पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ थुप्रिन्छन्, युरोपेली रेसिडेन्सी पर्मिट पाउने आशामा । तर नेपालीहरको जहाँ जहाँ जमघट धेरै हुन्छ, विकृतिहरू शुरू भैहाल्छ ।

सामान्यतः नेपालीहरूलाई  इमान्दारको रुपमा हेरिने भए पनि विगत केही समययताका घटनाले नेपालीहरुको साख गिरेको छ ।
खेतीमा काम गराउने एजेन्टको रुपमा कम्पनी खोलेका नेपालीहरुमध्ये दुई जनालाई गैरकानुनी काम गरेको भन्दै पोर्चुगल अदालतमा मुद्दा चलेको केहि समय नबित्दै सोसल नम्बर काण्डमा फेरि नेपालीहरु मुछिएका छन् ।

पोर्चुगलको खेतीमा काम गर्ने नेपाली तथा विदेशी कम्पनीहरुमा कार्यरत मजदुरहरुमाथि श्रम शोषण भएको उजुरी परेको आधारमा पोर्चुगलको अध्यागमन विभागले सर्च अपरेशन नै शुरू गर्यो ।

पोर्चुगलमा नेपालीहरु सन् नब्बेको दशकदेखि बसोबास गर्दै आएका छन्। आधिकारिक तथ्याङ्क नभए पनि करिब २० हजारको हाराहारीमा नेपालीहरु पोर्चुगलमा रहेको अनुमान गरिन्छ । जुन पोर्चुगल जस्तो सानो देशको लागि निकै बाक्लो मान्नुपर्छ । युरोपका अन्य देशहरुमा भन्दा पोर्चुगलमा स्थायी अनुमतिपत्र छिटो पाइने भएकोले आप्रबासीहरुको पहिलो रोजाई पोर्चुगल बनेको छ। युरोपका अन्य देशहरुमा (जस्तै- बेलायत, डेनमार्क, नर्बे, बेल्जियम, फिनल्याण्ड, जर्मनी) आएका विद्यार्थी हुन् वा ति धनी युरोपेली मुलुकमा काम गरेका तर रेसीडेन्सी पेपर नपाएका आप्रवासी हुन्, सबैको गन्तव्य हो पोर्चुगल । यी टाठाबाठा नेपालीहरूमध्ये पैसा कमाउन केहीले काम गर्छन् भने केही अरूलाई ठग्छन् ।

कसरी ठगिन्छन् नेपालीहरु ?

गल्लीगल्लीमा नेपालीहरु भेटिन्छन्। सही सूचनाको अभावमा नयाँ व्यक्ति ठगहरुको चंगुलमा फस्ने गर्छ। कतिपय सूचनाहरू इन्टरनेटमै पाइने हुँदँहुँदै हल्लाको पछाडि लाग्नु अर्को कमजोरी हो। थरिथरिका ठगीहरूबारे यहाँ चर्चा गरिएको छ-
ठगी नम्बर (१)- पोर्चुगल आएपछि कार्डको प्रकृयाबारे अनभिज्ञ नयाँ नेपालीहरु स्वयं नेपालीबाटै ठगिन्छन्। सुरुमा यहाँको ‘फिनान्स नम्बर’ निकाल्नुपर्छ, त्यसकोलागि पोर्चुगलको पासपोर्ट भएको व्यक्ति चाहिन्छ। पासपोर्ट भएका केही नेपालीहरुले फिनान्स भरेबापत एक सय युरो समेत लिने गरेका छन्। जबकी ययार्थमा फिनान्स नम्बर भरेको पैसा तिर्नुपर्दैन। सहयोग गरेबापत नेपालीले सुरुमै ठग्ने बाटो हो फिनान्स नम्बर।
ठगी नम्बर (२)-  ‘सोसल सेगुरान्स नम्बर’। यो नम्बर लिएपछि मात्र पोर्चुगिज सरकारलाई काम गरेपछिको ट्याक्स तिर्ने बाटो खुल्छ। सामान्यतया काम गरेपछि प्रकृयागत रुपमा यो नम्बर आउँछ। यसको लागि कम्तीमा पनि तीन महिना लाग्छ। तर नेपालीहरु यो नम्बर छिटो ल्याउने गैरकानुनी बाटोमा लाग्छन्। साथीभाइको लहैलहैमा लागेर हतार गरेर सोसल सेगुरान्स नम्बर निकाल्ने गर्छन्। यो नम्बर निकाल्नकोलागि नेपालीहरु चोकचोकमा भेटिन्छन्। नम्बर निकालिदिन्छु भनी मोटो रकम लिएर फरार भएका प्रशस्त उदाहरण छन् ।
ठगी नम्बर (३)- पैसा दिए काम ।  काम लगाइदिने सर्तमा अग्रिम रकम लिनेहरु पनि छन्। करारमा काम लगाइदिने सर्तमा नेपालीहरुले रकम लिने गर्छन् । तीनचार वर्ष अघि यस्ता गुनासाहरु प्रशस्तै सुनिन्थे तर अहिले भने केही कम भएको छ। भर्खरै पोर्चुगल आएकाहरुलाई राम्रो काम लगाइदिने सर्तमा पैसा लिने तर कामचाहिँ नलगाइदिने प्रचलन पनि उत्तिकै छ।
ठगी नम्बर (४)-  खेतीमा काम गर्नेहरु पनि ठगिन्छन्। पोर्चुगलको स्थायी बसोबास पत्र बन्ने आशमा नेपालीहरुले खोलेका खेती कम्पनीहरुमा काम गर्नेहरु यस्तो वर्गमा पर्छन्। करार पत्रमा धेरै तलब उल्लेख गरिएको हुन्छ। उनीहरुले न्युनतम मापदण्डअनुसार सरकारलाई कर तिर्ने सर्त मानिरहेका हुन्छन् तर काम गरे बापतको पैसा भने थोरै लिइरहेका हुन्छन्। यस्ता कामदार र कम्पनीवाला बीच मौखिक सम्झौता हुने गर्छ। कागजी रुपमा धेरै तलब देखिने तर खासमा थोरै तलब हुने। कामदारलाई कर जाने र कार्ड छिटो बन्ने आश हुन्छ। किनकी पोर्चुगल आउने भनेकै कागज बनाउन हो । उता, कम्पनीवालाहरुलाई भने सस्तो कामदार मिल्छ । खेतीमा सामान्य तथा घण्टाको आधारमा ज्याला भुक्तान गरिन्छ। कुनै कम्पनीमा कामदारले टिपेको कृषि उत्पादनहरुको तौलको आधारमा ज्याला दिने गरिन्छ। कर्मचारीहरुको सम्पर्क सिधै मालिकहरुसँग हुँदैन। त्यसैले बीचमा मोटो कमिसन खाने एजेन्टहरु हुन्छन्। उनीहरुसँग श्रम-सम्झौता गरेर काममा जानुपर्ने हुन्छ। यसरी काममा जाँदा कामदारहरु सोझै मारमा पर्ने गरेका छन्। भाषाको अनभिज्ञताका कारण कामदारहरुले कमसल कामको सम्झौता-पत्रमा समेत हस्ताक्षर गर्ने गरेका छन्।