Sep 122014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपाल पत्रकार महासँघ युरोप शाखाको दोस्रो अधिवेसन बेल्जियमको आन्त्रोपेन (एन्टवर्प) सहरमा हुँदैछ । २ वर्षअघि पेरिसमा भएको पहिलो अधिवेसनले युरोप शाखा स्थापना गर्दैमा विवादमुक्त बन्न सकेको थिएन । नेपाली पत्रकारहरूको छाता संगठनको युरोपमा शाखा खोले पनि त्यसले अपेक्षित काम गर्न सकेन । तैपनि अहिले फेरी नयाँ नेतृत्वका लागि हानथाप हुँदैछ । विदा हुन लागेको कमिटीका प्रायःजसो सबैले आफै अध्यक्ष हुन पाए हुन्थ्यो भन्ने मनसुबा प्रकट गरेका छन् । यसरी सबैजसो अध्यक्षका उमेदवार छन् । जसमध्ये धेरैजसो ‘फेसबुक’ का निम्ति रिपोर्टीङ गर्छन् ।

FNJउसो त युरोपमा पूर्णकालिन नेपाली पत्रकार झण्डै छैनन् भन्दा पनि हुन्छ । विदेशमा रहेर पूर्णकालिन पत्रकारिता गर्ने खालको शिक्षा पाएका पनि एकाध छन् । नेपाली पाठकको निम्ति काम गरेर पूर्णकालिन पत्रकारिता गर्न आर्थिक रूपमा संभव नै छैन । जसले पत्रकारितासँग नाता जोडीरहेका छन् तिनले आफ्नो लगाव वा शौखका कारण गरिरहेका छन् । पेशा कै रूपमा पत्रकारिता गर्ने भाग्यमानी कोही छैन । पूर्णकालिन पत्रकारिता नभए पनि अल्पकालिन वा फुर्सदको समयलाई सदुपयोग गर्नेहरू नै युरोपमा “नेपाली पत्रकार” हुन् । तर त्यसरी पत्रकारितामा आबद्ध भएकाहरूमध्ये पनि युरोप शाखामा अत्यन्त कम समाहित छन् । धेरैजसो धेरै वर्षअघि पत्रकारिता गरेको ‘गोरूबेचुवा नाता’ देखाउने वा आफू सम्मिलित कार्यक्रमहरू मात्रै यताउता रिपोर्टीङ गरेर आत्मसन्तुष्टी लिनेहरू छन् ।

दुई वर्षअघि पेरिसमा पहिलो अधिवेसन गरेपछि तदर्थ समितिका संयोजक
फ्रान्सका ददी सापकोटाले अध्यक्ष हुने रहर पालेका थिए । केही काम गरूँ भन्ने उनको इच्छा र योजना पनि थियो । तदर्थ समितिको संयोजकत्व गरी पहिलो अधिवेसन सम्पन्न गरेको अवस्थामा उनैलाई अध्यक्ष दिँदा राम्रै पनि हुन्थ्यो, तर सधैँ चर्को रूपमा प्रस्तुत भैरहने भन्ने धेरैको गुनासो हुँदा उनका मित्रभन्दा मन नपराउनेहरू ज्यादा बने । जसले गर्दा महासँघका तत्कालिन अध्यक्ष शिब गाउँलेले अनेक कोशीश गर्दा पनि सापकोटाको नाममा सहमति बन्न सकेन ।

त्यतिखेर, बेल्जियमका ओम शर्माले पनि अध्यक्ष बन्ने इच्छा राखेका थिए, तर राजनीतिक आबद्धता देखाउँदै सापकोटा र गाउँलेले शर्मालाई अध्यक्ष बनाउन मानेनन् । सदस्य बन्न पाउने तर अध्यक्ष बन्न नपाउने भन्ने विरधाभाषपूर्ण तर्क गाउँलेले निकाले ।

अन्ततः बेल्जियमका महेश थापाको अध्यक्षतामा शाखा गठन भयो र गाउँलेले महासँघको विधानमा कतै नभएको प्रमुख संरक्षक पद पनि सृजना गरे ।

अहिले नेपालका पत्रकार नेतालाई युरोप भ्रमणको मेसो मिलेको छ भने यहाँका लाई पद चाहिएको छ । यी पद खोज्नेहरू मध्ये धेरैजसो ‘अलपत्रकार’ छन् । अध्यक्षको लागि दावी गर्नेहरूमा बेल्जियमका ओम शर्मा र केजीन राई, नेदरल्याण्डस् का पुष्प बरूवाल, डेनमार्कका प्रकाश ढकाल र पोर्चुगलका लक्ष्मण देवकोटा छन् ।

युरोपबासी नेपाली पत्रकारहरूको हकहितका निम्ति भनि खोलिएको युरोप शाखा ‘सुतुरमुर्गी’ जस्तो छ । जुन उड्न सक्दैन, ढ्याप ढ्याप मात्र गर्छ ।
यहाँबाट पठाइएका पार्षदहरूले महासँघको केन्द्रीय अधिवेसनमा मतदान गर्न समेत पाउँदैनन्, केवल तिनलाई नेता मान्ने मात्र हो । महासँघले युरोप लगायत वैदेशिक शाखा खोलेर सँस्था विस्तार मात्रै गरेको छ, तर विदेशबाट आबद्ध पत्रकारहरूको पक्षमा सिन्को भाँच्ने सामर्थ्य छैन । यस्तै वैदेशिक अधिवेसन हुँदा “आइदिने र खातिरदारी स्वीकार्ने” हो । विदेशको वास्तविकता र आवस्यकता अर्कै छ । नेपाली समुदायमा भने खादा ओढ्ने र ओढाउनेहरूलाई स्वाद मिलेको छ ।