अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

कोस्टारिकाको प्रहरीले बुधबार २६ नेपालीहरूसहित ५१ जनालाई अवैध आप्रवासनको आरोपमा प्रक्राउ गरेको छ । एक ट्रकमा यात्रा गरिरहेका २६ नेपालीसहित ५१ जनालाई जाको शहर नजिकैबाट पक्राउ गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

nepali caught in costarica
Photo-MSP

ट्रकमा यात्रा गर्नेहरूमा २६ नेपालीसहित ९ जना बंगलादेशी, ४ जना इरिट्रिया, ९ जना सोमालियाली, २ जना इराकी र १ जना पाकिस्तानी रहेको बताइएको छ । पक्राउ पर्ने सबै ५१ जनासँग कुनै पनि कानुनी कागजात नरहेको अधिकारीहरुले बताएका छन् । उनीहरूसहित ट्रक चालकसहित ३ कोस्टारियाका नागरिकलाई समेत पक्राउ गरिएको छ भने उनीहरूलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

समाचारमा जनाइए अनुसार ती सबै अमेरिकामा अवैध रूपमा प्रवेश गर्ने तयारीमा रहेका थिए । पक्राउ गरिएका सबैलाई अध्यागमन कार्यालयमा लगिएको समाचारमा उल्लेख छ । उनीहरूविरूद्ध कोस्टारिकाको कानुनअनुसार मुद्धा चलाइने र दोषी पाइएमा उनीहरूलाई २ देखि ६ वर्षसम्म जेल सजाय हुन सक्ने समेत बताइएको छ ।

समाचारमा जनाइए अनुसार पक्राउ परेका मानिसहरू पहिले इक्वेडरमा विमानमार्फत आएको र त्यहाँबाट जमिनको बाटो हुँदै अमेरिका जाने सुरमा रहेका थिए ।