May 272013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
पारिजातका तिन दिदीबहिनी

पारिजातका तिन दिदीबहिनी

साहित्यकार पारिजातबारे उनकी बहिनी सुकन्या वाइबाको सँस्मरण
पारिजात दिदी र मेरो उमेरबीच कतिको फरक थियो, मलाई ठ्याक्कै थाहा छैन । बुबा मभन्दा दुई वर्ष जेठी भन्नुहुन्थ्यो उनलाई । दिदी सानैदेखि रोगी थिइन् । कहिले के, कहिले के भइरहने, सधैँजसो बिरामी । म भने हट्टाकट्टा थिएँ । खाना पनि धेरै खानुपर्ने । सानोसानो कुरामा पनि हाम्रो झगडा भइरहन्थ्यो केटाकेटीमा । कयौँपटक त मैले दिदीलाई टिपेर पछारेकी छु । बुबाले थाहा पाए हपारिहाल्नुहुन्थ्यो । बुबाकी प्यारी छोरी दिदी नै थिइन्, सबैभन्दा बढी माया उनैलाई गर्नुहुन्थ्यो । दिदी रोगी भएकाले पनि होला । जति बेला पनि ‘विष्णु’ भनेर बोलाइरहनु हुन्थ्यो । पारिजात दिदीको घरको नाम विष्णुकुमारी हो । उति बेलैदेखि म उनलाई ‘तिमी’ भनेर सम्बोधन गर्थें ।
हामीलाई लुगा सिलाउँदा बुबा दिदीको नाप लिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘सुकन्या, तैँले विष्णुको लुगा लगाए भइहाल्छ नि’ दिदी मभन्दा अग्ली भएकाले मलाई ठीक हुँदैनथ्यो । तर पनि बुबा दिदीका पुराना लुगा लगाउन भन्नुहुन्थ्यो । सानोमा दिदी अन्तर्मुखी स्वभावकी थिइन्, कम बोल्ने । तर, स्वाभिमानी थिइन्, कसैका अघि नझुक्ने । अनावश्यक आलोचना मन नपराउने । कतिपय मान्छे उनलाई ‘घमन्डी’ पनि भन्थे । युवावस्थामा पुग्दा स्वभावमा परिवर्तन आयो । खुब रमाइलो गर्न मन पराउन थालिन् । केही न केही भनेर म र कान्छी बहिनीलाई हँसाइरहन्थिन् । हामी पेट मिचीमिची हाँस्थ्यौँ । झमझम पानी परेर उघ्रिएको साँझ उनलाई अति नै मन पथ्र्यो । जुनेली रात साह्रै रमाइलो मान्थिन् । अनौठो स्वभाव थियो । रात्रि पिकनिक जाउँ भन्थिन् । दिदीको आग्रहमा एकपटक हामी राति ६–७ जना मिलेर बालाजु पिकनिक गएका छौँ । रमाइलो भएको थियो । हरिया डाँडा उनका मन पर्ने ठाउँ । पकौडा, रोटी, कोइरालाको अचार खुब रुचाउँथिन् । कहिलेकाहीँ छेउमै बसेर सिकाउँथिन्– ‘सुकन्या, यो तरकारी यसरी काट्नुपर्छ । आज यस्तो खाना पकाऊ, यो–यो मसला हाल ।’ जन्मेदेखि अन्त्यसम्मै म दिदीको साथमा रहेँ ।
दिदीको सहित्यप्रतिको रुचि बुबालाई पटक्कै मन परेको थिएन । उहाँ चाहनुहुन्थ्यो, ‘डाक्टर बनोस् ।’ पछि दिदी गुनासो गर्थिन्, ‘बुबा डाक्टर बनाउन चाहन्थे, म त बिरामी पो भएँ ।’ दिदीले लेखेको, गाएको, नाचेको बुबालाई पटक्कै मन पर्दैनथ्यो । दिदीले मदन पुरस्कार पाएपछि मात्रै बुबाले बुझ्नुभएछ, ‘विष्णुको रुचि मात्र होइन, ज्ञान पनि रहेछ साहित्यमा । ठीकै गरिछ ।’ त्यसपछि दिदीको साहित्यप्रेमप्रति बुबाको कुनै गुनासो रहेन । दिदी आफ्नो हरेक रचना सुरुमा मैलाई सुनाउँथिन् । ती रचनामा वरिपरिकै पात्र हुन्थे । म बुझिहाल्थेँ– कुन रचनाको पात्र को हो र त्यो सिर्जना कसरी फुर्‍यो भनेर । कहिलेकाहीँ पात्रका विषयमा सुझाव दिन्थेँ, सहज रूपमै लिन्थिन् । भएको एउटा भाइ बितेपछि बुबा बिरक्तिएर नेपाल आउनुभएको थियो । उहाँलाई पछ्याउँदै हामी पनि आयौँ । उहाँ दिदीको प्रगति देख्न चाहनुहुन्थ्यो । बुबालाई मन नपरेकै क्षेत्रमा भए पनि उनले त्यो गरेर देखाइन् ।
हामी दार्जिलिङमा जन्मियौँ । स्कुलसम्मको पढाइ उतै भयो । युवा छँदा दिदीका अघिपछि धेरै केटा झुम्मिन्थे । सलक्क परेको राम्रो जिउडाल थियो उनको । थुप्रैले लभलेटर पठाउँथे । ती लभलेटर पढ्दै हामी दुई बहिनी खुब हाँस्थ्यौँ । ‘तिमीलाई पाए आकाशको तारा झार्थें’ भनेर लेखेका हुन्थे । कोही सिंगै चिठी कवितामा लेखेर पठाउँथे । उमेर पनि त्यस्तै भएकाले होला, ती चिठी हेरेर हाँस्दै रमाइलो गथ्र्यौं । कत्ति चिठीलाई दिदी जवाफ पनि पठाउँथिन् । हामी रोमान्टिक शैलीमा केटाहरूलाई उल्लू बनाइरहेका हुन्थ्यौँ । दिदी साथीहरूको लभलेटर पनि लेखिदिन्थिन् । उनको लेखाइ राम्रो भएकाले साथीहरू आग्रह गर्थे ।
दिदीलाई मन पराउनेमध्ये धनवीर मुखिया एक थिए । दिदी पनि उनलाई मन पराउँथिन् । तर, उनीहरूबीच प्रेमालाप कहिल्यै भएन । दिदी धनवीरको कुरो गर्थिन्, ‘ऊ राम्रो छ, मलाई मन पर्छ ।’ फेरि भन्थिन्, ‘तर, ऊ नजिक आएको मलाई पटक्कै मन पर्दैन, रिस उठेर आउँछ ।’
धनवीरबाट बिहेको प्रस्ताव पनि आएको थियो तर दिदी मानिनन् । पत्रमार्फत ‘म रोगी छु, बिहे गर्दिनँ’ भनेर जवाफ पठाइन् । त्यसपछि हामी नेपाल आयौँ । दिदीलाई सानीआमा–ठूलीआमा सबैले बिहे गर्न निकै आग्रह गरे । यतिबेला दिदी राजी भइन् । धनवीरलाई ‘बिहे गरौँ’ भनेर पत्र लेखिन् । भेट्न दार्जिलिङ पुगिन् । तर, ढिला भइसकेछ । धनवीरको त छोरै जन्मिसकेछ यतिन्जेलमा । त्यसपछि बिहेको कुरो त्यसै हरायो । परिवारले पनि गरेन, दिदीले पनि ।
दार्जिलिङबाट नेपाल छिर्दा दिदीको एसएलसी बिग्रिएको थियो । पछि यतैबाट पास गरिन् । सानैदेखि चुरोट खाने बानी थियो उनको । सुरुसुरुमा चियापत्तीलाई कागजमा बेरेर सल्काउँथिन् । पछि विस्तारै सुर्ती बेरेर तान्न थालिन् । स्कुल जाने बेला तानेर जान्थिन्, अनि फर्कनेबित्तिकै फेरि तानिहाल्थिन् । यो कुरा बुबालाई थाहा भयो । गाली गर्नुभयो । बुबा आफैँ पनि चुरोट खानुहुन्थ्यो । सोच्नुभएछ– ‘मैले छोड्यो भने यसले पनि छोड्ली ।’ छोड्नु पनि भयो । तर, दिदीले कहिल्यै छोडिनन् । अन्तिम अवस्थासम्म पनि तानिरहिन् । रोगले अचाक्ली पारेर आइसियुमा पुर्‍याएपछि मात्रै हो, उनको हातबाट चुरोट टुटेको । एउटा चुरोट तीन टुक्रा पारेर पटकपटक सल्काउँथिन् ।
दिदी कोर्सका किताब खासै पढ्दैनथिन् । अन्य साहित्यिक किताब नै बढी पढिरहन्थिन् । उति बेला हामी आइ. ए.पढ्थ्यौँ । रिजल्ट भयो । बुबालाई दिदी पास हुने विश्वास थिएन । भन्नहुन्थ्यो– ‘पढेकी भए पो पास होस् ।’ एक जना दाजुलाई रिजल्ट बुझ्न पठाउनुभयो । दुवै पास भएको खबर आयो । विश्वास नलागेर बुबाले भन्नुभयो, ‘होइन होला, जा–जा तीनचोटि हेरेर आइज, यस्तो हुनै सक्दैन ।’

दिदीको स्वभाव आर्मीको जस्तो थियो । खाने, सुत्ने, सबै काममा । लेख्ने, पढ्ने भन्दैमा रातभरि नसुती बस्ने कहिल्यै गरिनन् । कहिलेकाहीँ भेट्न आउनेहरू घन्टौँ कुरा गरेर बस्थे । दिदीको खाना खाने समय हुन्थ्यो, मान्छे जाँदैनथे । जानुस् भन्न पनि नमिल्ने । दिदी भन्थिन्, ‘ल मेरो खाना खाने समय भयो, यहीँ ल्याऊ । यहीँ बसेर खान्छु ।’ कुरा गर्दै खाँदै गर्थिन् । पछि किन त्यसो गरेको भनेर सोधे भन्थिन्, ‘उनीहरू जाँदैनन् भनेर आफ्नो स्वास्थ्य बिगार्नु कहाँ हुन्छ त ? हरेक कुरा समयमा गर्नुपर्छ ।’
रोगले गाँजेसँगै दिदीमा निराशा बढ्दै गएको थियो । निराशावादी कुरा गर्न थालेकी थिइन् । भन्थिन्, ‘यो जिउ नदुखेको क्षण कस्तो होला ? सबैतिर कट्कटी खान्छ, कसरी बाँच्नु ?’ बिस्तारै रक्सी खान थालिन् । रक्सीले दुखाइ कम गर्दो रहेछ भन्थिन् । सात चौथाइसम्म खान सक्ने बताउँथिन् । पछि दुई बहिनी सँगै बसेर खान थाल्यौँ । रक्सीको नशाले पीडा कम भएको महसुस गराउँदो रहेछ उनलाई ।
साहित्यसँगै दिदी राजनीतिमा पनि लागिन् । अखिल नेपाल महिला संघको अध्यक्ष भएपछि उनमा निराशा हराउँदै गयो । आशावादी कुरा गर्न थालिन् । भन्थिन्, ‘मलाई धेरै बाँच्न मन छ ।’ सायद जिम्मेवारीले पनि होला । मान्छेसँग भेटघाट बढ्न थाल्यो । ओछ्यानमा परेर फोनको भरमा संगठन चलाउँथिन् । सक्दासम्म राल्फाको अभियानमा देशका विभिन्न भागमा गइन्, दार्जिलिङसम्म पनि पुगिन् । अनेम संघको अध्यक्ष हुँदा दिदीले नेपालमा हुने सुन्दरी प्रतियोगिता घरैबाट फोन गरेर कयौँपटक रोकिदिएकी थिइन् ।
मेरो आँट, हिम्मत, साहस जेजति छ, सबै पारिजात दिदी नै हुन् । जे गरेँ, उनैको हौसलाले गरेँ । भन्थिन्, ‘जीवनमा सधैँ आँटिलो हुनुपर्छ ।’ दिदीकै सल्लाहमा स्कुल खोलेँ । उनैले जुराएको नाम हो– अमृत स्कुल । आमाको नाम पनि अमृत थियो । साथीभाइ पनि कसैको नाम जुराउनुपर्दा दिदीलाई सम्झन्थेँ । हामी दिदीबहिनीभन्दा पनि असल साथी बढी थियौँ । आफ्ना योजना मात्र होइन, बिहान उठेर कसले कस्तो सपना देख्यो, सेयर गथ्र्यौं । एक दिन दिदीले भनिन्, ‘म मरेँ भने तँ के गर्छेस् ?’ झट्टै जवाफ दिएँ, ‘आत्महत्या गर्छु, तिमीबिना बाँच्नै सक्दिनँ ।’ उनले भनिन्, ‘कस्ती लाछी रहिछस्, म त तँ नभए तेरो पनि सबै काम गर्छु । हिम्मत हुनुपर्छ ।’ आज उल्टो भएको छ, मैले सबै सम्हाल्न परेको छ । लाग्थ्यो– साँच्चै दिदीविना म केही गर्नै सक्दिनँ । त्यस बेला मेरा हातखुट्टा दिदीको मस्तिष्कबाट चल्थे । उनको आदेशले सबै काम गर्थें ।
नजिकबाट चिन्ने कतिले भन्छन्, ‘सुकन्या नभएकी भए पारिजात पनि हुँदैनथिन् । विष्णु वाइबालाई पारिजात बनाउने सुकन्या हो ।’ तर, यथार्थमा दिदी नभएकी भए म यो ठाउँसम्म पुग्दैनथेँ । पारिजात मेरा लागि क्यालिवर भएकी रोगी दिदी हुन् । उनका लागि जे गर्न सक्थेँ, सबै गरेँ । उनी नुहाउन बथरुम पस्दा म बाहिर कुरेर बस्थेँ ।
दिदीको साहित्यिक पाटो जति चर्चामा आयो, सामाजिक काम ओझेल परेजस्तो मलाई लाग्छ । ती पनि बाहिर आउनुपर्छ । कयौँपटक नेपालका जेलमा गएर बन्दीका केटाकेटी बाहिर ल्याउने काम गरिन् उनले । अरूकै सहारामा भए पनि विभिन्न ठाउँ जान्थिन् । ०४६ सालपछि ऋषिकेश शाहको अध्यक्षतामा मानवअधिकार संगठन बन्यो । उपाध्यक्ष दिदी थिइन् । आस्थाका बन्दीहरूलाई भेट्न जेल गइरहन्थिन् । उनीहरूका अधिकारबारे आवाज उठाइन् । बन्दीका छोराछोरीबारे उनको फराकिलो सोच थियो । आफैँ हिँड्न सकेकी भए कति धेरै गर्दी हुन्, ती निमुखाहरूका लागि ।
मेरा लागि मेरो जीवनको सर्वस्व नै पारिजात दिदी हुन् । आफूले बिहे नगर्ने भएपछि उनले मलाई बिहे गर्न भनिन् । उनैको प्रस्तावमा निर्मल लामासँग मेरो बिहे भयो । यति बेला दिदी मसँग छैनन् । उनको तस्बिरमुनि बसेर काम गर्छु । लाग्छ– दिदीको आत्माले मलाई मार्गदर्शन गराइरहेछ । आज मैले जे गर्न सकेकी छु, सबै दिदीको प्रेरणा र आदर्शले हो । आफ्नो बुताले त के गर्न सक्थेँ र ? आजका दिनमा पनि जति पारिजात दिदीलाई सम्झन्छु, त्यति त आफ्ना स्वर्गीय जीवनसाथी निर्मललाई पनि सम्झन्नँ । आज पनि म अधुरो छु, केही छैन मसँगजस्तो लाग्छ । दिदी भएकी भए सबै कुरा हुन्थे । जीवन पूर्ण हुन्थ्यो ।
– चमिना भट्टराई,सौर्य