनिवेश बलियो हुँदै गएको थियो । मराठी, मैसुरका टिपु सुल्तान र पन्जाबका शिखले ब्रिटिसलाई केही समय रोके पनि उनीहरूले ब्रिटिस फौजलाई लामो समय थेग्न नसकेको र भारतमा ब्रिटिसको सामथ्र्य बढेको उनको विश्लेषण थियो । ‘मैसुरमा ब्रिटिससँग भएको युद्धमा हैदर अलि विजयी भएका थिए । उनका छोरा टिपु सुल्तानको पालामा सन् १७९०–९२ र १७९९ मा भएको दुईपटकको युद्धपछि टिपु सुल्तानको पतन भयो । मराठीले पनि ब्रिटिसलाई अवरोध पुर्‍याएका थिए । तर, दुई ठूला मराठी राजनेता महदाजी सिन्डिया (ग्वालियर) र नाना फर्नाभिस (पेस्वा)को मृत्युपछि मराठीहरूको शक्ति छिन्नभिन्न भयो र ब्रिटिसले विजयको ताज पहिरियो । मराठीहरूसँगको अन्तिम युद्धलगत्तै ब्रिटेनले नेपालसँग सन् १८१४ देखि १८१६ सम्म युद्ध गर्‍यो । पर्वत क्षेत्रमा लड्न उनीहरूलाई निकै गाह्रो भए पनि अन्तत: उनीहरू विजयी भए । देहरादुनको जेलमा बसेर अहिले म यो चिठी लेखिरहेको छु । कुमाउ र नैनीतालसहित जेल रहेको यो जिल्ला युद्धपछि ब्रिटिस शासनअन्तर्गत आएको हो ।’

किताबमा संग्रहित छोरी इन्दिरा गान्धीलाई लेखेको अर्को चिठीमा उनले भनेका छन्, ‘चीनबारे मैले यसअघि लेखेको चिठीमा तिब्बत पार गरी हिमालय नाँघेर गोर्खालीलाई उनीहरूकै भूमिमा पराजित गर्ने चिनियाँ फौजको चकित तुल्याउने कौशलबारे भनेका कुरा तिमीले सम्भवत: सम्झिरहेकी छौ होला । ब्रिटिस–नेपाल युद्ध हुनुभन्दा मात्र २२ वर्षअघिको घटना थियो, त्यो । त्यसपछि नेपालले औपचारिक रूपमै चिनियाँ ‘सुजरेनिटी’लाई मान्यता दियो । तर, अहिले नेपाल त्यही मान्यतामा छजस्तो मलाई लाग्दैन । नेपाल देश विचित्रको छ । यो निक्कै पिछडिएको छ, बाँकी ससारदेखि निक्कै टाढा छ । हरेक दृष्टिकोणबाट भव्य यो देश प्राकृतिक संसाधनले अहिले पनि पूर्ण छ । यो कास्मिर अथवा हैदरावादजस्तो संरक्षित राष्ट्र होइन । यो स्वाधीन छ । तर, ब्रिटिस जनताले यसको स्वाधीनतालाई एउटा परिधिभित्र सीमित गर्नुपर्छ भन्ने मान्यता राखेका थिए । बहादुर लडाकु नेपाली गोर्खालीलाई भारतस्थित ब्रिटिस सेनामा भर्ना गरिएको थियो र उनीहरूलाई भारतीयमाथि दमन गर्न प्रयोग गरिएको थियो ।’ (पृष्ठ ४७६–४७७)

सिपाही विद्रोह दमनमा नेपाली फौज

इस्ट इन्डिया कम्पनीका भारतीय सिपाहीका लागि भनेर तयार पारिएको राइफलमा लाग्ने कागजको कार्तुस (काट्ररिज) दाँतले टोकेर राइफलमा ‘लोड’ गर्नुपथ्र्यो । गाई र सुँगुरको बोसोबाट कार्तुस बनाइएको सार्वजनिक भएपछि आफूहरूको धर्ममाथि प्रहार भएको भन्दै कम्पनीमातहतका हिन्दू र मुसलमान सैनिकले सन् १८५७ मा कम्पनीविरुद्ध विद्रोह गरेका थिए । सिपाही विद्रोहमा नेपालको संलग्नताबारे नेहरुले उल्लेख गरेका छन् । ‘(विद्रोहका कारण) महिनौँसम्म उत्तर र मध्य भारतमा ब्रिटिस शासन कमजोर भएको थियो । तर, विद्रोहको भाग्यलाई भारतीय स्वयंले निर्धारण गरिदिए । (विद्रोह दबाउन) शिख र गोर्खालीले ब्रिटिसलाई सहयोग गरे । दक्षिणका निजाम (हैदरावादका नरेश), उत्तरको सिन्डिया (मराठी जातिको एउटा वंश) र अन्य थुप्रै राज्य पनि ब्रिटिसकै पक्षमा उभिए ।’ (पृष्ठ ४८०)

‘डिस्कभरी अफ इन्डिया’ किताबमा सिपाही विद्रोहबारे उनले थप लेखेका छन्, ‘(विद्रोह दबाउन) ब्रिटिसले गोर्खालीबाट सहयोग पाए । अझ चकित तुल्याउने कुरा के थियो भने कुनै समय आफ्नो दुस्मन रहेको र केही वर्षअघि मात्रै आफूले पराजित गरेको शिखले समेत ब्रिटिसलाई सघाए । भारतका जनतालाई एकताबद्ध गर्ने राष्ट्रवादी भावनाको त्यसवेला चरम अनिकाल थियो ।’ (पृष्ठ ३२४)

विद्रोह दमनपछि भारतमा तैनाथ ब्रिटिस फौजको पुनर्संरचना गरियो । नेपाली, शिख र पठान जातिलाई ब्रिटिसले मित्रवत् शक्तिका रूपमा पहिचान गरेको थियो र सैन्य प्रयोजनका लागि खासगरी नेपाली र शिखमाथि बढी निर्भर रहन सुरु गरेको थियो । यी दुई जातिको शूरताबारे ‘मिथ’ निर्माण गर्ने कामलाई ब्रिटिसले त्यसपछि तीव्रता दिएको थियो । भारत स्वाधीन भएपछि नेपाली सैनिकप्रतिको ब्रिटिस नीतिलाई नेहरुले निरन्तरता दिए र भारतीय सेनामा नेपालीका लागि छुट्टै गोर्खा रेजिमेन्ट स्थापना गरे । यही रेजिमेन्टका नेपाली सैनिकलाई इन्दिरा गान्धीले शिख चरमपन्थीविरुद्ध स्वर्ण मन्दिरभित्रै र उनका छोरा राजीव गान्धीले श्रीलंकाको चरमन्थी समूह लिट्टेविरुद्ध प्रयोग गरे । भारतको जातीय समस्याको फौजी समाधानका लागि नेपाली युवालाई प्रयोग गर्ने नेहरुको नीति यसरी कालान्तरमा कार्यान्वयन भयो ।

भारतको आन्तरिक विद्रोह नियन्त्रणमा नेपाली फौजको उपादेयताबारे ‘डिस्कभरी अफ इन्डिया’मा नेहरुले संकेत गरेका छन् । सन् १९४२ मा चर्किएको स्वतन्त्रता आन्दोलन नियन्त्रणका लागि ब्रिटिसले गोर्खालीलाई परिचालन गरेकोबारे उनले लेखेका छन्, ‘सन् १९४२ को आरम्भमा स्पेसल आम्र्ड कन्स्टाबुलरी (एसएसी)को नाममा नयाँ (सशस्त्र) बल गठन गरियो । यसलाई मूलत: आन्दोलन र उपद्रो नियन्त्रण गर्ने तालिम दिइएको थियो । यसले आन्दोलन नियन्त्रण गर्ने र आन्दोलनकारीमाथि दमन गर्न महत्त्वपूर्ण भूमिका खेल्यो । आयरल्यान्डमा ‘ब्ल्याक एन्ड टयान्स’ यस्तै काम गरेको थियो । यस्तो काम भारतीय सैनिकलाई प्राय: परिचालन गरिँदैन थियो । प्राय: बेलायती सैनिकलाई परिचालन गरिन्थ्यो, साथै गोर्खालीलाई पनि गरिन्थ्यो ।’ (पृष्ठ ४८९)

ब्रिटिसको सामथ्र्य बढोत्तरी

‘डिस्कभरी अफ इन्डिया’मा नेहरु लेख्छन्, ‘ब्रिटिसले सानो प्रयासमार्फत ठूलो उपलब्धि हासिल गरे । उनीहरूले ठूलो साम्राज्य र यहाँको अथाह धनसम्पत्तिमाथि विजय हासिल गरे, जसको सहयोगले संसारकै मुख्य शक्ति बन्न उनीहरूलाई मद्दत मिल्यो । उनीहरू (यो क्षेत्रमा) कैयौँपटक पराजित भएका थिए । हैदर अली र टिपु सुल्तान, मराठी, शिख र गोर्खालीले उनीहरूलाई पराजित गरेका थिए । ब्रिटिसको भाग्य थोरै मात्र पनि कमजोर भएको भए उनीहरूले भारतमा पकड गुमाउने थिए, अथवा उनीहरू केही तटीय क्षेत्रमा मात्रै सीमित हुने थिए ।’ (पृष्ठ २७६)

ब्रिटिस विजयी हुनुको कारण खोतल्दै नेहरुले लेखेका छन्, ‘मराठीहरूको समरूपता (होमोजेनिटी) र समूहप्रतिको बफादारिता उच्च थियो । परन्तु उनीहरू असैन्य (सिभिल) र सैन्य संगठनमा पछि परेका थिए । राजपुतहरू साहसी भए पनि उनीहरूले पुरानो सामन्ती पारामा युद्ध लडे । उत्तर र मध्य भारतका मुसलमान शासक पनि राजपुतजस्तै सामन्त थिए र उनीहरूको सोचाइ राजपुतहरूको जस्तो पिछडिएको थियो । नेपालका गोर्खाली अब्बल र अनुशासित लडाकु थिए । इस्ट इन्डिया कम्पनीले उत्पादन गर्नसक्ने हरेक फौजभन्दा उन्नत नभए पनि बराबरचाहिँ थिए । संगठन पूरै सामन्ती किसिमको भए पनि आफ्नो भूमिप्रतिको उनीहरूको लगाव बलियो थियो । र, यही मनोभावले उनीहरूलाई भूमि रक्षाका निम्ति महापराक्रमी लडाकु बनायो । उनीहरूले ब्रिटिसलाई भयभीत तुल्याए । यद्यपि, यसले भारतमा भएको (ब्रिटिसविरुद्धको) मूल संघर्षमा कुनै फरक पारेन ।’ (पृष्ठ २७९)
संकलन- सुजित मैनाली/नयाँ पत्रिका