‘नेपाल सहायता सम्मेलन’ को लागि ६५ मुलुक आमन्त्रित

आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनको मिति नजिकिदै गर्दा हालसम्म ६५ दातृ मुलुक तथा निकायहरुमा निम्तो पठाइएको छ । अर्थ मन्त्रालयका अनुसार पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरु समक्ष समेत निम्तो पठाइसकिएको छ ।

nepal-helpसम्मेलनको तयारीको क्रममा सम्मेलनको संयोजक रहेका अर्थमन्त्री डा. रामशरण महतले भारत, चीनका राजदूत लगायत सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका राजदूतहरु समक्ष भेटघाट तथा छलफल गरिसकेका छन् ।

नेपालमा रहेका स्थानीय विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरु तथा द्विपक्षीय दातामुलुकहरु समक्ष दुईपटक विशेष वैठकहरु भैसकेका छन भने उनीहरुसँग थुप्रै अनौपचारिक बैठकहरु समेत सम्पन्न भैसकेका छन । हरेक बेठकहरुमा अर्थमन्त्री तथा सम्मेलन संयोजक डा महतले बहुपक्षीय दातृ निकाय तथा दाता मुलुकहरुबाट उच्च नेतृत्वको सहभागिताका लागि आग्रह गरेका छन् ।

नेपालमा गत वैशाख १२ गते गएको भूकम्पले पु-याएको धनजनको क्षतिप्रति सहानभूतिशील बनेका दाताहरुले सोही अनुसारको सहभागिताको आश्वासन दिएका छन ।

नेपालको पुनर्निर्माणका लागि ५ देखि १० खर्ब रुपैयाँ सम्म पुँजीको आवश्यकता रहेको प्रारम्भिक अनुमान रहेको छ भने आगामी पाँच बर्षभित्रमा सरकारले विनाश भएका सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । पीडीएनए आइसकेपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने वास्तविक रकमबारे स्पष्ट जानकारी हुनेछ ।

जापानले थप सहयोगको घोषणा गर्ने

सम्मेलन सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच अर्थमन्त्रालयमा छलफल भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्यांकन प्रतिवेदन (पीडीएनए) अर्कोहप्ता सम्ममा तयार हुने जानकारी दिदै उनले शुभेच्छुक मित्रराष्ट्रका हैसियतले जापान सरकारबाट नेपालले ठूलो अपेक्षा राखेको बताए ।  जापानी राजदूत ओगावाले आगामी असार १० गते हुने सम्मेलनकै क्रममा जापानले थप सहयोगको घोषणा गर्ने जानकारी दिए ।