ब्रसेल्समा नेपाली स्कुल लोकप्रीय बन्दै

पश्चिमा देशहरूमा समेत नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा बस्ने अभिभावकहरूले आफ्ना नानीहरूलाई कसरी आफ्नो भाषासंस्कृतिसँग अभीन्न राख्ने चासो र प्रयत्न बढेको छ । फलतः नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू धेरै देशमा भएका छन्। यीनै प्रयासहरूको श्रृंखलामा कतिपय ठाउँहरूमा नेपाली पाठशाला खुलेर पनि नियमित हुन सकेका छैनन् । कतिपय ठाउँहरूमा सफलताका कथाहरू बुनिंदै छन् ।

ब्रसेल्स बाल केन्द्रका शैक्षिक र व्यवस्थापन सहयोगीहरूसँग राजदूत थापा दम्पत्ति

बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली स्कुल लोकप्रीय बन्दै गैरहेको छ । यहाँको स्कुलले दोस्रो वर्ष पुरा गर्दा विद्यार्थीहरूको संख्या बढ्दो छ भने नेपाली अभिभावकहरूको निम्ति पनि ‘मिटिङ प्वाइन्ट’ बन्दै गएको छ । ३२ जना विद्यार्थीहरूबाट शुरू गरिएको सो बाल केन्द्रमा हाल ३५ विद्यार्थी नियमित रहेका केन्द्रका सहयोगी हरी श्रेष्ठले इन्फोमालालाई बताउनु भयो ।

यसै क्रममा ब्रसेल्सको आन्दरलेखमा संचालित ‘नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र’ ले मार्च १७ शनिवार दोस्रो वार्षिकोत्सव धुमधामका साथ मनायो । कार्यक्रममा नेपाली मूलका बालबालिकाहरूले साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए ।

कार्यक्रममा भाग लिंदै ब्रसेल्सस्थित युरोपियन युनियन र बेनेलक्सका नेपाली राजदूत लोकबहादुर थापाले भाषासंस्कृति संरक्षणको महत्वबारे व्यक्तिगत अनुभव सुनाउँदै चुनौतिहरू पार गर्न हौसला दिएका थिए ।

कार्यक्रममा बाल साँस्कृतिक केन्द्रका शैक्षिक सहयोगीहरू एदीना केसी (नृत्य प्रशिक्षिका), मन्जू भूषाल, शुशीला रोका, प्रकृति श्रेष्ठ र दीपक भण्डारीलाई सम्मानित गरिएको थियो ।

  • Post category:Blogs