राष्ट्रसंघका उप-महासचिव गौतमको ‘लस्ट इन ट्रान्जिसन’

राष्ट्रसंघको उच्च ओहदामा रहेर नेपालको द्वन्द्व, संक्रमणकाल र समकालीन विश्व परिवेशको अवलोकन गरेका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को विमोचन गरिएको छ ।

कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयमा शनिबार प्रकाशकले लेखक गौतमलाई र गौतमले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पहिलो प्रति हस्तान्तरण गर्दै यसैबाट अब सम्पूर्ण पाठक समक्ष पुस्तक अर्पण गरिएको घोषणा गरे ।

समारोहमा बोल्दै यादवले गौतमले अन्तर्राष्ट्रिय अनुभवसहित नेपालको संक्रमणकाललाई देखेको उल्लेख गरेका थिए । समर्पण र पीडाको बीचबाट आफू हिँडेको र संविधान दिनुपर्ने नैतिक दायित्व भएकाले आफूले त्यसलाई पुरा गरेको यादवले बताए । यादवले यस बीचमा मुलुकले भोग्नुपरेका पीडा पनि उल्लेख गरेका थिए ।

Kul-Chandra-Gautam-book-release-Lost-in-Transitionकार्यक्रममा विश्लेषक हरि शर्माले पुस्तकको परिचय गराउँदै यो राजनीतिक टिप्पणी भए पनि लेखकले आफ्ना अनुभव समावेश गरेको बताए ।त्यसैगरी यस पुस्तकको वर्णनशैली पनि चलनचल्तीका भन्दा बेग्लै रहेको उल्लेख गरे । नेपालमा विकासको संभावनाबारे बाटो देखाएर सकारात्मक संकेतका साथ पुस्तक टुंग्याइएको जानकारीसमेत शर्माले दिएका थिए ।

स्वयं आफू नै उप महासचिव रहेको राष्ट्रसंघको नेपालस्थित नियोग (अनमिन)ले त्यतिबेला कसरी पूर्वाग्रहपूर्ण तरिकाले काम गरेको थियो भन्ने कुरा गौतमले पुस्तकमा सबिस्तार वर्णन गरेका छन् ।

गौतमलाई आफ्नो प्रकाशनगृहमा लेखकका रुपमा स्वागत गर्न पाउँदा खुशीलागेको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए ।‘यो पुस्तकको शिर्षकै संक्रमणमा रुमलिएको मुलुकलाई लिएर तयार पारिएको छ,’ श्रेष्ठले भने, ‘संक्रमण कालकै अर्का प्रतीक व्यक्तित्व पूर्व राष्ट्रपतिलाई यो हस्तान्तरण गरेर समस्त पाठकलाई सुम्पेका छौं ।’

पुस्तकको मूल्य ६ सय ७५ रुपैया मूल्य राखिएको छ ।