अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

गैर आवासिय नेपाली संघ अमेरिकाको (२०१७-२०१९ कार्यावधि) चुनाव अगष्ट १ र १२ मा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ मा अनलाईन निर्वाचन हुने जनाएको छ । प्रकासित सुचना अनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ । लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन हुने मिति तय भएको हो ।
एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ । एनआरएन अमेरिकाको २५ स्टेट च्याप्टरको पनि चुनाव सोही दिन निर्वाचन हुनेछ ।

चुनावी अभियानका क्रममा अमेरिकाका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा केशव पौडेल, गौरी जोशी, रविना थापा, राम सी पोख्रेल र कृष्ण पोख्रेल चुनावी मैदानमा होमिएका छन । सदस्यता संख्याका आधारमा अमेरिकाबाट एक सय ७० जना केन्द्रिय डेलिकेटस् जान पाउने भएकाले केन्द्रिय निर्वाचनमा उम्मेदवार हुने प्रमुख पदका दावेदारहरुको नजर पनि अमेरिकी चुनावमा छ ।  एनआरएनको ७६ शाखामध्ये अमेरिकी शाखा सबै भन्दा बढी सदस्य भएको शाखा हो ।

च्याप्टर र अमेरिकाबाट सदस्यहरु संख्याका आधारमा पाइने आइसीसी सदस्यमध्य ८ पदको लागि पनि एकै साथ निर्वाचन हुनेछ ।
यो निर्वाचनबाट सबै तहका गरि २०० देखि ३०० सम्म विभिन्न उम्मेदवारहरुको चयन हुनेछन । निर्वाचनका लागि उम्मेदवार हुनका लागि अध्यक्ष र आइसीसी सदस्यहरुको हकमा बिधानत एनसीसी या आइसीसीको कार्यसमितिमा एक कार्यकाल काम गरेको अनिवार्य हुनुपर्ने छ ।