Jul 272017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो ।

एकाध वर्षपछि उसले असलियत बुझ्दैछ । ती धनी बाबुका छोराछोरी दीपकसँग नजिकिएका, रत्तिएका त उसको साथमा भैरहने जडीबुटीले पो रहेछ !

“मान्छे एक जूनी जिउँछ । मस्ती गर्नुपर्छ”, दीपकले भन्यो ।

त्यस दिन म सिद्धार्थलाई भेट्न घरमै गएको थिएँ । पहिले दीपक फेला प‍र्‍यो । दीपकले अंकल भन्दै रिमोट हस्तान्तरण गर्न चाह्यो, टी.भी. को ।

उसको हात काँपिरहेको थियो । टिर्रर दीपकको मोवाइलको घण्टी बज्यो । घण्टी बज्दै गर्दा नाडी घडीमा हे‍र्‍यो उसले । पर्खिबसेको घण्टी हुनुपर्छ यो । अमूक ठाउँमा भेट्ने उसको संवाद मैले बुझें तर भेउ पाइन । ऊ हस्याङफस्याङ गर्दै मेरो नजिकबाट उम्कन खोजे जस्तो ग‍र्‍यो तर शब्दमा केही भनेन ।

“काम भए जाऊ । म बुबालाई टि.भी.सँगै पर्खी बसौंला”, मैले उसलाई अनुमतिपूर्वक  भनेँ ।

ऊ बतास झैँ उड्यो ।

दीपककी आमाले चिया ल्याइन् । दीपक गएको ढोकातिर हेरेर धारे हात गरिन् र नाक खुम्च्याइन् ।

धेरै कुर्नु परेन । सिद्धार्थ आइपुग्यो ।

“मैले यत्रो दुःख गरेँ । समयलाई युरोपमै बूढो बनाएँ । छोराछोरीको भविष्य बन्ला भनेर यो गरेँ ।” बोल्दाबोल्दै उसको गला अवरुद्ध भयो । कोठाको हावा बाक्लो लाग्यो मलाई, लपक्क पाकेको दाल जस्तो । “छोराछोरीले गतिलो लाइन लिएनन्”, सिद्धार्थले सुस्केरा मै भन्यो ।

सिद्धार्थले उसको परिवारका बारेमा फ्रेममा सजाएको तस्वीर सम्झें मैले । आफूले युरोपमै जरा गाडेर बसेपछि छोराछोरी बिजुली झैं चम्किलो बन्छन् भनी ठोकुवा गरेको थियो उसले । एक पटक उसले मलाई भनेको थियो– ‘न भाषा, न संस्कृति, न समाज । सधैंको नियास्रो— काम, काम, काम । आठ दस वर्षमा जो कमाइयो, मेरो हैसियतमा काफी छ । कति कमाएर खुशी हुने ? एउटा हदमा चित्त बुझाउनुपर्छ । मलाई त आफ्नै ठाउँ रमाइलो लाग्छ तर सन्तानको सुनौलो भविष्यका लागि यतै बस्ने निधो गरेँ ।’

अहिले उसलाई थकथकी हुँदैछ । त्यही प्रकट गर्दैछ ।

“स्कूल जान्न रे । गँजडी केटाहरूको सङ्गत रहेछ”, दीपककी आमाले सुस्तरी जोडिन् ।

“अनुशासन पटक्कै भएन”, सिद्धार्थले तल्लो ओंठ फिस्स पा‍र्‍यो ।

“खै, कुन्नि कताको फिरङ्गीसँग लहसिएको छ भन्ने सुनिन्छ । पढ्ने बेलामा खै के चाला हो यो !” आमाचाहिंले पुनः थपिन् ।

छोराबारे एकपछि अर्को उजुरी सुनिरहेँ म ।

“युरोपमा हुर्केका केटाकेटी । आमाबाबुले जे भन्यो त्यसै त के गर्छन् र ?” मैले कुरालाई हलुका बनाउने प्रयास गरेँ ।

‘हाम्रो कुरा कम, अन्यत्रको छाप बढी भयो’ भन्ने गुनासो गर्न सिद्धार्थले छाडेन– “लाइन ठीक भएन । हुनसक्छ, आफूले पनि युरोपेली पाराले सिकाउन जानिएन कि ! म त नेपाल फर्कुं कि जस्तो लाग्दैछ ।”

सिद्धार्थको कुराले मलाई झट्का लाग्यो ।

“राम्रो मुखले बिस्तारै संझाउँदा हुन्थ्यो कि ?” मसिनो स्वरमा मैले भनेँ ।

“कहाँ !!” आमाले भनिन्– “तपाईंहरु धेरै किचकिच गर्नुहुन्छ भने अब म आफ्नै सुरले बस्न सक्छु । अठार वर्ष पनि नाघेँ, पो भन्छ संझाउँदा त ।”

सिद्धार्थकोमा मन बिसाउन पुगेको थिएँ म तर उसकै मनमा हलचल रहेछ ।

(यो ‘पथिक प्रवासन’ उपन्यासबाट लिइएको हो ।)