Jun 042017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

कथा

♦ पंचम अधिकारी♦

दक्षिणी ब्रसेल्सको त्यो पार्कमा जाँदा सुनिता सुर्ताले सिट्ठी थिई । त्यही पार्क, जसले उसको दिमागमा धपेडीको घण्टी बजाइरहन्छ । पोखरीको पल्लोपट्टिको व्यस्त पाटोले कहिल्यै आकर्षण गरेन ।

वल्लोपट्टिको त्यो ठिंग रूखको सामुन्नेको एकांकी सिट सुनिताको अभ्यस्त ठाउँ हो । आज त्यहाँ अर्कै युवती बसिरहेकी छे । देख्दैमा थाहा हुन्छ- ऊ बेबी-सिटर हो । नजिकै उभिएको केटो निकै मुडमा गफ दिँदै थियो र प्रतिक्रियामा त्यो केटी खितखित गरिरहेकी थिई ।

त्यस युवतीका टिमिक्क मिलेका दाँत थिए र कुमसम्म छोटाइएको कपाल । अनुहारमा नछाँटिएको आँखीभौं, सुख्खा ओंठ र काननेर पातलो झुसे रौं । जिउ त बान्की परेकै हो तर खान्की नपुगेजस्तो ।

त्यो केटीको ढाँचाकाँचा देख्दा सुनिताको दिमागमा फेरि घण्टी बज्यो । ऊ त्यसरी नै बच्चा घुमाउन स्ट्रोलर लिएर आउँथी । रूखतिर फर्केर त्यही कुनो सिटमा बस्थी । बज्यैको कुकुरले तीनचोटि परिक्रमा गरेर त्यही रूखसँग भुक्थ्यो वा कुरा गर्थ्यो । त्यो देख्दा ऊ हैरान मान्थी । अजय आउँथ्यो, गफास्टक हँसाउँथ्यो, अनि त सारा दुनियाँलाई बिर्सेर खितखिताउँदै ऊ घर फर्कन्थी । ती दिन खुसीले बितेका थिए, वर्तमानमा पीडादायी स्मृति बनेर । उसको अन्तर्दृष्टिमा अनौठो लाग्यो र आफैँलाई सोधी- को होली यो केटी ?

त्यो केटोले बोल्दाबोल्दै चंखे आँखाले सुनितालाई झुलुक्क हेर्‍यो । सुनिता तर्की ।

० ० ०

पाँच वर्षअघि हिउँदको मुखमा सुनिता ब्रसेल्स आएकी थिई । एक युरोपेली दम्पतीले उसलाई ल्याएका थिए । काठमान्डुको एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको त्यो दम्पतीको घरमा सुनिता बेबी-सिटिङ गर्थी । त्यो दम्पती र बच्चोले सुनितालाई असाध्यै मन पराउँथे । उनीहरूको काठमान्डु पोस्टिङ सकिएपछि ब्रसेल्स सरूवा भयो । उनीहरूले सुनितालाई पनि सँगै ल्याए ।

सुनिता बेल्जियम जाने भएपछि उसका साथीहरूले ‘मस्ती मार्ने भई’ भनेर हौस्याएका थिए । ऊ पनि युरोपमा के-के नै होला भनेर तरंगित भएकी थिई । उसले पनि त त्यतिखेरसम्म विदेशी भूमिमा पाइला टेक्न पाएकी थिइन । एकपटक मुम्बई जान कस्सिएर साथ लागेकी थिई । भैरहवा काटेपछि बोर्डरमै फर्काइदिएका थिए । पछि हो उसलाई थाहा भएको- ऊ त धन्दावालाहरूको फन्दामा परेकी रहिछे । त्यसपछि उसलाई विदेश भनेको अमूर्त भूतजस्तो लाग्थ्यो ।

ती युरोपेली दम्पतीकोमा काम गर्दै जाँदा उसको वास्तविक र काल्पनिक संसार सबै बदलियो । विदेश जाने साहस त आयो तर ब्रसेल्समा उसले गुप्तबास झैं बिताई । सुनिता मालिककै घरमा बस्थी । अगाडिबाट देख्दा सय वर्ष पुरानो जस्तो लाग्ने घरपछाडि फराकिलो बगैंचा थियो । हप्तामा दुई दिन एक बगैंचे आएर चिटिक्क पार्थ्यो ।

मौसम ठिहिरो चिसो थियो, तैपनि आकाश खुलेको दिन ऊ त्यतै टहलिन्थी । घरबाहिर कहिल्यै आफूखुसी एक्लै गइनँ । एकदिन छुट्टी मागिन । त्यो दम्पती विकेन्ड, खासगरी आइतबार, सुनितालाई ‘आफ्नो समय’को लागि प्रोत्साहित गर्थे । सुनिता भने छुट्टी पनि बच्चासँगै खेलेर बिताइदिन्थी । ऊ जाओस् पनि कहाँ ? त्यो सहर उसले पटक्कै चिनेकी थिइन । त्यहाँ फ्रेन्च भाषा बोलिन्थ्यो, ऊ फिटिक्कै बुझ्दैनथी । त्यो परिवारबाहेक उसले चिनेको एकजना पनि कोही थिएन । त्यो सहरको धेरै सिस्टम उसको लागि साइन्स फिक्सन जस्तो लाग्थ्यो ।

हिउँद गयो र गयो वसन्त पनि । ग्रिष्म छिप्पिइसकेको थियो । सुनिताको साहूले एक दिन नयाँ कुरा निकाल्यो, “सुनिता, तीज कार्यक्रममा जान्छ्यौ ?”

उसलाई साहूले ठट्टा गरेझैं लाग्यो- तिजको कार्यक्रम यो साहूलाई कसरी थाहा हुन्छ ?

साहूको अनुहार भने गम्भीर थियो । तीज पर्वबारे साहू-साहुनीलाई राम्ररी थाहा थियो । पोहोर तीजमा सुनिताले साहुनीलाई रातो सारीमा सिँगारेर पशुपति लगेकी थिई र साहुनीले हातको पारा लगाई-लगाई नाचेकी थिई । त्यो हुलमा ६ फिटभन्दा अग्ली साहुनी हात्ती नाचेजस्तो देखिन्थ्यो । कसैले सानो भिडियो खिचेको रहेछ । त्यो हेरेर पछि ती बेस्करी हाँसेका थिए ।

नेपाल छोडेपछि पहिलोचोटि सुनिताले रातो कुर्ता-सुरूवाल नेपाली शैलीमा लगाई । साहूले गाडीमा छोडिदियो । यसपालि चाहिँ साहुनी गइनँ । बेल्जियममा पहिलोचोटि सुनिताले आफ्नो भाषामा धित मर्ने गरी गफ गरी । धित मर्ने गरी गाई । र, धित मर्ने गरी नाची ।

त्यसको २ हप्तापछि साहू-साहुनी काममा गएको दिन ढोकामा नौलो अनुहार देखियो । बोलेपछि थाहा भइहाल्यो- ऊ नेपाली रहेछ । सुनिताको थातबाससम्म चिन्ने ।

“यतै नजिकै काममा आएको थिएँ । बहिनी यतै बस्छ्यौ भन्ने सुनेको थिएँ । चेलीबेटीको हालखबर के छ भनेर नि !” उसले बत्तीसै दाँत देखाएर भन्यो, “तिम्रो घर नुवाकोट होइन ?”

“हो, तर मैले त हजुरलाई यसअघि देखेकी थिइनँ नि ।”

“लौ, लुभेनमा त्यसरी नाचेकी,” उसले भन्यो, “तिमीले बिर्से पनि त्यस्तो राम्रो नाच्नेलाई देख्नेले बिर्सेका छैनन् ।”

नाचेको प्रसंग सुन्दा सुनिता लज्जावती झारझैं सप्याकसुपुक भई । ऊ नाच्न त रहर गर्थी तर के ढंगले नाचुँली भनेर सन्देह गर्थी ।

एक कप कफीको बाफमा तिनले थप चिनापर्ची गरे ।

“काम कस्तो छ ? साहू–साहुनी जाती छन् ?” अजयले सोध्यो ।

सुनिताले टाउको हल्लाई मात्र ।

“सजिलै छ भने ठिकै छ । नत्र यहाँ काम फालाफाल पाइन्छ,” कुर्सीबाट उठ्दै गर्दा आश्वस्त स्वरमा उसले भन्यो, “यसो २-४ महिना बारमा उभियौ भने यहाँको काम र भाषा सबै सिकिहाल्छ्यौ । त्यसपछि त सर्भिसमा राम्रो गर्न सक्छ्यौ ।”

त्यसअघि उसले आफू एक रेस्टुरेन्टको मालिक भएको उल्लेख गरेको थियो ।

अर्को दिन त्यो मान्छेले सुनितालाई एउटा पार्कमा लग्यो । त्यस दिनपछि बच्चा स्ट्रोलरमा लिएर सुनिता पार्कमा बारम्बार जान थाली । ठूलो रूखको आसपासमा उसलाई मन पर्ने एउटा एकांकी कुनाको सिट थियो । अजय त्यहीँ आइपुग्थ्यो । आकाशको तारादेखि धरतीका सारा कुरा गर्थे उनीहरू ।

सुनिताको साहू छक्क पर्‍यो, जब उसले छुट्टी मागी । उसले एकदिनको लागि मात्र होइन, पूरै सप्ताहन्तको लागि छुट्टी मागेकी थिई । साहूले छुट्टीको माग अनुमोदन गर्‍यो । अलिकति पकेट खर्च पनि दियो ताकि उसलाई ब्रसेल्सको छुट्टीमा रस बसोस् ।

“तिम्रो उमेर भनेकै घुम्ने र रमाइलो गर्ने हो,” साहूले भनेको थियो, “के कसो रमाइलो गर्छ्यौ ? मलाई सुनाउन नबिर्सनू नि ।”

ब्रसेल्समा पहिलो छुट्टीको रात उसको २२ वर्षे जीवनको डायरीमा कहिल्यै नबिर्सने मिति बन्यो । अजयसँगको त्यो अनुभव उसको जीवनमै पहिलो थियो । त्यसअघि पनि गाउँमा उसको एउटा केटासँग उठबस नभएको होइन तर ती अल्लारे चकचकमात्र थिए । उसको नैतिक बल सुषुप्त रूपमा यति सचेत थियो कि उसका हर्मोनहरू पनि नियन्त्रित थिए र चकचके कान्छालाई उसले बाँकी अर्को चोटि भन्दै थाँती राख्ने गर्थी । ब्रसेल्समा भने अजयका आश्वासनहरूको इन्धनले ऊ निथ्रुक्क भएकी थिई र उसका चाहनालाई निषेध गर्न असमर्थ थिई । ऊ अजयको मन अतृप्त राख्न चाहन्नथी ।

सुनिताले छोटकरीमा अजयलाई ‘३२ वर्षको अविवाहित रेस्टुराँ व्यापारी’ भनेर चिनेकी थिई । जीवनमा उसका थुप्रै प्रोजेक्टहरू थिए । त्यसमध्ये एउटा प्रोजेक्टमा उसले बिहे गर्ने, घर बसाउने योजनाबारे सुनितासँग अन्तरंग छलफल गरेको थियो ।

० ० ०

बेबी-सिटरको भिजा सकिँदासम्म सुनिता नेपाल फर्किदिए हुन्थ्यो जस्तो साहूले गरे । ऊ एक वर्षको लागि आएकी थिई । वर्ष सकिन महिना दिन पनि बाँकी थिएन । साहूले प्रकृया नअपनाए भिजा थपिने कुरै थिएन । उनले भिजाको प्राविधिक पक्षलाई हेरे, भावनात्मक पक्षलाई वास्तै गरेनन्- जस्तो सुनिताले महसुस गरेकी थिई । उसले आफ्नै घर र आफ्नै बच्चा जस्तो गरी काम गरेकी थिई तर साहूले काममा खटाइएकी नोकर्नीभन्दा बढी सोचेका रहेनछन् भन्ने सम्झेर उसलाई पीडा भयो ।

“तिमी फर्कने टिकट लिइदिएको छु,” साहूले खबर गरेका थिए ।

साहूको कुरामा उसले सुन्यानसुन्यै अन्तै हेरेकी थिई, प्रतिक्रियाविहीन ।

उसले आफ्नो प्रतिक्रिया अजयलाई दिई, “यहाँ बस्नै मिल्दैन भन्छ साहू । म त नेपालै फर्किन्छु ।”

सुनिताको कुरालाई अजयले पटक्कै अप्रत्याशित मानेन । उसले हलुकासँग यत्ति भन्यो, “तिम्रा कपडा एउटा ब्यागमा कोचेर यहाँ आऊ, सक्किगो नि । म छु नि ।”

सुनिताले अलिकति चिन्ता र अलिकति भरोसाको नजरले अजयलाई हेरी । उसलाई बस्न धेरै रहर थिएन । उसको मन प्रतिदिन अल्झेको अजयको जोडबलले मात्र थियो ।

“एउटा सानु समस्या छ । त्यो सक्किएपछि हामी बिहे गरौंला,” उसले भन्यो ।

“कस्तो समस्या ?” रमरम डराएको स्वरमा उसले सोधी ।

“तिमीलाई थाहा छ नि । यहाँ बस्ने पेपर बनाउन कति नाटक गर्नुपर्छ ! एउटी फुपूसँग बिहे गरेको थिएँ तर अब करिब-करिब काम सक्कियो । मेरो पेपर पक्का भइसक्यो । त्योसँग डिभोर्स मागेको छु,” उसले थप्यो, “डिभोर्स प्रोसेस नसकिएसम्म अलिकति गारो हुन्छ क्या । काम सकियोस् अनि हाम्रो शुरू हुन्छ ।”

त्यो छोटो र अप्रीतिकर कहानी सुनेपछि सुनिता आकुल-व्याकुल भई । उसले यत्ति सोधी, “हाम्रो बिहे त हुन्छ नि ?”

“मैले तिमीलाई कतिचोटि भनिसकेँ ?” उसले दाहिने हात छातीमा राखेर भन्यो, “कसम ! मैले भनेको मान सब ठीक हुन्छ ।”

काठमान्डु फर्कने टिकट भएको अघिल्लो दिउँसो साहू-साहुनी घरमा थिएनन् । सुनिताले घरका कोठाहरू चहारिरही । उसले कफी बनाई, धेरैपल्ट । टिभी खोली अनि बन्द गरी, धेरैपल्ट । सानु फुच्चे एकाध घण्टा उँधेर उठ्दा ऊ घटघट पानी पिउँदै सोफामा सुइय्य गरिरहेकी थिई । चार वर्षको फुच्चे एकाएक सुनिताको अगाडि उभियो र भन्यो, “सर्ट खोल ।”

“किन ?” सुनिताको मुखबाट फुत्कियो ।

“आई मेक यु फिल गुड,” फुच्चेले भन्यो ।

“कसरी ?”

“मामु अपसेट भयो भने म ढाडमा मालिस गर्दिन्छु,” फुच्चेले भन्यो, “हजुरलाई पनि त्यस्तै गर्दिन्छु ।”

फुच्चेका कुराले सुनिताका आन्द्रा मरीमरी हाँसे । बेचैनी बेपत्ता भयो । साँझपख साहुनी घर फर्किइन् । सुनिताको सकस दबेको ज्वरो झैं बढिहाल्यो । ऊ घरिघरि झ्यालबाट बाहिर हेर्थी, शायद खुला परिवेशले आँखालाई शीतल बनाउला कि भनी । साहुनी जिउ पखाल्न बाथरूमभित्र छिरेकी थिइन्, पुन्टे झोला बोकेर सुनिता घरबाहिर निस्की । ऊ त्यो घर फर्किन, न भोलिपल्ट एयरपोर्ट पुगी ।

 

सुनिताको अनुभव र विज्ञेषज्ञता बेबी-सिटिङमै थियो । उसले पुनः त्यही काम पाई । दक्षिण युरोपेली मूलका कुनै पानीजहाज कम्पनीमा काम गर्ने श्रीमान् र कस्मेटिक उत्पादक कम्पनीमा काम गर्ने श्रीमतीका २ वर्षे जुम्ल्याहा नानी थिए । श्रीमान् घरमा धेरै बस्दैनथे र बस्दा पनि धेरै बोल्दैनथे । श्रीमती हँसिली थिई र मनका कुरा भनिहाल्थी ।

“अनि पहिलेको काम किन छोडेकी त ?” साहुनीले सोधी, कनिष्ठलाई खाना खुवाउँदै । सुनिताले जेठो जुम्ल्याहालाई खुवाउने जिम्मा पाएकी थिई ।

“म काम सकेर फर्कनेवाली थिएँ । अजयले यहीँ बस्ने, बिहे गर्ने भन्यो, रोकिएँ,” उसले भनी ।

“अजयले चाहिँ कहाँ काम गर्छन् नि ?”

“उसको रेस्टुरेन्ट छ । हाम्रो बिहेपछि मैले पनि त्यहीँ गर्ने कुरा छ ।”

सानो रहस्य बुझेझैं साहुनीले टाउको हल्लाई । काम मिलेकोमा सुनिता खुसी नै थिई । ऊ पूरै सन्तुष्ट त थिइन किनभने उसको तलब पहिलेको ठाउँभन्दा निक्कै कम थियो । तैपनि तत्काललाई गर्जो टार्ने स्रोत भयो भनेर चित्त बुझाएकी थिई । ऊसँग वर्क परमिट पनि त थिएन । कागजी काम नसकिन्जेल हो, त्यसपछि त आफ्नै व्यापारमा अजयसँग काम गर्ने हो भनेर ऊ भित्रभित्रै गदगद थिई ।

वर्षादको अर्को दिन, ऊ भान्सा कोठामा छिर्दै थिई, केही गडबड लाग्यो । भान्सा भद्रगोल थियो । किन त्यो सुव्यवस्थित र सुग्घर देखिएन भन्ने सोचेकी मात्र थिई, बत्तिएर बाथरूमतिर छिरी । टाउको दुखेको होइन, पेट बटारिएको होइन । दुईपल्ट हिक्क भएको थियो, घाँटी पोल्यो, रगत आयो कि भनेर वास-बेसीनमा थु गरी तर केही थिएन । साहुनीलाई के भन्नु ? ऊ आफ्नै छायादेखि डराउन थाली । फोन गर्दा अजयले ‘पत्ता लगाउँछु’ भन्यो । आत्तिएरै उसले बाँकी दिन धकेली ।

‘पोजिटिभ !’ तिनले पालैपालो एउटै शब्द दोहोर्‍याए । अजयले एउटा टेस्टर ल्याएको थियो । सुनिता चिसोले जमेजस्तो अरठ्ठ भई । यो असजिलो समयमा बच्चा पाउने कुरा सजिलो थिएन । गर्भपतन गर्ने कि भनेर उनीहरूले तर्कबितर्क पनि गरे । सुनिता ओभरस्टे गरेर गैरकानुनी हैसियतमा थिई । अरू कसैको स्वास्थ्य बिमा कार्डमा जाने कि भनेर पनि छलफल भयो । तर कसको कार्डमा ? त्यत्तिकै रह्यो । एकदिन अजयले सुनितालाई नयाँ ठाउँमा लग्यो र भर्ना गरायो । भन्यो, “त्यो फुपू गोरिनीसँगको डिभोर्सको प्रक्रिया नसकिन्जेलसम्म मात्र हो ।”

सुनिता कारितासको भवनमा बस्न थालेपछि अजय व्यापार-स्यापारमा ज्याद्री व्यस्त हुन थाल्यो । उसको आईजाई कम भयो । एकपटक उसले व्यापारको सिलसिलामा लन्डनमा छु भनेर फोन गरेको थियो । अर्को महिना काठमान्डुमा आकस्मिक आइपुगेँ भनेर खबर गर्‍यो । प्रसूतिको बेला ऊ अस्पतालमा पुग्न पनि भ्याएन । अस्पताल र नगरपालिकाका मान्छेले सुनितालाई ‘बच्चाको बाबु को हो ?’ भनेर सोधे । उसले नाम दिई । तिनले अनुपस्थित बाबुको परिचयपत्रको निस्सा मागे र विवाह दर्ताको प्रमाणपत्र खोजे । त्यो त सुनितासँग थिएन । अस्पताल र नगरपालिकाका मान्छेले बाबुको नामबिनै बच्चाको नाम दर्ता गरे । तिनको रेकर्डमा ऊ ‘कुमारी आमा’ भई ।

हतासमा बतास उदासलाग्दो उच्छवासका साथ चलेझैं लाग्थ्यो । सात समुद्रपार कारितासको आश्रय र बिरानो अस्पतालमा नाबालक बच्चा लिएर जीवन गुजार्नुपर्दा सुनिताको मन धरक्कै रोयो । ऊ पछिल्लो चोटि कहिले हाँसेकी थिई, यादै गर्न सकिन । अजयसँग भेट नभएको महिनौं भइसकेको थियो । उसले दुःखम् सुखम् नेपालै फर्कने अठोट गरी ।

नेपालमा उसको परिवार, छिमेक र समाज आँखा अगाडि नाचिरह्यो । तिनको माया दया खट्किरह्यो । उसका दुई आँखा छेउबाट ठूलो आँशुको थोपा गुल्टँदै गएर मुखको कुनामा लुप्त भए । उसको थकित शरीरले दुःखी मस्तिष्कलाई भन्यो- फर्क, फर्कीहाल् ।

सोच्दासोच्दै ऊ झल्याँस्स भई, “अहिलेसम्म बच्चा जन्मेको कुरा भनेकै छैन । भनुँ पनि कसरी ? यत्तिकै गाउँ फर्के थूःथूः गर्लान् नि, बिनाबाउको बच्चा ल्याई भनेर !”

 

बच्चा ३ महिनाको भइसकेको थियो ।

झमझम झरी परेको दिन, वर्षाद छेल्न नसकेको सानो छाता ओढेर अजय टुप्लुक्क आइपुग्यो । बेस्करी चिसो पसेको सुनिताको मनमा अलिकति आँत आयो । उसले अजयलाई पिलपिल हेरी ।

“सबै कुरा बिस्तारै राम्रो हुन्छ,” अजयले आश्वस्त पार्दै भन्यो- “तर डिभोर्सको कुरा अझै पूरै टुंगिएको छैन, कुर्नुपर्छ ।”

सुनिताको जोडबल गर्ने शक्ति क्षीण भइसकेको थियो । अजयलाई देख्दा मात्र पनि धेरै साहस र ढाडस मिलेको थियो ।

लामै तुल टाँगेर अजयले आफू हराएको संसारसँग पुल जोड्यो । बोल्दाबोल्दै उसले काठमान्डुमा अर्की स्वास्नी र दुइटा बच्चा छन् भन्यो । सुन्दासुन्दै सुनिता लल्याकलुलुक भई । उसको जागृत हुँदै गरेको साहस र ढाडसको सूचक एक्कासि शून्यमा झर्‍यो । ऊ निःशब्द भई ।

भोलिपल्ट फेरि आएर अजयले फकाउन थाल्यो, “के गर्ने त नि, दुइटा स्वास्नी भइहाल्यो । उसलाई उहीँ राख्छु । तँलाई यहाँ माया दिएर राख्छु ।”

“बिहे गरेर कि रखौटी बनाएर ?”

“यहाँ राख्छु”- अजयले हावाको सानो झोंक्का छातीमाथि लग्यो र भन्यो- “मनकी रानी बनाएर ।”

“मनकी रानी !” सुनिताले कारितासको आश्रयस्थल वरिपरि कटाक्षले नजर घुमाउँदै भनी ।

“नरिसा हेर्,” अजयले भन्यो, “कहिलेकाहीँ सोचे जस्तो हुन्न । अलिअलि दुःख पर्‍यो भनेर हिम्मत हार्नु हुन्न, विश्वास गुमाउनु हुन्न ।”

यो बिरानो मुलुकमा अजयबाहेक उसले एक पित्को चिनेको कोही थिएन, जोसँग उसले केही आशा गर्न सकोस् ।

यो मान्छे क्रेजी छ तर मलाई उसको आवश्यकता छ– मनमनै सोची ।

रसिला आँखाले बच्चालाई हेरी । उसले दायाँ हत्केलाले मुख छोपेकी थिई । एकै छिनमा आँसु बरर्र पारी ।

० ० ०

एक मुठा कागजपत्र हातमा बोकेर सुनिता कारितासको अफिसमा पुगेकी थिई । सोसल असिस्टेन्टले बोलाएको नाम कानमा पर्दा उसका आँखा टाठा भए- सपना लामा ।

उसले त्यो महिलालाई पहिल्यै देखिसकेकी थिई । तर कुन राष्ट्रियताकी होली भन्ने गम्दागम्दै खुम्चिएकी थिई । यसअघि ऊ धेरै पटक झुक्किएकी थिई ।

“कहिले भाषाको समस्या, कहिले कानुनी समस्या, कहिले के समस्या । कालिदासलाई आफ्नो समस्या भने काम गर्छन्,” सपनाले भनी ।

“कालिदास ?”

“यही क्या, कालिदासमा आइरहन्छ्यौ ?”

“ए ! म त यहीँ कारितासमै बस्छु ।”

“अनि तिम्रो बूढो खै नि ?”

सुनिताको आँखा रूझेको देखेर उतिन्खेरै सपनाले बित्थामा सोधेछु भन्ने ठानी ।

“आम्मै, यस्तो नानी लिएर,” सपनाले बच्चाको अनुहार हेरी, बच्चोले दन्तहीन मुस्कान दियो । उसले थपी, “हिम्मतिली रहिछौ ।”

सुनिताले ब्याग छामछुम गरेर एउटा फोटो निकाली ।

सपनाले त्यो फोटोवाललाई राम्ररी चिन्दी रहिछ, “गएको महिना त हो त्यसले श्रीमती र छोराछोरी ल्याएको ।”

सुनिताले आफ्नो हबिगतलाई सिनेमाको पर्दामा रमिते बनेर दृश्यांकन गरी । उसको आँखा अगाडि कुनै सिनेमाको दृश्य झल्झल्ती आयो । त्यो सिनेमा हेर्दा ऊ रोएकी थिई । अहिले त उसको आँशु पनि सकिएको छ ।

अर्को दिन अजय सुनिताकोमा आउँदा च्वाप्पचुप्प हतारमा चुम्मा खायो र पाइन्ट खोलेर कुनातिर फाल्यो । आडैमा टाँस्सिएर बस्यो ।

“पाइन्ट किन खोलेको ?” सुनिताले ठाडै भनी, “घरमा श्रीमती छे । उसैकोमा जानू नि ।”

सुनिताको मन ऊ सजिलै पढ्न सक्थ्यो । उसलाई हतार भइसकेको थियो तैपनि मनमनै सोच्यो– आज पापड बेलेरै फकाउनुपर्ने भयो ।

“अब म फकाएर फकिनेवाला छैन,” उसले भनी, “म पुलिसमा उजुरी गर्छु ।”

ऊ जुरूक्क उठ्यो र नाकको डाँडीबाट सुनितालाई हेर्‍यो । सुनिता हलचल नगरी बसिरही र पर्लक्क माथि हेरी । सदैव देखेभन्दा फरक लाग्यो उसलाई त्यो मान्छे- पात्लो, पित्ले भुँडी र झुसे ।

“बकबक गर्दैमा तेरो राज चल्छ ?” त्यसले थप्यो, “तँ आफै इल्लिगल छेस्, के मुद्दा हाल्छेस् ?”

“मलाई के हुन्छ ? बढीमा जेल हाल्लान् रे ! अहिले पो जेलभन्दा के राम्रो छ र ? लौ डिपोर्ट गर्लान् रे ! यहाँ बस्न किन मरिहत्ते गर्नु छ र ?” सुनिताले त्यही भनी, जुन उसले हिजैपल्टदेखि यस्तै जवाफ दिन्छु भनेर मनमा खेलाइरहेकी थिई ।

“तैंले खोजेको चाहिँ के ?”

सुनिता आफ्नो सिटबाट बिस्तारै उठी र उसको सामने भई ।

“मलाई धोका दिइहाल्यौ । बच्चा त सकार आफ्नो रगत भएपछि,” सुनिता स्वाँ-स्वाँ गर्दै बोलेकी थिई र सास फेर्न रोकिएकी थिई, अजयको रगत तात्यो ।

उसले औंला ठड्याउँदै भन्यो, “तँ यहाँ बस्न पाए त हो ! तँ तुरून्तै नेपाल जा । नत्र मै डिपोर्ट गराउने वातावरण बनाउँछु ।”

अघि कुनातिर फालेको पाइन्ट खोजेर उसले टक्टकायो र लगाउन थाल्यो । हतारमा फसनर लगाउँदा कतै च्यापियो र ऊ कुक्रुक्क पर्‍यो ।

“ए~~ मलाई डिपोर्ट गराउने ?” अजयको कुराको हाइलाइट टिपोट गरेझैं उसले दोहोर्‍याई, बिस्तारै तर सख्त लवजमा, “मैले भनिसकेँ– फर्कन परे फर्किउँला तर यस्ता फटाहालाई म छोड्दिन । मुद्दा हाल्छु, हाल्छु ।”

सुनिताले देखी- भर्खरैसम्म रिसले लाललाल देखिएको अजय धूर्त पाराले खितखित गर्दैछ । उसले सुनिताका कुरालाई हाउगुजीभन्दा ज्यादा नठानेको ऊ बुझ्न सक्थी । उसको पूरै अनुहार एउटा नकाबजस्तो लाग्यो ।

“तैंले मुद्दा हालिस् भने,” उसले भन्यो, “तेरा ती फोटा र भिडियोको काम आउने भो । पोर्नो बनाएर इन्टरनेटमा राखिदिन्छु । फेसबुक र इमेलबाट पठाइदिन्छु– तेरा सबै नातेदारले देख्ने गरी ।”

लामो समयदेखि सुनितालाई त्यही कुराको डर थियो, त्यही सुनी ।

एकपटक उसले क्यामेरा पिलपिल देखेकी थिई र अजयसँग खै-खै गरेकी थिई । उसले क्यामेरा हत्तपत्त समातेको थियो र शब्दहरू जोडजाड गरेर आफूलाई व्यवस्थित गरेको थियो । लटपटाउँदै सोधेको थियो, “खै यहाँ के छ ?”

सुनिताले ‘फेरि यस्तो नखिच्नू है’ भनेर बिन्ती गरेकी थिई ।

उसले खिच्दिनँ त भनेको थियो तर तुरून्तै जोडेको थियो, “खिचे नै भने पनि लोग्नेस्वास्नीकै त हो ।”

सुनिताको दिमाग खराब भएको थियो त्यस दिन र ऊ बेस्सरी निराश बनेकी थिई । अनि अजयले दुई दिन लगाएर फकाएको थियो ।

उसको विस्मृतिको त्यो कुरा कुनै मूक भूत भएर सवार भयो र उसलाई तर्सायो ।

“त्यो कुरा पनि खुलाएर पुलिसकोमा रिपोर्ट गर्छु,” उसले भनी ।

त्यसपछि सुनितालाई त्यो पित्ले भुँडीवाला भूतले स्विचमा हात पुर्‍याएजस्तो लाग्याथ्यो । घम्लङ्ग कालो सिरकले छोपेजस्तो भयो । थिचे जस्तो भयो । उकुसमुकुस भयो ।

“मलाई छाडिदे, छाडिदे,” ऊ धेरैबेरसम्म चिच्याएर रोई ।

आँशु सुक्दा सानो अँध्यारो कोठामा ऊ कक्रक्क परेकी थिई । त्यसैबिच, त्यो भूत असिनपसिन हुँदै बाहिरतिर दौडिएको थियो ।

(बाह्रखरी डट कममा पहिलो पल्ट प्रकाशित)

 Tagged with:
Jun 042017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ ।

बेल्जियन कानून अनुसार एक जनाले १० हजार युरोसम्म नगद लैजान पाउँछ र त्यसभन्दा बढी रकम भए भन्सार अधिकारीहरूलाई जानकारी दिनुपर्छ । हालसम्म ब्रसेल्स अन्तर्राष्ट्रिय एयरपोर्टमा यस्तो छड्के जाँच हुने गरेकोमा अब आइन्दा अन्य एयरपोर्ट, क्रुज र अन्तर्राष्ट्रिय यात्रा गर्ने बसहरूमा पनि जाँच गरिने भन्सार अधिकारीहरूले बताएका छन् ।

यसरी सीमाभन्दा बढी नगद पैसा ओसारपसार गरेको घटनामा केही नेपालीहरू रंगेहात समातिएको चर्चा सुनिएका थिए । सावधानी नअपनाएको अवस्थामा पुनः यस्ता घटना दोहोरिन सक्ने देखिन्छ ।

 Tagged with:
May 022017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

आइतबार सम्पन्न फ्रान्सको राष्ट्रपति निर्वाचनमा सत्तारूढ सोसलिस्ट पार्टीका उमेदवार बेन्वा आमोंले ७ प्रतिशतभन्दा कम मत पाएर पाँचौँ भए। प्रष्टै छ, फ्रान्सका मतदाताले सत्तारूढ राष्ट्रपति फ्रँस्वा ओलाण्डको कार्य-अकुशलता हेरेर भोट दिए। नेपालको सन्दर्भमा यस्तो संभव छ?

नेपाली मतदाताहरू गाली गर्छन्-गर्छन, अनि अन्तमा त्यही काँग्रेस, एमाले र माओवादीलाई भोट हाल्छन्। गुनासो गर्नु तर भोट उसैलाई हाल्नु, मन नपरे पनि उही पार्टीप्रति वफादर रहनु नेपाली लोकतन्त्रको विशेषता मान्नुपर्छ।

काँग्रेस, एमाले र माओवादीले इतिहासको कालखण्डमा विशेष योगदान गरेका ऐतिहासिक तथ्य हो। त्यही योगदानबापत नेपाली मतदाताबाट यी पार्टीहरूले फल खाइसकेका छन्। यीनका नेताले ३ महिने होस् वा ६ महिने प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो झुन्डाउने ‘उपलब्धी’ पाइसकेका छन्।

दोस्रो तहका ठुला र ठालु नेताले राम्रा घर र गाडी जोडेर सामाजिक सुरक्षाको जोहो पनि गरिसकेका छन्। छोराछोरीलाई विदेशमा पढाएका छन् र आफू विरामी हुँदा विदेश गएर उपचार गर्ने हैसियत पनि बनाएकै छन्। गर्न नसकेको भनेको एउटै कुरो हो- देश विकास। यसमा मतदाताको आफ्नै बिडम्बना छ- देशको विकास भएन भनेर गनगन गर्नु अनि त्यही काँग्रेस, एमाले र माओवादीलाई भोट हाल्नु! ‘रङ नम्बर’ डायल गरेर आजसम्म कसले पो ‘राइट रिजल्ट’ पाएको छ र?

उन्नत प्रजातन्त्रमा पार्टीको कार्यकुशलता र उमेदवारको व्यक्तित्व र ईमान्दारीता महत्वपूर्ण हुन्छ। तर नेपाल जस्ता शिशु लोकतन्त्र भएको देशमा व्यक्तित्व सुगन्धित छ कि दुर्गन्धित छ भन्ने कुराले कमै महत्व राख्छ। भोट हाल्नेभन्दा भोट गन्नेले चुनाव जित्छ। त्यसैले त मतगणना गर्न पाइयोस् भनी आफै सत्तामा बसेर, गृह मन्त्रालय लिएर चुनाव गर्न अनेक दाउपेच अपनाउँछन्। शक्ति अर्थात् सत्ता, गुन्डा र पैसाको आडमा चुनावमा जान्छन् र चुनाव जितेपछि अनेक सैद्धान्तिक आदर्शको आवरणमा ब्याख्या र विश्लेषण गर्छन्- माइक वा मिडियामा।

फ्रान्सको राष्ट्रपति निर्वाचनको चर्चा गरौं। ‘अँ मार्स्’ पार्टी (नेपालीमा ‘अगाडि बढ्नु’ ) एक वर्षअघि मात्र गठन भएको हो। एक वर्षमा साढे दुई लाखले यसको सदस्यता लिए। त्यसमध्ये आधाजसो नागरिक समाजका मान्छे हुन्। आइतबारको राष्ट्रपति निर्वाचनमा त्यही ‘अँ मार्स्’ पार्टीका उमेदवार इमान्युअल माक्रोँले सबैभन्दा बढी मत पाए। फ्रान्सको कानूनअनुसार राष्ट्रपति निर्वाचनमा कुनै उमेदवारले खसेको मतको ५० प्रतिशत नपाए सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ। अरू सबै छाँटीएका उमेदवारले माक्रोँलाई समर्थन गर्ने अवस्था छ। त्यसैले दुई हप्तापछि हुने निर्वाचनमा उनको विजय प्रबल छ।

गत वर्षदेखि नै सर्वेक्षणमा सत्तारूढ सोसलिस्ट राष्ट्रपति फ्रँस्वा ओलाण्डको अनुमोदन रेटिङ १५ प्रतिशत भन्दा कम रहँदै आएको थियो। फलतः उनको पार्टीको लज्जास्पद हार भयो। चुनाव-प्रचारको प्रारम्भिक दिनहरूमा अर्को ठूलो कन्जरभेटीभ पार्टीको उमेदवार फ्रँस्वा फिलोँको अवस्था निर्वाचनअनुकूल थियो। तर उनले श्रीमति र छोरीलाई अनधिकृत भुक्तानी दिएको समाचारहरू प्रकाशित भएपछि उनको लोकप्रियता ओरालो लाग्यो।

फ्रँस्वा फिलोँले श्रीमति र छोरीलाई आफ्नो संसदीय सहायकको रूपमा जागिर दिएको र बिनाकाम तलब खुवाएको आरोप लागेको छ। पदमा पुगेकाले आफ्नै सहोदर नातागोतालाई सहायक (पि.ए.) राख्ने कुरा नेपालमा कति ब्यापक छ भन्ने कुरा हामी सबैले जानेबुझेकै हो। फरक यही हो- नेपालमा यसलाई सामान्य प्रचलनका रूपमा लिइन्छ र फ्रान्समा मुद्दा/मसला बन्छ।

नेपाली जनताको कमजोर शैक्षिक स्तर र नेपालको कच्चा लोकतन्त्रको प्रतिप्रेक्ष्यमा फ्रान्स कै स्तरमा नेपाली मतदाता सचेत छैनन्। तर त्यसको मतलब अबुझ र अचेत पक्कै होइनन्। एक्काइसौं शताब्दिको युगचेतना हुर्कंदै छ। कम्तिमा चिया पसलमा, भट्टीमा र फेसबुकका भित्तामा नेपाली मतदाताहरूको तगडा-तगडा बुद्धिविनोद सुन्न पाइन्छ। मान्छेहरू भन्छन्- सरकार पो खत्तम, जनता त गरिखाउँ भन्ने नै छन्।

गरिखाउँ भन्ने जनतालाई सत्ताले कहिले साथ दिने हो? विदेशमा भएका परिवर्तनहरूले नेपालको राजनीतिमा पनि असर गर्दै आएका छन्। फ्रान्सको चुनावबाट नेपाली मतदातालाई एक खालको प्रेरणा मिलेको छ। सायद अब, चुनावी भाषणको उत्तेजनामा काँग्रेस, एमाले र माओवादीलाई भोट हाल्ने र फुर्सदमा पछुताउने नगर्लान्!

  • पंचम अधिकारी

(सेतोपाटी डट कममा प्रकाशित)

 Tagged with:
May 022017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

कथा

  • पंचम अधिकारी ♦

म एकदम शान्त र लजालु ठिटो हुँ । एकदिन मेरो स्तर उकास्नै पर्‍यो भनेर निश्चय गरेँ ।

२३ वर्षे उमेरमा कम्प्युटर इन्जिनियर भएर पनि गोज्याङ्ग्रो नाम मैले नै कमाएको थिएँ । पढ्न त पढ्यो तर चतुर भएन, कमाउ जागिर त पायो तर फुर्तिलो भएन, बाउआमाको काखमा हुर्कियो तर संसार चिनेन भनेर मेरा कुरा काट्नेहरू अचाक्ली थिए । बाबुआमासमेत पिरलो गर्दै बारम्बार उपदेश दिनुहुन्थ्यो- अहिलेको जमानामा सीधासाधालाई गारो छ । भलादमी त हुनु ज्याद्री नहुनु रे !

त्यसैले त यी सब सुखद प्रगतिका बाबजुद मेरो मनको कुनामा बेखुसीले बारम्बार गिज्याइरहन्थ्यो ।

एकदिन काममा जाँदा मैले भुइँतलामा लिफ्ट लिएँ र बटन थिचेँ । केही समयपछि महसुस भयो- म जहाँको त्यहीँ छु । फेरि बटन थिचेँ तर लिफ्ट डेग चलेन । नजानेको साधन होइन, नचिनेको ठाउँ होइन तैपनि यो क्रम दोहोरिरह्यो । लिफ्टबाट बाहिर निस्किएर तलमाथि हेरेँ, बिग्रेको त होइन ? गगनचुम्बी भवन भए पनि त्यहाँ त्यतिखेर कोही थिएन । आँखाले देख्नेसम्म आउजाउ थिएन । भित्ताको फेरमा एउटा सानो निर्देशिका थियो, समस्या भए के कसो गर्ने वर्णन थियो । फेरि लिफ्टभित्र छिरेँ र बटन थिचेँ । मेरो औंलाले भुइँतलाको बटन पो थिच्दो रहेछ बारम्बार । होइन, यो कुनै हुस्सुपनमात्र होइन, मेरो जीवनको नियति हो । जब लिफ्ट सरर्र माथि गयो, त्यतिखेरै अन्तर्मनमा एकाएक बिगतले यात्रा गर्‍यो । म अतीतको समीक्षा गर्न थालेँ । प्राइमरी स्कुल या हाइस्कुल सधैँ त म संकोच र अपमान भोगेर हुर्किएँ । यतिखेर अन्तःस्करणमा एउटा स्वरले कानेखुसी गर्‍यो- तिमी को हौ ?

तपाईं भन्नुहोला अब्बल दर्जाको कम्प्युटर इन्जिनियर । अनि भन्नुहोला प्रतिष्ठित कम्पनीमा कम्प्युटर इन्जिनियर भइसकेको मान्छेले भ्रमित कुरा गर्न सुहाउँछ ? मलाई हाँसो लाग्छ, हामी एक-एक भ्रममा बाँचेका हुन्छौं भनेर किन मान्छेहरू बुझ पचाउँछन् ! लिफ्टको कोप्चामा स्मृतिले मलाई रिङाउँछ । हो, निश्चित रूपमा सबै कुरा खराब थिएन । स्कुल जीवन जति निरश, पट्यारलाग्दो र कष्टकर अनुभवले बिते पनि मार्कसिटमा भने सधैं म उत्तम रहेँ । मार्कसिटबाहेक मेरो स्कुले जीवन दयनीय बित्यो । अहिले सम्झँदैमा पीडा हुन्छ । के भयो कुन्नि- मैले साथी बनाउन सकिनँ । त्यसको मतलब हाम्रो स्कुल अरोचक र निरश वातावरणको थियो होला भन्ने कुरा पनि होइन । थरीथरीका सन्तान थिए । डाँडा र समुद्र नाघेर ती सन्तान कहाँ-कहाँ पुगे होलान् ! खोजे फेसबुकतिर भेटिन्थे होलान् तर मतलब लाग्दैन । तर, एउटालाई चाहिँ म बिर्सन सक्दिनँ । उसको नाम हो- सुधीर ।

० ० ०

सुधीरसँग मेरो पहिलो भेट बालकुमारी उच्च माविको शौचालयमा भएको थियो । ११ कक्षामा पहिलो दिन, पिसाब गरेर म हात धुँदै थिएँ । एउटा खाइलाग्दो अग्लो केटो रगताम्य भएर नजिकै आयो । उसको जिउडाल हाम्रा सरहरूको जत्रै थियो । उसको हातबाट अझै पनि रगत चुहिँदै थियो । शायद मेरो अनुहारमा भय र आश्चर्यको मिश्रित भाव ऊ पढ्न सक्थ्यो ।

“ए फुच्चे भाइ !” सुधीरले आलो रगतमा नजर दौडाउँदै भनेको थियो, “यो मेरो होइन ।”

उसको होइन त कसको हो ? उसको बोल्ने र चल्ने तरिकाबाटै थाहा हुन्थ्यो- ऊ मामुली मान्छे होइन । सोच्दासोच्दै मलाई भने फेरि पिसाब आइसकेको थियो । ऊसँग सक्दो जाती देखिने प्रयास गर्दागर्दै म त्यहाँबाट सुइँकुच्चा ठोकेँ ।

अर्को दिन म क्यान्टिनको कुनामा एक्लै थिएँ । एउटी सुन्दरीले ध्यान खिचेकी थिई । त्यो केटी को होली ? कहाँ बस्दी हो ? यति राम्री मान्छे र सहनसहन, ठूलाबडाकै त छोरी होली ! यस्तै यस्तै प्रश्नहरूबीच मेरा लोभी आँखा घरिघरि उसै वरिपरि पुगिरहेका थिए । उसको नजिकै आउँदै गरेको केटो देख्दा पो म झसंग भएँ । त्यो त्यही सुधीर थियो । म हच्किएँ । मूर्खदेखि दैव डराउँछ । त्यसपछि मैले त्यतातिरै आँखा लगाउनै छाडेको थिएँ ।

सुधीर देख्दैमा बेस्करी ह्यान्डसम केटो त होइन । उसलाई झलक्क देख्दा सामान्य ठिटो जस्तो लाग्छ । तर, जिउडाल हर्लक्क बढेको हुनाले कक्षा कोठा होस् कि हुलमुल, सबैभन्दा पहिले उसैमाथि नजर पुग्थ्यो । फुटबल वा बास्केटबल खेल्ने ठाउँमा गयो भने प्रायः ऊ त्यहीँ भेटिन्थ्यो । उसको पहिरन र हेयर-स्टाइल फेसनेबल जस्तो लाग्थ्यो तर उसको जस्तै नयाँ फेसनमा रमाउने अरू केटाहरू पनि स्कुलमा भएकाले त्यत्ति विशेष लाग्दैनथ्यो । भन्नेहरू भन्थे- सुधीरले स्कुलमा दादागिरी चलाइरा’छ ।

“ए फुच्चे भाइ !” सुधीरले मलाई बाक्लो स्वरमा बोलायो र आफूतिर आउन इशारा गर्‍यो । सहपाठी भएकोले हामी समवयी हुनुपर्छ । उसको दाइ पल्टिने पारा जिउडालले होला ? उमेरले त पक्कै हैन होला । म आज्ञाकारी पारामा उसको नजिक गएँ र सक्दो सहज रूपमा आफ्नो जिउलाई उसको अगाडि उभ्याउने प्रयास गरेँ ।

त्यत्तिकैमा उसको अगाडि एउटा चिसोको बोतल आइपुग्यो । वेटरले खल्तीबाट ओपनर निकालेर खोल्न खोज्दै थियो, सुधीरले बोतल च्याप्प समात्यो र आफ्नै दाँतले बिर्को खोल्यो । त्यो बिर्को उसले त्यही वेटर केटालाई थमाइदियो ।

“तिम्रो घर कहाँ हो ?” उसले सोध्यो ।

“भक्तिग्राम,” मैले भनेँ ।

“खै त तिम्रो ठाडो टीको ?” उसले अर्को प्रश्न गर्‍यो ।

भक्तिग्राम, खास समुदायका मान्छेहरूका लागि चिनिन्थ्यो । धार्मिक आस्था भनुँ या सामुदायिक आसक्ति, भक्तिग्रामका बासिन्दा निधारमा ठाडो टीका लगाउँछन् । ठेट्ना केटाहरू त्यसलाई मजाक बनाउँछन् । मलाई ‘ठाडो टीका’ भन्नेबित्तिकै झनन्न रिस उठ्थ्यो । तर, त्यहाँ म हाँसें मात्र ।

“तिम्रो बोलीबाटै थाहा हुन्छ तिमी कहाँको हो,” उसले प्याच्च थप्यो ।

त्यतिखेरै त्यो केटी पनि हाँसी । मलाई गिज्याए जस्तो लाग्यो किनकि भक्तिग्राम समुदायको लवजलाई सुरूचिपूर्ण मान्नेहरू दुर्लभै भेटिन्थे ।

“कसको छोरा ?” उसले मास्टरी पारामा फेरि सोध्यो ।

“नारायण,” मैले भनेँ, “नारायण सुवेदी ।”

“साँच्ची ?” उसले झट्का लागेझैं गर्‍यो, “अरे भाइ, पहिल्यै किन नभनेको ?”

बाउको कुरा किन गर्नुपर्‍यो बिनासन्दर्भ ? यो मान्छेलाई फोकटमा हिसाब चाहिन्छ । नभनूँ, फेरि उही चर्को बोल्ला । कसैगरी उसको चित्त नदुःखोस् र बित्थामा आपत्ति आइनलागोस् भनेर म सावधान थिएँ । बुबाको जागिरको बारेमा हीनताबोध पाल्नुपर्ने केही थिएन । तैपनि फूर्ति गरेको नठानोस् भन्ने बारेमा सजग हुँदै केही विवरण बताएँ ।

सुधीरले पहिलोचोटि मित्रवत् अनुहारले हेर्‍यो मलाई । यति भएपछि अब यो लफंगाले लफडा नगर्ला भनेर सन्तुलित हुँदै थिएँ । उसले भन्यो, “हेर भाइ, यहाँ कसैले तिमीलाई छोयो भने मलाई छोएसरह हो । मलाई भन्नू ।”

एसएलसी पास गरेपछि ११ कक्षा पढ्न म त्यो नयाँ स्कुल गएको थिएँ । घरबाट अलिक टाढा भए पनि त्यो स्कुलको ख्याति राम्रो भएकोले छोरोले अंक सुधार्ला कि भनेर भर्ना गरिदिनुभएको थियो बुबाले । स्कुल फेर्दा म पनि खुसी थिएँ । मेरो खुसीको कारण भने अर्कै थियो । प्राथमिकदेखि १० कक्षासम्म पढ्दा मलाई कुनै न कुनै सहपाठीले लम्कीझम्की गर्थ्यो । खासमा एउटा शाही बज्या थियो- राकेश । त्यसले त अचाक्ली गर्थ्यो ।

स्कुले जीवनमा म थिएँ लिखुरे र सानो अनुहारमा बल्डेङ्ग्रा आँखा । कपाल घुम्रेका । कसैसँग विवाद नगर्ने । कोही चर्को बोले तर्केर हिँड्ने । अन्तर्मुखी भनुँ वा कम बोल्ने स्वभावको । धेरै बोल्दैनथेँ, भन्नुको मतलब म लाटो त थिइनँ नि । तर मेरो कपाल, अनुहार र मैले लगाएको लुगा- हरेक दिन एक न एक कुरा झिकेर राकेश मलाई उडाउँथ्यो, सताउँथ्यो । यतिसम्म कि मेरो दोस्ती कसैसँग राम्रो भयो भने पनि ऊ भाँजो हाल्न आइपुग्थ्यो । ऊ स्कुलका टाठाबाठाको हुलमा हिँड्थ्यो र मभन्दा खाइलाग्दो थियो । उसले मलाई सधैँ तर्सिएको कुखुराजस्तो बनाएको थियो । त्यो बज्यालाई देख्नेबित्तिकै म कहिले शौचालयतिर, कहिले पुस्तकालयतिर छड्किन्थेँ । त्यसैले पनि ११ कक्षामा नयाँ स्कुलमा भर्ना हुने कुराले मलाई राहत मिलेको थियो, कम्तीमा राकेशलाई छलिने भयो भन्ने आशमा ।

तर, बर्मा गए पनि कर्म सँगै भनेझैं ऊ पनि त्यही स्कुलमा देखा पर्‍यो, मलाई हैरान पार्न छोडेन । स्कुल मलाई मनपर्ने ठाउँ थिएन र नयाँ स्कुल पनि अपवाद बनेन ।

नामै थाहा नभएझैं राकेश मलाई ‘सिँगाने’ भनेर बोलाउँथ्यो । एकदिन मैले राकेशको बारेमा सुधीरसँग गुनासो गरेँ । पछि राकेशलाई भेट्दा उसले ब्यान्डेज लगाएको थियो ।

सुधीरको आफ्नै साथी-सर्कल थियो । त्यो सर्कलमा केही बलियाबांगा केटाहरू थिए । कि त क्यान्टीनमा भेटिने कि त खेल मैदानमा देखिने ती केटाहरू मलाई फन्टुसजस्ता लाग्थे । ती फन्टुसहरूको पनि नाइके थियो- सुधीर । त्यसबाहेक ४/५ जना राम्री-राम्री केटीहरू पनि सुधीरकै सर्कलमा रत्तिएका देखिन्थे । त्यसमध्ये एउटीको आँखा ठूला-लाम्चा र ओठ सुन्तलाका केस्रा जस्ता थिए, देख्दैमा उत्तेजक । स्कुलमा उही त एउटी थिई जसलाई देख्दा मेरो मन र आँखालाई राहत मिल्थ्यो । तर, उसका अर्की दुइटी साथी अल्ली बढी उत्ताउला थिए ।

सुधीर मलाई बारम्बार उसको सर्कलमा बोलाउँथ्यो तर म धेरैबेर घुलमिल हुन सक्दिनथेँ । हुनु पनि कसरी ? ती केटाहरू मलाई पराई मनुष्य जस्ता लाग्थे । तिनीहरूको सोच र जोक म पटक्कै बुझ्दिनथेँ र आफैँ तर्किन्थेँ तैपनि जहाँ देखे पनि सुधीर हात मिलाउन छुटाउँदैनथ्यो । शायद त्यही देखेर होला- मलाई बारम्बार होच्याउने गिज्याउनेहरू मसँग सजग हुन थालिसकेका थिए ।

“पोहोर सालसम्म म पनि तिमीजस्तै थिएँ,” सुधीरले एकदिन प्वाक्क भनेको थियो ।

“मतलब ?”

“यस्तै लाटोसुधो ।”

मेरो आँखामा पत्यार थिएन । त्यही अपत्यारिलो नजरले मैले उसको आँखामा पुर्लुक्क हेरेँ । उसले ‘पोहोर सालको कहानी’ सुनायो ।

उसको घरनजिकै नयाँ छिमेकी आएका रहेछन् । उनीहरूसँगै त्यो घरमा चर्को हल्लाखल्ला पनि आएछ । एक अपरान्ह सुधीरकै घरअगाडिको बगैँचामा त्यो नयाँ छिमेकी र उसको साथी गफको ताल-बेतालमा मडारिरहेका भेटिए । सुधीरकी आमाले ध्यानाकर्षण गरिन् तर उल्टै मात चढेको स्वरमा तिनले फोहोरी दुर्वाच्य बोले रे ! त्यसपछि सुधीरको बाबु बाहिर निस्केर कराए तैपनि तिनले बेवास्ता गरेछन् । अनि सुधीरको पालो, घरबाट निस्केर तिनलाई बगैंचाबाट भगाउन खोजेछ । तिनको अटे‍रीपन देखेर नजिकै गएर धकेलुँला झैं गरेछ ।

“अनि ?”

त्यसमध्येको एउटाले सुधीरको गालामा दह्रो लपेटा हानेछ, देब्रे नाकको पोथ्रादेखि देब्रे आँखा र कानसम्म रनन्न रन्कने गरी । अनि ऊ रन्थनिएर भुइँमा पछारिएछ । आँखाले तोरीको फूल देखेछ ।

“अनि के भो ?” बडो उत्साहित भएर मैले सोधें ।

“माटो चाटेपछि पो होश आयो,” उसले भन्यो, “त्यही झोँकमा उनेर्लाई मैले ड्यामका ड्याम ठोकेँ, सालाहरू भागे ।”

गोडीगाडी सुन्दर बगैंचा माड्ने लठैतहरूलाई भगाउन सकेकोमा घरमा उसको वाहवाही भएको थियो ।

“हामी बूढाबूढी मात्र भए त तिनले नटेर्ने रैछन्,” आमाले भनेकी थिइन् ।

“घरमा बलियो मान्छे नभए सबैले हेप्छन्,” बाबुले भनेका थिए ।

देब्रे नाकको पोथ्रा फुटेको थियो । आमाले रगत पुछिदिइन् । त्यसपछि एक गिलास जुस पिएर सुधीर टिभी अगाडि बसेको मात्र थियो, बाहिरबाट होहल्ला आयो । केको खलबल हो भन्दै बाउ र उनको पछिपछि सुधीर बाहिर निस्किएछन् ।

“चार जना प्रहरी ढोकाअगाडि उभिएका थिए । तिनले मलाई गलहत्याए बाबुआमाको आँशु र छरछिमेकको भीडलाई छिचोल्दै,” उसले मलिन स्वरमा भन्यो, “प्रहरी चौकी लगे ।”

मैले उसको निन्याउरो अनुहार हेरिरहेँ ।

“पहिले २ झापड गालामा र २ लाठी खुट्टामा हाने,” उसले भन्यो, “अनि मात्र तिनले घटना विवरण सोधे ।”

“त्यस्तो मनपरी ?”

“त्यो मान्छे कुन्नि के जाति ठूलै अफिसको हाकिम रहेछ, त्यसैले उजुरी हालेर त्यत्रो बबन्डर मच्चाको नि,” उसले भन्यो ।

“बेस्करी पिट्ने-थुन्ने गर्‍यो ?”

“तिम्रा बाउ र मेरा बाउको पुरानो चिनजान रै’छ । अंकल सीडीओ अफिसमा काम गर्नु हुँदो रै’छ नि । बस्, अंकलले कुरा मिलाइदिनु भो ।”

“त्यसो भए छुट्नचाहिँ सजिलै छुट्यौ ?”

“त्यो रात पाकेटमारहरूसँग सुतेँ नि,” उसले भन्यो, “भोलिपल्ट छुटेँ ।”

“अब त पुलिस देख्दै डर लाग्छ होला है ?”

“होइन यार, ठेट्नो केटो पुलिस चौकी गा’को थिएँ, पक्का मान्छे भएर फर्कें,” उसले भन्यो, “थुन्ने कुरा र पुलिस चौकी के चिज हो, सब थाहा भो । डर-लाज सब पच्यो,” त्यसपछि उसले बेसरम हाँसो हाँस्यो ।

मैले उसलाई सीधा हेरिरहेको थिएँ, कस्तो जिरेखुर्सानी रैछ भन्ने कल्पँदै, सुधीरले अनायस विषयान्तर गर्‍यो ।

“ए भाइ, तिम्रो गर्लफ्रेन्ड छ ?”

“छैन,” मैले भनेँ ।

“मलाई थाहा छ,” उसले भन्यो, “त्यो गैरीखेतसँग डेटिङमा जान्छौ ?”

म अकमक्क परेँ ।

सुधीरको ग्रुपमा बारम्बार क्यान्टीनमा देखिने त्यो केटी मलाई असाध्यै मन पर्थी । स्कुलको एक सांस्कृतिक कार्यक्रममा लोकप्रिय ‘गैरीखेतको सिरै हान्यो’ बोलको गीतमा उसले एकपल्ट नाचेकी थिई । त्यसपछि उसको नामै गैरीखेत बन्यो । उसको पछाडि सबै त्यसै भन्थे ।

उसका कुराले मेरा कान रनक्क भए, अलिकति संकोच र अलिकति खुशामदले ।

“उसले केही भनेकी छ र ?” मैले सोधेँ ।

तर मेरो प्रश्नको सोझो उत्तर नदिइकन ऊ त्यहाँबाट छड्कियो । जाँदाजाँदै भन्यो, “विचार गर, मलाई भोलि भन ।”

मेरो दिमागमा एउटा ठूलो प्रश्नले बास गर्‍यो- उसैले भनेर हो कि मेरो मन चोर्न खोजेको सुधीरले ?

मैले गैरीखेतको त्यो नृत्य सम्झेँ, अनि उसको त्यो कामुक वक्र, ठूला-लाम्चा आँखा र सुन्तलाकेस्रे ओठ । ऊबाहेक अरू कसैले त्यो नृत्य जति प्रयास गरे पनि त्यत्तिको सुहाउँदै सुहाउँदैन, मैले ठोकुवा गरेँ । ऊसँगका मेरा हरेक देखभेटको सजीव चित्र मेरो आँखा अगाडि यादगार नाचिरहेका थिए, दिनभरि । ऊ पहिले पनि आउने गर्थी मेरो कल्पनामा । तर, त्यो दिन विशेष रूपमा आएकी थिई दिनभरि । सुत्ने बेलामा नि ऊ नै आएकी थिई, सपनामा पनि आई, भिज्ने गरी ।

भोलिपल्ट भेट्नेबित्तिकै सुधीरको पहिलो प्रश्न थियो, “के छ विचार ?”

मलाई हिजोकै प्रश्नको उत्तर मिलेको थिएन, “उसले पनि केही भनेकी छ र भन्या ?”

“केटीले भन्ली भनेर कुर्ने होइन भाइ, आफैंले चाल चाल्ने हो ।”

“रिसाई भने ?”

“हैट, कट्टु भिज्ने कुरा गर्ने हो ?”

“मैले त अहिलेसम्म कुनै केटीलाई किससम्म खाएको छैन,” मैले भनेँ ।

“त्यो कुरा छोड, पहिले एकपटक अँगालो त मार,” उसले भन्यो ।

“मैले त अहिलेसम्म कुनै केटीको हात पनि समातेको छैन ।”

“पहिले त गफगाफ गर, अनि हात समात्ने पालो आउँछ ।”

“मलाई त मीठोमीठो गफ गर्न पनि आउँदैन ।”

“पहिले केटी त भेट, अनि गफ आउँछ ।”

“हत्तेरी !” मैले भनेँ, “मलाई त्यति पनि चेत छैन ।”

सुधीर मेरो ‘लोकल हिरो’ थियो । उसका दुस्साहस मलाई अचम्मसँग रमाइला लाग्न थाले । कहिलेकाहीँ एकान्तमा अकारण जोशिन्थेँ म, उसको पारा सम्झिँदा । उसले एक सहपाठीको ज्यान बचाएको थियो ।

जितु जोक हान्न माहिर थियो । आफ्नो जोक जितु धैर्यतापूर्वक भन्थ्यो तर अर्काको जोकमा ज्यान फालेर हाँस्थ्यो । एकदिन ऊ क्यान्टीनमा जोक घत परेर बेस्करी हाँस्दै थियो, खाँदै गरेको कुरा अड्किएछ । निसास्सिन थाल्यो । सबै आत्तिन थाले । जितु हिक्कहिक्क गर्न थाल्यो । सुधीरले जितुलाई पछाडिबाट च्याप्प समातेर पेटतिर अँचेटेको के थियो, उल्टी गर्‍यो । एउटाले सुधीरलाई सोध्दै थियो, “के गरिस् सुधीर तैंले ?” उसले जवाफमा भनेको थियो, “म कसैगरी जितुलाई मर्न दिन्नँ ।”

त्यसपछि नाजुक जितुको अवस्था बिस्तारै सामान्य भएको थियो ।

बुबाको कारणले हो वा मलाई मन पराएर- जेहोस्, सुधीर मलाई राम्रो व्यवहार गर्थ्यो । तैपनि ऊसँग म दोस्ती गर्न सक्दिनथेँ किनकि हाम्रो दोस्ती प्राकृतिक हुनै सक्दैनथ्यो ।

“पोखरीमा हाम फाले न खियाउन जान्ने हो भाइ । गैरीखेतले मान्छे क्या,” उसले एकछिन रोकिएर भन्यो, “मेरो भाइ, त्यसले नमाने अर्कीलाई मनाउँला ।”

“हैन, उसले नमाने अर्की त चाहिएन,” मेरो मुखबाट फुत्त निस्कियो ।

सुधीर खितखित हाँस्यो मात्र एकछिन । “मलाई थाहा छ तिम्लाई त्यही केटी मन पर्छे तर तिमीमा साहस छैन,” ऊ एकछिन फेरि खित्खितायो र भाका हालेर भन्यो, “विचार गर भाइ, विचार गर ।”

त्यसपछि मैले धेरै विचार गरेँ । एक हप्तापछि जाँच आउँदै थियो । जाँच पार गरेपछि मात्र अरू कुरा विचार गर्ने मनमनै विचार गरेँ ।

० ० ०

१२ कक्षा पास गरेपछि कलेज पढ्न म काठमान्डु गएँ । कलेज लाइफ सकियो, काम फ्याट्टै मिल्यो । मेरो जिन्दगी सरल रेखामा एकनाससँग हिँडिरहेको छ, एकांकी । न जिउ तताउने गर्लफ्रेन्ड छे, न मन रमाउने साथी । जिन्दगीमा एउटै मित्र छ- छाया । जहाँ गए पनि साथ छोड्दैन । जुन दिन म लिफ्टमा अड्किएँ, अब मैले आफूलाई बदल्नुपर्छ है भनेर मनमनै छायासँग कसम खाएँ । सधैँभरि निरिह विगतलाई सरापेर मात्र बाँकी जीवन चल्दैन । छुट्टी लिएर लामै बस्ने गरी गाउँतिर लागेँ, पाँच वर्षपछि ।

पाँच वर्षपछि भान्जी दिदीको बिहेले मलाई गाउँ लगेको हो । मेरा आफन्तीहरूले भरिएको छ यो गाउँ तर आफन्ती र बिहेभन्दा पनि ज्यादा ‘म को हुँ ?’ को साइनो खोज्न म उत्प्रेरित भएको हुँ । छोराछोरीलाई सजिलो होस् भनेर बुबाले काठमान्डुमा घर बनाउनु भएपछि गाउँ फर्केको थिइनँ ।

मोटरसाइकलमा बत्तिँदै थिएँ, फुटपाथमा राकेश लुखुरलुखुर हिँड्दै देखियो । म रोकिएर आफैँलाई सोधें- यो त्यही मान्छे हो ? उसले लामो कपाल पालेको थियो, मानौं २३ वर्षदेखि त्यसले स्याम्पु देख्न पाएको छैन । चर्को घाममा पनि लेदर ज्याकेट लगाएको थियो । ज्याकेटको बाहुला छलेर नाडीमा बाला देखिन्थ्यो । कम्मरतिर कतै साङ्लोको छिङछिङ आवाज सुनिन्थ्यो । उस्तै लामो कपाल पालेको र लेदर ज्याकेट लगाएको अर्को केटो थियो सँगै । कसैलाई कुरेझैं फुटपाथको डिलमा टुसुक्क बसे उनीहरू। म नजिक गएँ । चकित परे । राकेशले सँगै डिलमा बस्न फर्मायो । मैले हतार छ भनें । उसले भन्यो, “मलाई बजारसम्म छोड्दिन सक्छौ ?” बाइकको पछाडि बस्ने इशारामा आफ्नो अनुकूलको बाटोसम्म छोडिदिउँला भनें । त्यो छोटो यात्रामा उसले टोलको विकासदेखि राष्ट्रिय राजनीतिसम्म नकरात्मक टिप्पणी गर्न भ्यायो । मैले सुनिमात्र रहें ।

उसले भन्यो, “अस्ट्रेलिया जाने प्रोसेसमा छु ।”

म प्रतिकृयाविहीन भएँ । उसले यो कुरा त १० कक्षा पढ्दादेखि नै मलाई सुनाएको थियो ।

राकेशलाई चोकमा छोडेर म पेट्रोल पम्प पुगें । पम्पको कामदार केटा देख्दा म चकित भएँ । आँखालाई विश्वासै गर्न गाह्रो । त्यो मेरो स्कुले जीवनको लोकल हिरो थियो । ऊ त्यतिखेरै लेटेस्ट मोडलको बाइक चढ्थ्यो । केटाहरूको ग्याङमा थियो । राम्री केटीहरूले घेरिएको हुन्थ्यो । हाम्रो भेट नभएको ५ वर्ष मात्र भएको हुँदो हो । त्यही लोकल हिरो भेट भए मेरो नयाँ जीवनमा रंग छर्छ कि भन्ने टुक्रे आशाले मनको कन्दरामा बास गरिराको थियो । यो के चाल हो ? म सोच्दासोच्दै सुधीर आफैंले कुरा निकाल्यो ।

“स्कुलबाट छुट्ने बित्तिकै जेल परियो यार,” उसले भन्यो ।

“जेल ?”

“एउटा मान्छेलाई साफ धुलाइ गरेको, नेता परेछ । एक वर्ष कोच्यो यार,” देब्रे हातको पञ्जाले अनुहार पुछ्दै उसले भन्यो, “जाँच पनि बिग्रियो ।”

“मान्छे पिटेकै कुरामा वर्ष दिन जेल त राख्नु नपर्ने हो,” मैले सहानुभूतिमा भनेँ, “कुनै खत पनि लाग्याथ्यो कि ?”

“नारायण अंकलले त उपाय निकाल्छु भन्दै हुनुहुन्थ्यो । बाउले मानेनन्,” उसले दुई ओठ टिम्म पार्दै भन्यो । मानौं उसले अथाह पीडा थुनेर राखेको होस् । मैले झट्ट कुरा मोडें, “राकेश बाटोमा भेट भएको थियो । ऊ पनि यतै रहेछ ।”

“त्यसले फुटपाथको डिलमा बस्ने जागिर खाइरा’छ,” उसले भन्यो, “उसको अस्ट्रेलियाको भूत अझै हराएको छैन ।”

“गैरीखेतवाली कता पुगी ?”

“मैले त्यतिखेर भनेको मानेको भए,” उसले निर्धो मुस्कानसहित भन्यो, “अहिले यही बाइकको पछाडि सिटमा हुन्थी ।”

म अवाक् भएँ, कतै हराए जस्तो ।

“अनि यो सिटमा बस्ने कोही बन्या छ कि छैन ?” पछिल्लो सिटतर्फ इंगित गर्दै उसले फेरि सोध्यो ।

“पोखरीमा हाम फाले न खियाउन जान्ने हो,” मैले भनेँ, “त्यतिखेर तिम्ले जोस्याएको हो तर यो कला कहिल्यै जानिएन ।”

“कला जान्नेको पनि त यो हाल छ,” उसले मैलो हात टक्टकाउँदै भन्यो, “बरू तिमीलेझैं लुसुलुसु भए पनि…” ऊ बीचैमा रोकियो । उसको अनुहारमा अघि भर्खर देखिएको क्षणभंगुर उज्यालो तुरून्तै अस्ताइहाल्यो ।

“जे हुनु भैहाल्यो । अब के छ विचार ?” मैले सोधेँ ।

“बेलामा पढिएन । … अब पढ्ने जाँगर पनि छैन,” उसले लामो श्वासमा भन्यो, “ठूलो सपना पनि छैन । यी हेर, यहाँबाट सुरू गरेर कहाँ पुगिएला ?”

उसको चेहरामा सुदूर भविष्यप्रति अनिश्चयको छाया झल्किएझैं लाग्यो ।

म केही बोलिनँ । म के गर्न सक्छु र ?

“स्कुलमा पनि फेल हुने, मान्छे पिट्दै हिँड्ने भनेर बाउ बूढा रिसाए ।”

“अहिले पछुतो लाग्छ ?”

“सुधीर ~~!” पल्लोपट्टिबाट कसैले बोलाएको सुनियो ।

“आउँदैछु ।” उसले भन्यो र मेरो आँखामा हेर्‍यो ।

ऊ सरासर आवाज आएतिर गयो । अर्को केटोले मेरो बाइकमा तेल हाल्दै गर्दा सुधीर एकजना केटी लिएर आयो । ऊ स्कुटीमा थिई । सिउँदो भरिएकी त्यो केटी मलाई हेरेर मुसुक्क हाँसी । सुधीर ङिच्च गरेर हाँस्यो र स्कुटीको पछाडि टुसुक्क बस्यो ।

“अरू केही गर्न नसके पनि बिहेचाहिँ गरियो भाइ,” उसले भनिरहँदा केटीले स्कुटी स्टार्ट गरी र एकैछिनमा धूलो उडाउँदै सुधीरसँगै बाटैबाटो हराई ।

म आज पनि गैरीखेतसँग बोल्न सकिनँ ।

(बाह्रखरी डट कममा पहिलो पल्ट प्रकाशित)

 Tagged with: