Sep 062014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो– यो हो कामचलाउ पत्रकारिता।

Digital-Journalist-Jounalismपरदेशको पत्रकारितामा श्रम, सम्पत्ति र समय खर्च गरेर पाइने एउटै चिज रहेछ ‘आत्मरति’। नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले डिसीमेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीसँग गरेको अन्तर्क्रियाका क्रममा सहभागीले सार्‍है प्रतिकुल परिस्थितिमा जेनतेन भइरहेको प्रयासलाई ‘कामचलाउ’ भन्न सकिने बताए।

‘दैनिक हातमुख जोड्ने मेसो एउटा र पत्रकारितासँगको साइनो जिउँदो राख्ने प्रयास अर्को। दुइटाबीच रौं बराबर पनि मेल खाँदैन,’ करिब दुई वर्षदेखि सञ्चालनमा रहेको अमेरिका–नेपाल टेलिभिजनकी संस्थापक रमा सिंहले आफ्नो अप्ठेरो सुनाइन्– ‘करिब दुई तिहाइ जीवन टेलिभिजन पत्रकारितासँग जोडिएर बित्यो, अहिले यो एक प्रकारको लत झैं बनेको छ।’ उनको भनाइअनुसार, यो लतको निरन्तरता कि पत्रकारिता के भइरहेको छ, भेउ पाउनै मुस्किल छ। भन्छिन्, ‘जिविकोपार्जनका लागि अन्त काम गरेर, हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्टयाएका छौं।’ विदेशी मुलुकमा आफूले सोचेजस्तो र चित्तबुझ्दो गरी काम गर्न नसकिरहेको गुनासो गरिरहँदा उनी यो पेशा चटक्कै छाड्नसक्ने अवस्थामा पनि छैनन्।

एसोसिएसन अफ दि नेप्लिज अफ अमेरिकाज (एएनए)का पूर्व अध्यक्ष प्रेम संग्रौलाले अमेरिकामा जसोतसो चलिरहेको पत्रकारिताले नेपाली संघसंस्थालाई ठूलो गुन लगाइरहेको भन्दै यसलाई स्वयंसेवा भन्नसकिने तर्क गरे। ‘कहिलेकाहिँ ठट्टैठट्टामा तपाईंहरू यताको चौथो अंग कि उताको चौथो अंग भनेर प्रश्न गर्छु,’ अर्थशास्त्री संग्रौलाले खुलस्त गरे– ‘अलिअलि कपी–पेस्ट भएको कुरालाई विषय नबनाउँ।’ उनले आम मानिसको पहुँच रहेको सोसल मिडियालाई पाँचौं अंग अथवा पछिल्लो पुस्ताले गरिरहेको अनौपचारिक पत्रकारिताको संज्ञा दिए। अमेरिकी संसदीय, शासकीय र कानुनी अभ्यासलाई नेपाली सन्दर्भमा जोडेर समाचार बनाउ नसके त्यसले निकै राम्रो मेसेज दिने उनको सुझाव थियो।

नेपाली छापा माध्यममा झण्डै ४ दशक बिताएका बरिष्ठ पत्रकार सोमनाथ घिमिरेले विदेशी भूमिमा अनेक चुनौति सामना गरेर भाषा, संस्कृतिको प्रचार गर्न नेपाली मिडियाले योगदान गरेको चर्चा गर्दै यसको अस्तित्व जोगाउने काममा सघाउन नेपाली समुदायलाई आह्वान गरे। ‘सामाजिक सञ्जालको बेलगाम सूचनाको बाढिमा सत्यतथ्य छुट्ट्याउन गार्‍हो पर्‍यो,’ घिमिरेको कथन थियो– ‘समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढिरहेकोले यसप्रति सञ्चारकर्मीहरू सचेत हुनुपर्दछ।’

यसैगरी, सञ्चार क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको गुनासो चलिरहेको बेला विभिन्न अनलाइनको संवाददाता दाबी गर्दै विजय थापा ‘महोदय’ ले आफू संसारका २३ वटा विद्युतीय माध्यमका पत्रिकालाई समाचार पठाइरहेको खुलासा गरिदिए। ‘बिदाका दुई दिनलाई सदुपयोग गर्दै संकलन गरिएको समाचार म २३ देशका सञ्चारमाध्यमलाई दिइरहेको छु।’

नेपालमा कुनै दैनिक पत्रिकामा काम गर्दागर्दै डिभी चिट्ठा परेर भर्खरै अमेरिका आएका एकजना भाइ, नेजाका संस्थापक अध्यक्ष तथा नेपाली पोष्ट अनलाइन पत्रिकाका सम्पादक गिरिश पोख्रेललाई जिज्ञासा राख्दैथे– ‘दाइ, यहाँ त मेनस्ट्रिममा काम गर्ने एक्टिभ पत्रकार त कोही देखिनँ नि।’ डायस्पोरा पत्रकारिताका भुक्तभोगी पोख्रेलले सहजै जवाफ दिए– भाइ यो चौतारी हो आउन–जान सबैलाई छुट छ। भाइ अलिक अलमलमा परेको थाहा पाएर नजिकै बसेका लेखक तथा स्तम्भकार लेखनाथ भण्डारीले प्रस्ट्याउने चेष्टा गरे– हेनुस् भाइ, हामी पत्रकारिताको धङधङी मेटाउन खोजिरहेका हौं। जस–जसलाई यो तलतलले पिरोल्छ, फुर्सद मिल्यो भने ऊ यस्ता जमघटमा आएर आफ्नो तृर्सना मेटाउँछ। त्यसैले यहाँ आउनका लागि कोही बाध्य छैन।

नेजा अध्यक्ष आङिछरिङ शेर्पाले छापा वा विद्यूतीय सञ्चारमाध्यम चल्नसक्ने गरी कहिँ–कतैबाट विज्ञापन नआउने र निजी लगानीमा अरूलाई पैसा दिएर काम लगाउन नसकिने तथा आफैंले पनि पर्याप्त समय खर्चन नसकेको यथार्थ बताइदिए पछि यहाँको पत्रकारिताबारे नयाँ पत्रकार भाइ छर्लङ्ग भएका थिए।
– पुण्य भण्डारी
(भण्डारी अमेरिकामा रहेका पत्रकार हुन्। नागरिकमा प्रकाशित यो ब्लग प्रवासी पत्रकारितामा सान्दर्भिक मानेर पुनः प्रकाशित गरिएको हो ।)