Jun 272017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सन्दर्भ- पत्रकार महासँघ युरोप शाखाको अधिवेशन

♦ डिल्लीराम अम्माई ♦
मनमा कुरा खेलिरहे ध्यान अन्यत्र मोड्न किताब पढ्नु भनिन्छ । मैले पनि निर्णय बिहिनताको अवस्थामा पुगेको बेला कविशिरोमणिको तरुण तपसी खण्ड-काब्य निकालेर पढ्न थालें । तलका हरफहरु मेरा सहकर्मी मित्रहरुको मनोदशामा मेरो परिदृश्य मिलाएर बनाएको राशिफल हो की क्या हो जस्तो लाग्यो । मैले ति कविताका हरफहरुमा म र मेरा सबै सहकर्मी पत्रकारहरुका रुचिहरु बारबार भेट्टाएँ । विशेष गरि युरोपमा बस्ने मित्रहरुका । कविशिरोमणि लेखनाथ पौडेल रचित तरुण तपसीमा मैले भेट्टाएको राशिफल यस्तो थियो :
यताको हेर्ना साथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रम -बिधि
हावामा बोहोरी बिहग सरि ठाडै बहकिंदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै ।।
पालाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हर किसिमको कौतुक गरी
खुशी भै त्यो पन्था बिहगकुलको लंघन गर्यो
हावाको झोक्कामा जलद उसको सम्मुख पर्यो ।। 
यति नै हरफमा रोकिएँ म र अलमलिएको गाँठी फुकाउन सक्ने गरी म आफुलाई तयार पारेर जुन २४, २०१७ मा दिनको १ : १५ मा बेल्जियमको लुभेन तर्फ एक्लै हुइकिएँ । मन खुशी थिएन । साथीहरुका अनुहारहरु संक्रमणकालिन मनोदशाले थलिएर रोगाए जस्ता थिए । समस्या उही पुरानो , आँफुलाई भए हुने, नभए खै के हुने हुने ? तयारीमा पनि खै केको हो, केको चटारो । सबै साथीहरुका अनुहारहरु वृतचित्रका आबृति झैं आँखा अगाडिबाट घुमीरहे । जुन २४ मा पत्रकार महाँसंघ युरोप शाखाको अधिवेशन अपुरो तयारीमा हुँदै थियो ।
पहिलो अधिवेशनबाटै पानी धमिलिन थालेको थियो । त्यो धमिलो पानी थिग्राउन सके जति प्रयास भयो । केही अग्रज र सहकर्मी मित्रहरुले मानसिक थकानका सुस्केरा नहालिकन पत्रकार महासंघ युरोप शाखालाई संजीवनी दिइरहनु भयो । फलस्वरूप यो शाखा पत्रकार महासंघको एक अंग र विश्व संघको एउटा सेलको रुपमा रहीरहेको छ अहिले । संग्लिएको नसकेपछि उमालेरै भएपनि यही पानी पिउनुको विकल्प छैन हामीलाई । मूलको पानी रोजे झैं सहज रुपमा कहाँ प्राप्त हुन्छ र !
छानेर वा फिल्टर गरेर पिउनुको विकल्प सोचिहाल्नु धेरैको लागि सपना सरह नै हुन्छ जस्तो लाग्छ ।
कुरो चार दिन अगाडिको हो । कविशिरोमणिले भने झैं मनमा संक्रम विधिले अमिलो बनाएको बेला सम्मानित मित्र ओम सरसंग भेट हुन पुकारें । उहाँ संगठनको वरिष्ठ उपाध्यक्ष र पुरानो पत्रकार पनि । भेट भयो । असहजताको गाँठो फुकाउन अन्तिमसम्म सम्बाद गरियो । उहाँले अन्य साथीहरुको सल्लाहबाट सम्मेलनबारे धारणा बनाउने जिग्रह सुनाउनु भयो । उहाँले आफैं निर्णयमा पुगेर साथीहरुको मत लिन सक्ने हैसियत थियो । मेरो विचारमा सदस्यता विवाद हल गर्न सकिन्छ । केन्द्रिय प्रतिनिधि बेल्जियम आउने कुरा प्रवेश आज्ञासँग जोडिएको तथ्य हामी सबैलार्इ थाहा भएकै कुरा हो । प्राबिधिक असजिलोलाई हामी सबैले बुझ्दछाैं । छोटो समयमा केन्द्रिय प्रतिनिधि तथा प्रमुख अतिथिको भिसा लाग्यो । अनि समस्या सभा हलको रह्यो । छोटो अबधिमा हल पाउन कति मुस्किल छ बेल्जियममा ! दोषारोपित स्थान सम्बन्धि समस्याको मूल चुरो यहि हो ।
पदहरुमा आ-आफ्ना रुचिहरु हुने नै भए । हामि संक्रमण कालको शुरुवात र द्वन्दको मध्यान्तर तिर आएका धेरै पत्रकार साथीहरु छौं । हाम्रो मनोविज्ञानमा अस्थिरता र संक्रमण कालको प्रभाव अधिक नै छ । मुलुकले निर्णायक मोड पार गरेर राजनैतिक स्थिरता प्राप्त गरिसकेको भए हाम्रो मानसिक अवस्था रुपान्तरित भै सकेको हुन्थ्यो होला । वा प्रवासका गल्लीगल्लीमा संगठन नै बनाउनु पर्ने अवस्थामा हामी बिस्थापित हुने थिएनौं सायद ।
जे जस्तो अवस्थामा छौं प्रक्रियामा जाउँ , जति सकिन्छ गरौँ र नसकिएको कार्य विश्वासपूर्वक नयाँ नेतृत्वलाई सुम्पौं । हाम्रा स्वभाब र मनोविज्ञानका थोरै हिस्सा र नयाँ समाजबाट प्रबिधि सहित सिकेका उनीहरुका आफ्ना तरिकाको ठुलो हिस्सा लिएर अन्य चुनौतिहरु दोश्रो पुस्ताले स्विकार्ने छ । हाम्रा धेरै तरिका त उनीहरुले खारेज गरिदिने छन् । सुधार निरन्तर चलि रहने प्रक्रिया हो र यसको अन्त्य असम्भव छ । प्रक्रियागत अंशका, सारहरु , हाम्रा असन्तुष्टिहरु र जानाजान नमिलाइएका कुराहरुको पोको अधिवेशन गराउन आउनुभएका पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष खिला सरलाइ उपहार स्वरुप दिउँ । अधिवेशनमा जे जस्तो अबस्था छ त्यसको अधिकतम रुपमा प्रयोजन गरौँ । सामाजिक संजाल तिर बहकिंदा अमुकहरुले तालि बजाउने भन्दा अर्थोक केहि हुँदैन । प्रजातन्त्रको अधिकतम उपयोग गर्ने थलो अधिवेशन हो । त्यसको विकल्प त अराजक बिद्रोह हुन्छ । मैले मेरा कुरा सबै साथीसंग राखेँ । बिशेष गरी ओम सरसंग ।
प्रक्रियागत असन्तुष्टि मेरो पनि हो । तर हल गर्ने बिधि यो भन्दा फरक तरिकाले गरेर होला भन्ने लागेन ।
अधिवेसनमा ब्यापक सहभागीता गराउन  केन्द्रिय प्रतिनिधिले अधिवेशन केही समय रोकेर सहमति गर्न सकिन्छ पनि भन्नु भयो । तर खै किन हो साथीहरु निर्णायक बन्न हिच्किचाउनु भयो । हामीले एकातिर प्रक्रिया मिलाउन जोड दिनु पर्दथ्यो । पत्रकारहरुको छाप्रोलाई राजनैतिक पार्टीका संगठनकर्ताहरुबाट मुक्त गर्ने पहल गर्नु पर्दथ्यो । पत्रकार महासंघको यो शाखालाई क्रमशः हिजो देखिको आन्तरिक अराजकताको अन्त्य गर्नको लागि बिधिबिधानको पालना व्याबहारिक गराउने बैधानिक तरिका खोज्नु पर्दथ्यो ।
सम्मेलनको बेलुका देखिबाट सम्मेलनको दिनसम्म हामीले आपसमा छलफल चलायौ । तर त्यो पनि निर्णायक बन्न सकेन । आपसी विश्वासको अभावमा केन्द्रको मध्यस्थतामा सहमति गर्नु वा समस्याको हल खोज्नु हाम्रो दोश्रो विकल्प थियो । त्यो सहमति नजिक पुगेर टुंगिएको हो । त्यो पनि भोलिपल्ट खै के, खै के जस्तो भएर फुस्सा भयो ।
हामी केही साथि छौं जसले महासंघको गरिमाको लागि केही भौतिक र नैतिक लगानी गरेका छौं । त्यसैमध्येका साथी अलग बस्न खोज्नु अलिक पीडादायी कुरा हो । पत्रकार युरोप शाखाको लागि यो नमिठो अनुभव हो । वक्तब्य निकाल्ने साथीहरुले पनि आफ्नै मनोदशालाई नियन्त्रण गर्न नसकेको हो की झैं लाग्छ ।
निश्चित रूपमा यो शाखामा चुनौतिहरु छन् र चुनौतिको चाङ्ग घट्नुको साटो निरन्तर बढिरहेको छ । तर पनि हामीले बिधि बिधानको परिधि भित्र रहेर सामना गर्ने सामर्थ्य राख्नै पर्दथ्यो र पर्छ । एउटा गल्तिको प्रतिकार गर्दा अर्को गल्ति भएको छ । जस्तो कि केन्द्रिय प्रतिनिधि यहिँ आएको हुनाले उहाँलाई बिरोध पत्र बुझाउन सकिन्थ्यो । अर्को कुरा महाधिवेशन हलमा सांकेतिक धर्ना दिन सकिन्थ्यो र त्यसको लागि न्युनतम समयको अल्टिमेटम दिन सकिन्थ्यो । त्यसो गर्दा पनि हल नहुने वा पेल्ने काम भए सांकेतिक धर्ना हुदै बाहिर निस्कन सकिन्थ्यो । मैले बुझेको प्रक्रिया त त्यहि हो ।
तर तात्कालिन महासचिवले अधिवेशनको खुल्ला सत्र सकिएपछि पौने दुइ बजे मध्यान्नमा बिना अल्टिमेटम, बिना जानकारी बिरोध बक्तब्य निकाल्नु भयो । र स्वयं अनुपस्थित रहनुभो । प्रतिबेदन पनि अलपत्र पर्यो । साथीहरु पनि अलमलमा परे । त्यो त न्युनतम इमान्दारिता भएन नि, प्रकाशजी !
तपार्इंले बक्तब्य निकालेको समय आँफै एकपटक हेर्नुस त कृपया ! त्यसलाई प्राबिधिक त्रुटी त भन्न अलिक नमिल्ने हो कि । अघिल्लो दिनसम्म सहभागी हुने कुरा सकारात्मक नै थियो । एक्कासि आएको बक्तब्यले सबैलाई स्तब्ध बनाउनु स्वाभाविकै हो ।
अर्कोतर्फ़ केही अनलाइन मिडियामा फेक समाचार समेत पठाइयो । साथीहरु, पत्रकार महासंघलार्इ सम्मान गर्ने पत्रकारले एक पटक सम्मेलन हलको अवस्था र केही साथीहरु सहभागी नहुनाको कारण सोधेर समाचार बनाएको भए के बिग्रन्थ्यो ? केन्द्रिय प्रतिनिधिलाई नै नसोधी कसैको प्रतिक्रिया बिना “…..बहिस्कार, असफल, सम्मेलन बिबादास्पद” भनेर लेख्नु जायज थियो ?
अनि सार्वजनिक ठाउँमा आफ्नै कपडा छोडाउदा “उ” देखाउने कार्य नगरौं भनेर हजार बिन्ती गरें  ! साथीहरु मान्नु भएन । असन्तुष्ट हुँदाहुँदै पनि म गएँ, चित्त नबुझेका कुरा राखें तर बिधी छोडिनँ ।  भन्न खोजेको कुरा, बिरोधको पनि बिधि हुन्छ र त्यसलाई नजरअन्दाज गर्न मिल्दैन भनेको हो ।
म त अझै पनि यहि भन्छु हाम्रो मानसिक अवस्था चिट चोरेर पास गर्ने विद्यार्थीको भन्दा माथि रहेन । यो मनोबृतिको पूर्ण हल हुन सक्दैन । आशा गरौं, दोश्रो पुस्ताले मात्र यसको अधिकतम हल गरेर अगाडी बढ्नेछ ।
निराशाबादी बनेर हामि पलायन हुन वा भाग्न पाउँदैनौ । त्यसो गर्नु समस्याहरुबाट भाग्नु सरह हो । भागेर पनि समस्या सकिने त हैन, समस्या झन् बढ्छ र मानसिक पिडा दिइरहन्छ । कि पेशा नै छोड्नु पर्यो ।
हामीले पढेका छौं- युरोपको पुरानो सामान्तबादी क्याथोलिक सत्ता भित्रको रुढीग्रस्त जडता ३०० बर्ष चलेको सुधार आन्दोलनले पनि निर्मुल पार्न सकेन । आचरण, संस्कार र मानसिक रुपान्तरणका लागि युरोपले ९०० बर्षमा हज्जारौं टन पसिना, अरबौको सहादत र बिलियार्डको भौतिक क्षती बेहोरेर मात्र यो अवस्थामा आएको हो । म आग्रह गर्छु सहकर्मी मित्रहरु, यी यावत समस्याको जड हामि आफैं पनि हौँ, थोर धेर । अराजकताको लागि ताली बजाउने सुरसार पटक्कै नगरौं । केहि भएको छैन, हामि सबैमा गल्ति र पुर्बग्रहका ठुलाठुला पोकाहरु छन् । सबैमा “म” झुण्डिएको छ , टिममा विश्वास छैन । पहिला आफ्नो प्रस्ताब गर्छौ अनि आफ्नो राजनैतिक गुटको । क्षमता भएकाहरुलाई पेलेर पछि पार्न खोज्छौं । हामि आफैंमा समस्या छ । अनि कसरि हुन्छ काम ! काम गर्नेको पनि जाँगर मर्न थाल्दछ ।

त्यसैले हामि सबैले आफ्नो पुरानो धारणा फेर्न जरुरी छ । गल्तीबाट सिक्दै संगै अघि बढौं । मलार्इ आशा छ, तपार्इँ हामीले महासंघको लागि बगाएको श्रम र पसिनाले बिबेकका तारहरु मिलाएर पुनः सुमधुर संगीतमा धुनहरु भर्नेछ र पत्रकारहरुका चुनौतीहरुलाई डटेर सामना गर्न ओम सरले भनेझै “…..नर्कको बाटोबाट फर्काएर स्वर्ग” जस्तो आफ्नो झुपडीमा ल्याउने छ ।