एसएलसीका सहभागीमा मोहन वैद्यकी ५८ वर्षिय श्रीमती पनि

बिहीबार सुरु भएको एसएलसी परीक्षामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य पनि सहभागी हुँदैछिन्। ५८ वर्षीया सुष्मा विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन्।

slcसुष्माले ५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुआत गरेकी थिइन्। विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको हो। विद्यालय भर्ना हुनुअघि सुष्मा सामान्य लेखपढ गर्न मात्र सक्थिन्।

उनलाई पढाउन घरमा छोरी, ज्वाइँ, पति तथा अन्य आफन्तले सहयोग गरिरहेका छन्। ‘तीनवटी छोरीले स्नातकोत्तर पढिरहेका छन्। म भने परिवारकै सबैभन्दा कान्छो सदस्य बनेर एसएलसी दिन लागेकी छु’, सुष्माले ठट्टा गरिन्।

उनलाई आठवटा विषयमध्ये सबैभन्दा अप्ठ्यारो नेपाली लाग्छ। अधिकांश विद्यार्थीले कठिन अनुभव गर्ने अंग्रेजी, गणितलगायतका विषय उनलाई सजिलो लाग्छ। ‘नेपालीमा धेरै पढ्नुपर्ने र लेख्नु पनि धेरै नै पर्ने। बुढेसकालमा हात पनि गल्दो रहेछ। त्यही भएर नेपाली साह्रै गाह्रो लाग्छ’, उनले भनिन् । उनको एस.एल.सी. यात्राबारे अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ ।

उनी पढेको प्रेरणा महिला विद्यालयबाट यसपटक ३३ जनाले एसएलसी परीक्षा दिँदैछन्। उनीहरू सबैको परीक्षा केन्द्र टोखामा रहेको मनोहर उच्च माध्यमिक विद्यालयमा परेको छ। प्रेरणाजस्तै काठमाडौं तथा भक्तपुरमा रहेका अन्य महिला विद्यालयबाट पनि थुप्रै महिलाले यस वर्ष एसएलसी परीक्षा दिँदैछन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ जनाले परीक्षा फाराम भरेका छन्। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ तथा एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सय ८३ जनाले फाराम भरेका छन्।

मुलुकभर एक हजार आठ सय ६२ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा थोरै परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा एक-एक वटा छन्।