मेस्सीको विवाहको भव्य तयारी

अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा लिएका छन् ।

अर्जेन्टिनामा जन्मिएका मेस्सीले आफ्नो बाल्यकालदेखिको मिल्ने साथी तथा प्रेमिका एन्टोनेला रोकुजोसँग विवाह गर्न लागेका हुन् । ४ ५ बर्षको उमेरदेखि नै एकअर्काको मिल्ने साथी रहेका यी दुई जोडीले मेस्सी हुर्किएको ठाउँ अर्जेन्टिनाको रोसारियोमा शुक्रबार विवाह गर्न लागेका हुन् ।

२९ बर्षीय रोकुजोले विवाहमा लगाउने पहिरन सबै बार्सिलोनाबाट ल्याइने बताइएको छ । उनले लगाउने पहिरन स्पेनिस डिजाइन रोसा क्लाराले गर्नेछिन् । उनले स्पेनि महारानी लेटिजिया लगायत अन्य चर्चित व्यक्तिहरुको विवाहका लागि पहिरनको डिजाइन गरिसकेकी छिन् । रिपोर्टका अनुसार २० जनाको हेयरड्रेसर पनि मगाइएको छ ।

मेस्सीको वैवाहिक समारोहमा सांगीतिक मनोरञ्जन पनि बिशेष हुने बताइएको छ । जसका लागि अर्जेन्टिनाका चर्चित गायिका करिनाको बिशेष प्रस्तुती रहनेछ ।