Apr 112013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

flying-carसंसार द्रुत गतिमा परिवर्तनशील छ । पछिल्लो दशकमा हाम्रो जीवनलार्इ प्रत्यक्ष असर गर्ने थुप्रै आविष्कार भएका छन् । जस्तो की, ठूला कम्प्युटर पकेट साइजमा बनेका छन्, कागजी खातको ठाउँ इलेक्ट्रोनीक मिडियाले‚ टेलिफोनको ठाउँ मोवाइल फोनले‚ ठूला टी.भी.को ठाउँ एल.सी.डी/एल.र्इ.डी. मोनीटरले‚ कंक्रीड भवनको ठाउँमा सीसाका महल र पत्रको ठाउँ इमेलले लिएको छ । इन्टरनेटको बहुआयामीक विकाससँगै फेसबुक‚ यु-ट्युब‚ स्काइप‚ वाइ-फाइ‚ मेमोरी स्टीक जस्ता आविष्कारले हाम्रो दैनिक जीवनलार्इ बदलिदिएको छ । यस अतिरिक्त डिजिटल क्यामेरा‚ जि.पी.एस. उपकरण‚ आइ-फोन लगायतका स्मार्ट फोनले पनि हाम्रो जीवन पद्धतिमा ठूलो प्रभाव पारेको छ ।

हामीले धेरै पाएका छौं । त्यसमाथि‚ वैज्ञानिक र अनुसन्धानकर्ताहरू अरू थुप्रै आविष्कारका निम्ति दिलोज्यानले लागी परेका छन् । निकट भविष्यका संभावित आविष्कार र नौला पद्धतिबारे यहाँ चर्चा गरिन्छ ।

७. खाना चक्की- बढ्दो जनसंख्याको पेट भर्न जमीनको उत्पादकत्व बढाउनुपर्ने र मासुको माग बढीरहेको छ । अर्कोतर्फ, खाना पकाउने कामको भारबाट मुक्ती पनि चाहिएको छ । यी मानव चाहनाको समाधानका रूपमा खोजी भैरहेको छ- ‘पौष्टिक खाना चक्की’ को ।

यस्तो ट्याबलेट वा क्याप्सुल बनोस् जसमा एक स्वस्थ मान्छेको आवस्यकतानुसार पौष्टिक तत्त्व होस् । यस्तो ‘खाना चक्की’ निलेपछि खाना-नास्ताको झन्झट रहँदैन तर मानव शरिरलार्इ आवस्यक शक्तिदायक प्रोटीन, कार्बोहाइड्रेट, भिटामीन, खनिज पदार्थ आदी मिल्छ ।

हालसम्म प्रयोगमा आएका खानाको सट्टाका चक्कीले प्रतिगोटा ९ क्यालोरी शक्ति दिन्छ । एक जना मान्छेलार्इ औसत प्रतिदिन २००० क्यालोरी आवस्यक हुन्छ । त्यस हिसाबले, आजसम्मको रचनामा सयौं बेस्वादका चक्की खानुपर्नेसम्मको प्रगति भएको छ ।

६. स्वचालित कार- यात्रामा खान, पिउन, लेख्न, फोनमा कुरा गर्न, खेल्न होस् वा मेक-अप गर्न होस्, स्वचालित कार भए कति सजिलो हुन्थ्यो ?

आश्चर्यजनकरूपमा, सूचना प्रविधिको हस्ती गुगलका वैज्ञानिकहरू गुगल नक्सा र विशेष सफ्टवेयरको भरोसामा यान्त्रीक सफर गर्ने प्रविधिको विकास गर्दैछन् । हिजोआज, गुगलले स्वचालित कारको परीक्षात्मक प्रयोग गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् ।

५. एयर-कण्डीसन ड्रेस- ज्यादा जाडो भयो वा उग्र गर्मी भने वातानुकुलित कोठामा बसेर सुविधा लिन सकिन्छ । कस्तो होला ? न जाडो न गर्मी हुने काइदाको पोशाक लगाउन पाए ! हिउँ होस् वा चरा खस्ने गर्मी, एयर-कण्डीसन जोडिएको पोशाक लगाएर घरबाहिर आनन्दले हिंड्न पाए क्या मज्जा आउँथ्यो !

करिब १० वर्ष अगाडि नै जापानमा यस्तो ज्याकेट बनाइएको थियो जसभित्र सानो खालका पङ्खाहरू राखिएका थिए र त्यस्तो ज्याकेट कम्प्युटरको यु.एस.बी. मा जोडेपछि सक्रिय बन्थ्यो । त्यसअघि, ज्याकेटमा पानीका साना साना पोका राखेर रासायनिक प्रतिक्रियाबाट शितल रहीरहने बनाइएको थियो । तर यस्ता ज्याकेट लोकप्रिय हुन सकेका छैनन् । रूचिकर वातानुकुलित पोशाकको खोजी जारी छ ।

४. उड्ने कार कार र जहाजको समिश्रण अर्थात रोडमा गुड्ने जहाज (जसमा उड्ने ‘विकल्प’ हुन्छ) को मानव सपना झण्डै शताब्दी पुरानो हो । थुप्रै साइन्स-फिक्सन र फिल्महरूमा उड्ने कारका परिकल्पना गरिएका छन् । प्रति-गुरूत्त्वाकर्षण प्रविधिको रूपान्तरण गरी उड्ने कार बनाउने गहन अनुसन्धान भइरहेको छ । बितेको १५ बर्षमा नासा लगायतका संस्थाहरूले प्रति-गुरूत्त्वाकर्षणको संभावित योजनाहरूमा केही सफलता प्राप्त गरेका छन् । तैपनि‚ कार उडानको मानव चाहना अझैसम्म मानवीय प्रविधिको पहुँच बनिसकेको छैन ।

३. समुद्रमुनिको सहर-  प्राचीन ग्रीसमा अटलान्टीस सहर समुद्रमुनि धसीएको कथा छ। तर अब समुद्रमुनि सहर बनाउने प्रयास शुरू भएको छ । हुन त समुद्रभित्र जलमग्न सहर बसाइ हाल्नु पर्ने मानवीय बाध्यता भइसकेको छैन । तैपनि यस्तो उत्साह शुरूभएको आधा शताब्दी भैसकेको छ ।

फ्रान्सका समुद्री कालिगढ ज्याक इभ कुस्तोले १९५० को दशकमा समुद्रभित्रको फोटोग्राफी‚ टेलिभिजन क्यामेराको प्रयोग र सामुद्रीक जीवनबारे थुप्रै अध्ययन र आविष्कार गरे । कुस्तो र यु.एस. जलसेनाले गरेका अध्ययनले मानव पानीमुनि बसार्इं गर्न सक्ने र काम गर्न सक्ने जनाएका छन् ।

दुबर्इको समुद्री क्षेत्रमा पानीमुनि ‘हाइड्रोपोलिस’ नामक आरामदायी होटलको निर्माण गर्ने योजना सार्वजनिक भैसकेको छ । जुन समुद्रको २० मीटर गहिरार्इको सतहमा बनाउने मानचित्र बनाइएको छ ।

२. नोकर रोबोट- यन्त्र-मानव अर्थात रोबोटको प्रयोग धेरै क्षेत्रमा हुँदै आएको छ । अहिलेको ठूलो चाख हो- कहिले बन्ला घरायसी काम गर्ने नोकर रोबोट ! यसैकारण जापानको अर्न्तराष्ट्रिय खाद्य मेशीनरी र प्रविधि प्रदर्शनीमा हरेक वर्ष कम्पनीहरूको भीड लाग्छ । घरायसी कसीङ्गर बढार्नेदेखि तलाउ सफा गर्ने सम्मका रोबोटहरू बनीसकेका भए पनि शौखीन मान्छेहरू चर्पी सफा गर्ने‚ रोटी बनाउने र मालिकको चाकरी गर्ने रोबोट माग गरिरहेका छन् ।

१. मंगलमा मान्छे-  चन्द्रमामा मान्छेले पाइला टेकेको ४२ वर्ष पुरा भैसकेको छ । त्यसपछि अमेरीकी र रूसी अन्तरिक्ष अभियानको गन्तव्य रातो ग्रह मंगल बनेको छ । जर्मन-अमेरिकन रकेट वैज्ञानिक डा. वेर्नहर भोन ब्राउनले सन् १९४६ मा नै ‘मंगल योजना’ को खाका बनाएका हुन् जसमा अन्तरिक्ष यात्रीहरूको मंगल यात्राबारे महत्वाकांक्षी अभीष्ट तर्जुमा गरिएको थियो ।

हालसम्म मंगलमा पठाइएका रूसी‚ अमेरिकी र युरोपेली यानहरूमा रोबोटको प्रयोग गरिएको छ । खासमा, युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरिक्ष कम्पनी नासाले मंगलमा मानव उतार्ने लक्ष्य राखी अन्वेषण र अध्ययन गरिरहेका छन् ।
 

Apr 022013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Magical_trainनेपालका युवा वैज्ञानिक रिजन कार्कीले विश्वका प्रख्यात वैज्ञानिकहरु जमघट हुने अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा प्रस्तुति दिएर ठूलो संभावनाको ढोका खोलेका छन् ।
कार्कीले विना बिजुली र विना इन्धन पहाडमा रेल कुदाउन सकिने आफ्नो विचार अमेरिकामा आयोजित एक ऊर्जा सम्मेलनमा विश्वका विशिष्ट वैज्ञानिक एवम् प्राध्यापकहरुसामु प्रस्तुत गरेर ‘स्टुडेन्ट एचिभमेन्ट एवार्ड’ हात पार्न सफल भएका थिए।
बीस वर्षको युवावस्थामै विज्ञान र प्रविधिका क्षेत्रमा विशेष चाखका साथ क्रियाशील रही आफ्नो प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्न सफल युवा अन्वेषक रिजनले हालै  रु.२५ हजार १०१ राशीको समी युवा प्रोत्साहन पुरस्कार–२०६९ पनि प्राप्त गरेका छन्।
रिजनले सन् २००९ मा अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)बाट १६ वर्षको उमेरमा विद्यार्थी प्रतिभा अन्तर्राष्ट्रिय स्टुडेन्ट अचिभमेन्ट एवार्ड जितेका थिए। उनले नासामा गएर गुरुत्वाकर्षणसम्बन्धी नियमका बारेमा कार्यपत्र प्रस्तुत गरी सम्मेलनमा सहभागी वैज्ञानिकहरुलाई चकित पारेका थिए।
सानोमा छ कक्षामा अध्ययन गर्दा डाक्टर र इन्जिनियर बन्ने सपना सजाएका उनलाई विज्ञानमा न्युटनको सिद्धान्तले आकर्षित बनाएपछि उनी अहिले चर्चित युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता बन्न सफल भएका छन्।
‘बाउन्सिङ कार’, ‘आरकिज सिम्पल मेसिन’ (कार्कीको नामाकरणबाट बनाइएको मेसिन जसले ठूलो वजनदार चिजलाई धकेल्न मद्दत गर्छ र इनर्जीलाई स्टोर गर्छ) जस्ता अनुसन्धान र अन्वेषणमा संलग्न उनले पानी, माटो, चट्टानजस्ता पदार्थलाई इन्धनका रुपमा प्रयोग गर्नसकिने तर्क राख्दै आएका छन्।
आफ्नै वरिपरिका वस्तुलाई वैज्ञानिक प्रयोगको माध्यमबाट अमेरिका पुगेर स्टुडेन्ट एचिभमेन्ट एवार्ड हात पार्न सफल कार्कीले काठमाडौँको बुढानिलकण्ठ स्कुलबाट विद्यालय तह र बानेश्वरको नोबेल एकेडेमीबाट दश जोड दुई तह उत्तीर्ण गरेका थिए।
कार्की हाल अन्तर्राष्ट्रिय एक नेपाली संस्था र अमेरिकाको वेल्स् माउन्टेण्ड फण्डको सहयोगबाट काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत छन्। फण्डले चार वर्षका लागि वार्षिक एक हजार २०० अमेरिकी डलर उपलव्ध गराएको छ। भविष्यमा भौतिकशास्त्रमा अनुसन्धान गर्ने सोच राखेका कार्की सो विश्वविद्यालयमा एप्लाइड फिजिक्समा बिएससी पहिलो वर्षमा अध्ययनरत छन्।
विज्ञानमा न्युटनको गतिसम्बन्धी तीन वटा नियम पढेपछि आफू अध्ययनप्रति लगनशील बन्दै गएको बताउने कार्कीले हालसम्म (हिलट्रेन) पहाडी रेल बनाएर सफलतापूर्वक परीक्षण गरिसकेका छन्। उनले पछिल्लो समय गत १० महिनादेखि बाउन्सिक कार (उफ्रेर हिँड्ने कार) को डिजाइनबारे अध्ययन गरिरहेका छन्। राष्ट्रिय स्तरका थुप्रै सम्मान हात पारिसकेका कार्कीको भविष्यमा नेपालमै बसेर केही गरौँ भन्ने सोच रहेको छ।
हुनतः वैज्ञानिक सफलताका लागि विकसित मुलुक नै धाउनुपर्ने नेपाली सोच पछिल्लो समयमा आएर फेसनकै रुपमा अघि बढिरहेको पाइन्छ। प्रतिभावान व्यक्तिले आफ्नो सीप र क्षमतालाई उपलब्ध स्रोत र साधनलाई पछ्याउँदै सही ढङ्गले प्रयोग गर्नसके आफ्नै देशमा पनि केही गर्न सकिँदोरहेछ भन्ने दरिलो उदाहरण बनेका छन्–रिजनजस्ता युवा वैज्ञानिक।
― सिवी अधिकारी