May 022017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

कथा

  • पंचम अधिकारी ♦

म एकदम शान्त र लजालु ठिटो हुँ । एकदिन मेरो स्तर उकास्नै पर्‍यो भनेर निश्चय गरेँ ।

२३ वर्षे उमेरमा कम्प्युटर इन्जिनियर भएर पनि गोज्याङ्ग्रो नाम मैले नै कमाएको थिएँ । पढ्न त पढ्यो तर चतुर भएन, कमाउ जागिर त पायो तर फुर्तिलो भएन, बाउआमाको काखमा हुर्कियो तर संसार चिनेन भनेर मेरा कुरा काट्नेहरू अचाक्ली थिए । बाबुआमासमेत पिरलो गर्दै बारम्बार उपदेश दिनुहुन्थ्यो- अहिलेको जमानामा सीधासाधालाई गारो छ । भलादमी त हुनु ज्याद्री नहुनु रे !

त्यसैले त यी सब सुखद प्रगतिका बाबजुद मेरो मनको कुनामा बेखुसीले बारम्बार गिज्याइरहन्थ्यो ।

एकदिन काममा जाँदा मैले भुइँतलामा लिफ्ट लिएँ र बटन थिचेँ । केही समयपछि महसुस भयो- म जहाँको त्यहीँ छु । फेरि बटन थिचेँ तर लिफ्ट डेग चलेन । नजानेको साधन होइन, नचिनेको ठाउँ होइन तैपनि यो क्रम दोहोरिरह्यो । लिफ्टबाट बाहिर निस्किएर तलमाथि हेरेँ, बिग्रेको त होइन ? गगनचुम्बी भवन भए पनि त्यहाँ त्यतिखेर कोही थिएन । आँखाले देख्नेसम्म आउजाउ थिएन । भित्ताको फेरमा एउटा सानो निर्देशिका थियो, समस्या भए के कसो गर्ने वर्णन थियो । फेरि लिफ्टभित्र छिरेँ र बटन थिचेँ । मेरो औंलाले भुइँतलाको बटन पो थिच्दो रहेछ बारम्बार । होइन, यो कुनै हुस्सुपनमात्र होइन, मेरो जीवनको नियति हो । जब लिफ्ट सरर्र माथि गयो, त्यतिखेरै अन्तर्मनमा एकाएक बिगतले यात्रा गर्‍यो । म अतीतको समीक्षा गर्न थालेँ । प्राइमरी स्कुल या हाइस्कुल सधैँ त म संकोच र अपमान भोगेर हुर्किएँ । यतिखेर अन्तःस्करणमा एउटा स्वरले कानेखुसी गर्‍यो- तिमी को हौ ?

तपाईं भन्नुहोला अब्बल दर्जाको कम्प्युटर इन्जिनियर । अनि भन्नुहोला प्रतिष्ठित कम्पनीमा कम्प्युटर इन्जिनियर भइसकेको मान्छेले भ्रमित कुरा गर्न सुहाउँछ ? मलाई हाँसो लाग्छ, हामी एक-एक भ्रममा बाँचेका हुन्छौं भनेर किन मान्छेहरू बुझ पचाउँछन् ! लिफ्टको कोप्चामा स्मृतिले मलाई रिङाउँछ । हो, निश्चित रूपमा सबै कुरा खराब थिएन । स्कुल जीवन जति निरश, पट्यारलाग्दो र कष्टकर अनुभवले बिते पनि मार्कसिटमा भने सधैं म उत्तम रहेँ । मार्कसिटबाहेक मेरो स्कुले जीवन दयनीय बित्यो । अहिले सम्झँदैमा पीडा हुन्छ । के भयो कुन्नि- मैले साथी बनाउन सकिनँ । त्यसको मतलब हाम्रो स्कुल अरोचक र निरश वातावरणको थियो होला भन्ने कुरा पनि होइन । थरीथरीका सन्तान थिए । डाँडा र समुद्र नाघेर ती सन्तान कहाँ-कहाँ पुगे होलान् ! खोजे फेसबुकतिर भेटिन्थे होलान् तर मतलब लाग्दैन । तर, एउटालाई चाहिँ म बिर्सन सक्दिनँ । उसको नाम हो- सुधीर ।

० ० ०

सुधीरसँग मेरो पहिलो भेट बालकुमारी उच्च माविको शौचालयमा भएको थियो । ११ कक्षामा पहिलो दिन, पिसाब गरेर म हात धुँदै थिएँ । एउटा खाइलाग्दो अग्लो केटो रगताम्य भएर नजिकै आयो । उसको जिउडाल हाम्रा सरहरूको जत्रै थियो । उसको हातबाट अझै पनि रगत चुहिँदै थियो । शायद मेरो अनुहारमा भय र आश्चर्यको मिश्रित भाव ऊ पढ्न सक्थ्यो ।

“ए फुच्चे भाइ !” सुधीरले आलो रगतमा नजर दौडाउँदै भनेको थियो, “यो मेरो होइन ।”

उसको होइन त कसको हो ? उसको बोल्ने र चल्ने तरिकाबाटै थाहा हुन्थ्यो- ऊ मामुली मान्छे होइन । सोच्दासोच्दै मलाई भने फेरि पिसाब आइसकेको थियो । ऊसँग सक्दो जाती देखिने प्रयास गर्दागर्दै म त्यहाँबाट सुइँकुच्चा ठोकेँ ।

अर्को दिन म क्यान्टिनको कुनामा एक्लै थिएँ । एउटी सुन्दरीले ध्यान खिचेकी थिई । त्यो केटी को होली ? कहाँ बस्दी हो ? यति राम्री मान्छे र सहनसहन, ठूलाबडाकै त छोरी होली ! यस्तै यस्तै प्रश्नहरूबीच मेरा लोभी आँखा घरिघरि उसै वरिपरि पुगिरहेका थिए । उसको नजिकै आउँदै गरेको केटो देख्दा पो म झसंग भएँ । त्यो त्यही सुधीर थियो । म हच्किएँ । मूर्खदेखि दैव डराउँछ । त्यसपछि मैले त्यतातिरै आँखा लगाउनै छाडेको थिएँ ।

सुधीर देख्दैमा बेस्करी ह्यान्डसम केटो त होइन । उसलाई झलक्क देख्दा सामान्य ठिटो जस्तो लाग्छ । तर, जिउडाल हर्लक्क बढेको हुनाले कक्षा कोठा होस् कि हुलमुल, सबैभन्दा पहिले उसैमाथि नजर पुग्थ्यो । फुटबल वा बास्केटबल खेल्ने ठाउँमा गयो भने प्रायः ऊ त्यहीँ भेटिन्थ्यो । उसको पहिरन र हेयर-स्टाइल फेसनेबल जस्तो लाग्थ्यो तर उसको जस्तै नयाँ फेसनमा रमाउने अरू केटाहरू पनि स्कुलमा भएकाले त्यत्ति विशेष लाग्दैनथ्यो । भन्नेहरू भन्थे- सुधीरले स्कुलमा दादागिरी चलाइरा’छ ।

“ए फुच्चे भाइ !” सुधीरले मलाई बाक्लो स्वरमा बोलायो र आफूतिर आउन इशारा गर्‍यो । सहपाठी भएकोले हामी समवयी हुनुपर्छ । उसको दाइ पल्टिने पारा जिउडालले होला ? उमेरले त पक्कै हैन होला । म आज्ञाकारी पारामा उसको नजिक गएँ र सक्दो सहज रूपमा आफ्नो जिउलाई उसको अगाडि उभ्याउने प्रयास गरेँ ।

त्यत्तिकैमा उसको अगाडि एउटा चिसोको बोतल आइपुग्यो । वेटरले खल्तीबाट ओपनर निकालेर खोल्न खोज्दै थियो, सुधीरले बोतल च्याप्प समात्यो र आफ्नै दाँतले बिर्को खोल्यो । त्यो बिर्को उसले त्यही वेटर केटालाई थमाइदियो ।

“तिम्रो घर कहाँ हो ?” उसले सोध्यो ।

“भक्तिग्राम,” मैले भनेँ ।

“खै त तिम्रो ठाडो टीको ?” उसले अर्को प्रश्न गर्‍यो ।

भक्तिग्राम, खास समुदायका मान्छेहरूका लागि चिनिन्थ्यो । धार्मिक आस्था भनुँ या सामुदायिक आसक्ति, भक्तिग्रामका बासिन्दा निधारमा ठाडो टीका लगाउँछन् । ठेट्ना केटाहरू त्यसलाई मजाक बनाउँछन् । मलाई ‘ठाडो टीका’ भन्नेबित्तिकै झनन्न रिस उठ्थ्यो । तर, त्यहाँ म हाँसें मात्र ।

“तिम्रो बोलीबाटै थाहा हुन्छ तिमी कहाँको हो,” उसले प्याच्च थप्यो ।

त्यतिखेरै त्यो केटी पनि हाँसी । मलाई गिज्याए जस्तो लाग्यो किनकि भक्तिग्राम समुदायको लवजलाई सुरूचिपूर्ण मान्नेहरू दुर्लभै भेटिन्थे ।

“कसको छोरा ?” उसले मास्टरी पारामा फेरि सोध्यो ।

“नारायण,” मैले भनेँ, “नारायण सुवेदी ।”

“साँच्ची ?” उसले झट्का लागेझैं गर्‍यो, “अरे भाइ, पहिल्यै किन नभनेको ?”

बाउको कुरा किन गर्नुपर्‍यो बिनासन्दर्भ ? यो मान्छेलाई फोकटमा हिसाब चाहिन्छ । नभनूँ, फेरि उही चर्को बोल्ला । कसैगरी उसको चित्त नदुःखोस् र बित्थामा आपत्ति आइनलागोस् भनेर म सावधान थिएँ । बुबाको जागिरको बारेमा हीनताबोध पाल्नुपर्ने केही थिएन । तैपनि फूर्ति गरेको नठानोस् भन्ने बारेमा सजग हुँदै केही विवरण बताएँ ।

सुधीरले पहिलोचोटि मित्रवत् अनुहारले हेर्‍यो मलाई । यति भएपछि अब यो लफंगाले लफडा नगर्ला भनेर सन्तुलित हुँदै थिएँ । उसले भन्यो, “हेर भाइ, यहाँ कसैले तिमीलाई छोयो भने मलाई छोएसरह हो । मलाई भन्नू ।”

एसएलसी पास गरेपछि ११ कक्षा पढ्न म त्यो नयाँ स्कुल गएको थिएँ । घरबाट अलिक टाढा भए पनि त्यो स्कुलको ख्याति राम्रो भएकोले छोरोले अंक सुधार्ला कि भनेर भर्ना गरिदिनुभएको थियो बुबाले । स्कुल फेर्दा म पनि खुसी थिएँ । मेरो खुसीको कारण भने अर्कै थियो । प्राथमिकदेखि १० कक्षासम्म पढ्दा मलाई कुनै न कुनै सहपाठीले लम्कीझम्की गर्थ्यो । खासमा एउटा शाही बज्या थियो- राकेश । त्यसले त अचाक्ली गर्थ्यो ।

स्कुले जीवनमा म थिएँ लिखुरे र सानो अनुहारमा बल्डेङ्ग्रा आँखा । कपाल घुम्रेका । कसैसँग विवाद नगर्ने । कोही चर्को बोले तर्केर हिँड्ने । अन्तर्मुखी भनुँ वा कम बोल्ने स्वभावको । धेरै बोल्दैनथेँ, भन्नुको मतलब म लाटो त थिइनँ नि । तर मेरो कपाल, अनुहार र मैले लगाएको लुगा- हरेक दिन एक न एक कुरा झिकेर राकेश मलाई उडाउँथ्यो, सताउँथ्यो । यतिसम्म कि मेरो दोस्ती कसैसँग राम्रो भयो भने पनि ऊ भाँजो हाल्न आइपुग्थ्यो । ऊ स्कुलका टाठाबाठाको हुलमा हिँड्थ्यो र मभन्दा खाइलाग्दो थियो । उसले मलाई सधैँ तर्सिएको कुखुराजस्तो बनाएको थियो । त्यो बज्यालाई देख्नेबित्तिकै म कहिले शौचालयतिर, कहिले पुस्तकालयतिर छड्किन्थेँ । त्यसैले पनि ११ कक्षामा नयाँ स्कुलमा भर्ना हुने कुराले मलाई राहत मिलेको थियो, कम्तीमा राकेशलाई छलिने भयो भन्ने आशमा ।

तर, बर्मा गए पनि कर्म सँगै भनेझैं ऊ पनि त्यही स्कुलमा देखा पर्‍यो, मलाई हैरान पार्न छोडेन । स्कुल मलाई मनपर्ने ठाउँ थिएन र नयाँ स्कुल पनि अपवाद बनेन ।

नामै थाहा नभएझैं राकेश मलाई ‘सिँगाने’ भनेर बोलाउँथ्यो । एकदिन मैले राकेशको बारेमा सुधीरसँग गुनासो गरेँ । पछि राकेशलाई भेट्दा उसले ब्यान्डेज लगाएको थियो ।

सुधीरको आफ्नै साथी-सर्कल थियो । त्यो सर्कलमा केही बलियाबांगा केटाहरू थिए । कि त क्यान्टीनमा भेटिने कि त खेल मैदानमा देखिने ती केटाहरू मलाई फन्टुसजस्ता लाग्थे । ती फन्टुसहरूको पनि नाइके थियो- सुधीर । त्यसबाहेक ४/५ जना राम्री-राम्री केटीहरू पनि सुधीरकै सर्कलमा रत्तिएका देखिन्थे । त्यसमध्ये एउटीको आँखा ठूला-लाम्चा र ओठ सुन्तलाका केस्रा जस्ता थिए, देख्दैमा उत्तेजक । स्कुलमा उही त एउटी थिई जसलाई देख्दा मेरो मन र आँखालाई राहत मिल्थ्यो । तर, उसका अर्की दुइटी साथी अल्ली बढी उत्ताउला थिए ।

सुधीर मलाई बारम्बार उसको सर्कलमा बोलाउँथ्यो तर म धेरैबेर घुलमिल हुन सक्दिनथेँ । हुनु पनि कसरी ? ती केटाहरू मलाई पराई मनुष्य जस्ता लाग्थे । तिनीहरूको सोच र जोक म पटक्कै बुझ्दिनथेँ र आफैँ तर्किन्थेँ तैपनि जहाँ देखे पनि सुधीर हात मिलाउन छुटाउँदैनथ्यो । शायद त्यही देखेर होला- मलाई बारम्बार होच्याउने गिज्याउनेहरू मसँग सजग हुन थालिसकेका थिए ।

“पोहोर सालसम्म म पनि तिमीजस्तै थिएँ,” सुधीरले एकदिन प्वाक्क भनेको थियो ।

“मतलब ?”

“यस्तै लाटोसुधो ।”

मेरो आँखामा पत्यार थिएन । त्यही अपत्यारिलो नजरले मैले उसको आँखामा पुर्लुक्क हेरेँ । उसले ‘पोहोर सालको कहानी’ सुनायो ।

उसको घरनजिकै नयाँ छिमेकी आएका रहेछन् । उनीहरूसँगै त्यो घरमा चर्को हल्लाखल्ला पनि आएछ । एक अपरान्ह सुधीरकै घरअगाडिको बगैँचामा त्यो नयाँ छिमेकी र उसको साथी गफको ताल-बेतालमा मडारिरहेका भेटिए । सुधीरकी आमाले ध्यानाकर्षण गरिन् तर उल्टै मात चढेको स्वरमा तिनले फोहोरी दुर्वाच्य बोले रे ! त्यसपछि सुधीरको बाबु बाहिर निस्केर कराए तैपनि तिनले बेवास्ता गरेछन् । अनि सुधीरको पालो, घरबाट निस्केर तिनलाई बगैंचाबाट भगाउन खोजेछ । तिनको अटे‍रीपन देखेर नजिकै गएर धकेलुँला झैं गरेछ ।

“अनि ?”

त्यसमध्येको एउटाले सुधीरको गालामा दह्रो लपेटा हानेछ, देब्रे नाकको पोथ्रादेखि देब्रे आँखा र कानसम्म रनन्न रन्कने गरी । अनि ऊ रन्थनिएर भुइँमा पछारिएछ । आँखाले तोरीको फूल देखेछ ।

“अनि के भो ?” बडो उत्साहित भएर मैले सोधें ।

“माटो चाटेपछि पो होश आयो,” उसले भन्यो, “त्यही झोँकमा उनेर्लाई मैले ड्यामका ड्याम ठोकेँ, सालाहरू भागे ।”

गोडीगाडी सुन्दर बगैंचा माड्ने लठैतहरूलाई भगाउन सकेकोमा घरमा उसको वाहवाही भएको थियो ।

“हामी बूढाबूढी मात्र भए त तिनले नटेर्ने रैछन्,” आमाले भनेकी थिइन् ।

“घरमा बलियो मान्छे नभए सबैले हेप्छन्,” बाबुले भनेका थिए ।

देब्रे नाकको पोथ्रा फुटेको थियो । आमाले रगत पुछिदिइन् । त्यसपछि एक गिलास जुस पिएर सुधीर टिभी अगाडि बसेको मात्र थियो, बाहिरबाट होहल्ला आयो । केको खलबल हो भन्दै बाउ र उनको पछिपछि सुधीर बाहिर निस्किएछन् ।

“चार जना प्रहरी ढोकाअगाडि उभिएका थिए । तिनले मलाई गलहत्याए बाबुआमाको आँशु र छरछिमेकको भीडलाई छिचोल्दै,” उसले मलिन स्वरमा भन्यो, “प्रहरी चौकी लगे ।”

मैले उसको निन्याउरो अनुहार हेरिरहेँ ।

“पहिले २ झापड गालामा र २ लाठी खुट्टामा हाने,” उसले भन्यो, “अनि मात्र तिनले घटना विवरण सोधे ।”

“त्यस्तो मनपरी ?”

“त्यो मान्छे कुन्नि के जाति ठूलै अफिसको हाकिम रहेछ, त्यसैले उजुरी हालेर त्यत्रो बबन्डर मच्चाको नि,” उसले भन्यो ।

“बेस्करी पिट्ने-थुन्ने गर्‍यो ?”

“तिम्रा बाउ र मेरा बाउको पुरानो चिनजान रै’छ । अंकल सीडीओ अफिसमा काम गर्नु हुँदो रै’छ नि । बस्, अंकलले कुरा मिलाइदिनु भो ।”

“त्यसो भए छुट्नचाहिँ सजिलै छुट्यौ ?”

“त्यो रात पाकेटमारहरूसँग सुतेँ नि,” उसले भन्यो, “भोलिपल्ट छुटेँ ।”

“अब त पुलिस देख्दै डर लाग्छ होला है ?”

“होइन यार, ठेट्नो केटो पुलिस चौकी गा’को थिएँ, पक्का मान्छे भएर फर्कें,” उसले भन्यो, “थुन्ने कुरा र पुलिस चौकी के चिज हो, सब थाहा भो । डर-लाज सब पच्यो,” त्यसपछि उसले बेसरम हाँसो हाँस्यो ।

मैले उसलाई सीधा हेरिरहेको थिएँ, कस्तो जिरेखुर्सानी रैछ भन्ने कल्पँदै, सुधीरले अनायस विषयान्तर गर्‍यो ।

“ए भाइ, तिम्रो गर्लफ्रेन्ड छ ?”

“छैन,” मैले भनेँ ।

“मलाई थाहा छ,” उसले भन्यो, “त्यो गैरीखेतसँग डेटिङमा जान्छौ ?”

म अकमक्क परेँ ।

सुधीरको ग्रुपमा बारम्बार क्यान्टीनमा देखिने त्यो केटी मलाई असाध्यै मन पर्थी । स्कुलको एक सांस्कृतिक कार्यक्रममा लोकप्रिय ‘गैरीखेतको सिरै हान्यो’ बोलको गीतमा उसले एकपल्ट नाचेकी थिई । त्यसपछि उसको नामै गैरीखेत बन्यो । उसको पछाडि सबै त्यसै भन्थे ।

उसका कुराले मेरा कान रनक्क भए, अलिकति संकोच र अलिकति खुशामदले ।

“उसले केही भनेकी छ र ?” मैले सोधेँ ।

तर मेरो प्रश्नको सोझो उत्तर नदिइकन ऊ त्यहाँबाट छड्कियो । जाँदाजाँदै भन्यो, “विचार गर, मलाई भोलि भन ।”

मेरो दिमागमा एउटा ठूलो प्रश्नले बास गर्‍यो- उसैले भनेर हो कि मेरो मन चोर्न खोजेको सुधीरले ?

मैले गैरीखेतको त्यो नृत्य सम्झेँ, अनि उसको त्यो कामुक वक्र, ठूला-लाम्चा आँखा र सुन्तलाकेस्रे ओठ । ऊबाहेक अरू कसैले त्यो नृत्य जति प्रयास गरे पनि त्यत्तिको सुहाउँदै सुहाउँदैन, मैले ठोकुवा गरेँ । ऊसँगका मेरा हरेक देखभेटको सजीव चित्र मेरो आँखा अगाडि यादगार नाचिरहेका थिए, दिनभरि । ऊ पहिले पनि आउने गर्थी मेरो कल्पनामा । तर, त्यो दिन विशेष रूपमा आएकी थिई दिनभरि । सुत्ने बेलामा नि ऊ नै आएकी थिई, सपनामा पनि आई, भिज्ने गरी ।

भोलिपल्ट भेट्नेबित्तिकै सुधीरको पहिलो प्रश्न थियो, “के छ विचार ?”

मलाई हिजोकै प्रश्नको उत्तर मिलेको थिएन, “उसले पनि केही भनेकी छ र भन्या ?”

“केटीले भन्ली भनेर कुर्ने होइन भाइ, आफैंले चाल चाल्ने हो ।”

“रिसाई भने ?”

“हैट, कट्टु भिज्ने कुरा गर्ने हो ?”

“मैले त अहिलेसम्म कुनै केटीलाई किससम्म खाएको छैन,” मैले भनेँ ।

“त्यो कुरा छोड, पहिले एकपटक अँगालो त मार,” उसले भन्यो ।

“मैले त अहिलेसम्म कुनै केटीको हात पनि समातेको छैन ।”

“पहिले त गफगाफ गर, अनि हात समात्ने पालो आउँछ ।”

“मलाई त मीठोमीठो गफ गर्न पनि आउँदैन ।”

“पहिले केटी त भेट, अनि गफ आउँछ ।”

“हत्तेरी !” मैले भनेँ, “मलाई त्यति पनि चेत छैन ।”

सुधीर मेरो ‘लोकल हिरो’ थियो । उसका दुस्साहस मलाई अचम्मसँग रमाइला लाग्न थाले । कहिलेकाहीँ एकान्तमा अकारण जोशिन्थेँ म, उसको पारा सम्झिँदा । उसले एक सहपाठीको ज्यान बचाएको थियो ।

जितु जोक हान्न माहिर थियो । आफ्नो जोक जितु धैर्यतापूर्वक भन्थ्यो तर अर्काको जोकमा ज्यान फालेर हाँस्थ्यो । एकदिन ऊ क्यान्टीनमा जोक घत परेर बेस्करी हाँस्दै थियो, खाँदै गरेको कुरा अड्किएछ । निसास्सिन थाल्यो । सबै आत्तिन थाले । जितु हिक्कहिक्क गर्न थाल्यो । सुधीरले जितुलाई पछाडिबाट च्याप्प समातेर पेटतिर अँचेटेको के थियो, उल्टी गर्‍यो । एउटाले सुधीरलाई सोध्दै थियो, “के गरिस् सुधीर तैंले ?” उसले जवाफमा भनेको थियो, “म कसैगरी जितुलाई मर्न दिन्नँ ।”

त्यसपछि नाजुक जितुको अवस्था बिस्तारै सामान्य भएको थियो ।

बुबाको कारणले हो वा मलाई मन पराएर- जेहोस्, सुधीर मलाई राम्रो व्यवहार गर्थ्यो । तैपनि ऊसँग म दोस्ती गर्न सक्दिनथेँ किनकि हाम्रो दोस्ती प्राकृतिक हुनै सक्दैनथ्यो ।

“पोखरीमा हाम फाले न खियाउन जान्ने हो भाइ । गैरीखेतले मान्छे क्या,” उसले एकछिन रोकिएर भन्यो, “मेरो भाइ, त्यसले नमाने अर्कीलाई मनाउँला ।”

“हैन, उसले नमाने अर्की त चाहिएन,” मेरो मुखबाट फुत्त निस्कियो ।

सुधीर खितखित हाँस्यो मात्र एकछिन । “मलाई थाहा छ तिम्लाई त्यही केटी मन पर्छे तर तिमीमा साहस छैन,” ऊ एकछिन फेरि खित्खितायो र भाका हालेर भन्यो, “विचार गर भाइ, विचार गर ।”

त्यसपछि मैले धेरै विचार गरेँ । एक हप्तापछि जाँच आउँदै थियो । जाँच पार गरेपछि मात्र अरू कुरा विचार गर्ने मनमनै विचार गरेँ ।

० ० ०

१२ कक्षा पास गरेपछि कलेज पढ्न म काठमान्डु गएँ । कलेज लाइफ सकियो, काम फ्याट्टै मिल्यो । मेरो जिन्दगी सरल रेखामा एकनाससँग हिँडिरहेको छ, एकांकी । न जिउ तताउने गर्लफ्रेन्ड छे, न मन रमाउने साथी । जिन्दगीमा एउटै मित्र छ- छाया । जहाँ गए पनि साथ छोड्दैन । जुन दिन म लिफ्टमा अड्किएँ, अब मैले आफूलाई बदल्नुपर्छ है भनेर मनमनै छायासँग कसम खाएँ । सधैँभरि निरिह विगतलाई सरापेर मात्र बाँकी जीवन चल्दैन । छुट्टी लिएर लामै बस्ने गरी गाउँतिर लागेँ, पाँच वर्षपछि ।

पाँच वर्षपछि भान्जी दिदीको बिहेले मलाई गाउँ लगेको हो । मेरा आफन्तीहरूले भरिएको छ यो गाउँ तर आफन्ती र बिहेभन्दा पनि ज्यादा ‘म को हुँ ?’ को साइनो खोज्न म उत्प्रेरित भएको हुँ । छोराछोरीलाई सजिलो होस् भनेर बुबाले काठमान्डुमा घर बनाउनु भएपछि गाउँ फर्केको थिइनँ ।

मोटरसाइकलमा बत्तिँदै थिएँ, फुटपाथमा राकेश लुखुरलुखुर हिँड्दै देखियो । म रोकिएर आफैँलाई सोधें- यो त्यही मान्छे हो ? उसले लामो कपाल पालेको थियो, मानौं २३ वर्षदेखि त्यसले स्याम्पु देख्न पाएको छैन । चर्को घाममा पनि लेदर ज्याकेट लगाएको थियो । ज्याकेटको बाहुला छलेर नाडीमा बाला देखिन्थ्यो । कम्मरतिर कतै साङ्लोको छिङछिङ आवाज सुनिन्थ्यो । उस्तै लामो कपाल पालेको र लेदर ज्याकेट लगाएको अर्को केटो थियो सँगै । कसैलाई कुरेझैं फुटपाथको डिलमा टुसुक्क बसे उनीहरू। म नजिक गएँ । चकित परे । राकेशले सँगै डिलमा बस्न फर्मायो । मैले हतार छ भनें । उसले भन्यो, “मलाई बजारसम्म छोड्दिन सक्छौ ?” बाइकको पछाडि बस्ने इशारामा आफ्नो अनुकूलको बाटोसम्म छोडिदिउँला भनें । त्यो छोटो यात्रामा उसले टोलको विकासदेखि राष्ट्रिय राजनीतिसम्म नकरात्मक टिप्पणी गर्न भ्यायो । मैले सुनिमात्र रहें ।

उसले भन्यो, “अस्ट्रेलिया जाने प्रोसेसमा छु ।”

म प्रतिकृयाविहीन भएँ । उसले यो कुरा त १० कक्षा पढ्दादेखि नै मलाई सुनाएको थियो ।

राकेशलाई चोकमा छोडेर म पेट्रोल पम्प पुगें । पम्पको कामदार केटा देख्दा म चकित भएँ । आँखालाई विश्वासै गर्न गाह्रो । त्यो मेरो स्कुले जीवनको लोकल हिरो थियो । ऊ त्यतिखेरै लेटेस्ट मोडलको बाइक चढ्थ्यो । केटाहरूको ग्याङमा थियो । राम्री केटीहरूले घेरिएको हुन्थ्यो । हाम्रो भेट नभएको ५ वर्ष मात्र भएको हुँदो हो । त्यही लोकल हिरो भेट भए मेरो नयाँ जीवनमा रंग छर्छ कि भन्ने टुक्रे आशाले मनको कन्दरामा बास गरिराको थियो । यो के चाल हो ? म सोच्दासोच्दै सुधीर आफैंले कुरा निकाल्यो ।

“स्कुलबाट छुट्ने बित्तिकै जेल परियो यार,” उसले भन्यो ।

“जेल ?”

“एउटा मान्छेलाई साफ धुलाइ गरेको, नेता परेछ । एक वर्ष कोच्यो यार,” देब्रे हातको पञ्जाले अनुहार पुछ्दै उसले भन्यो, “जाँच पनि बिग्रियो ।”

“मान्छे पिटेकै कुरामा वर्ष दिन जेल त राख्नु नपर्ने हो,” मैले सहानुभूतिमा भनेँ, “कुनै खत पनि लाग्याथ्यो कि ?”

“नारायण अंकलले त उपाय निकाल्छु भन्दै हुनुहुन्थ्यो । बाउले मानेनन्,” उसले दुई ओठ टिम्म पार्दै भन्यो । मानौं उसले अथाह पीडा थुनेर राखेको होस् । मैले झट्ट कुरा मोडें, “राकेश बाटोमा भेट भएको थियो । ऊ पनि यतै रहेछ ।”

“त्यसले फुटपाथको डिलमा बस्ने जागिर खाइरा’छ,” उसले भन्यो, “उसको अस्ट्रेलियाको भूत अझै हराएको छैन ।”

“गैरीखेतवाली कता पुगी ?”

“मैले त्यतिखेर भनेको मानेको भए,” उसले निर्धो मुस्कानसहित भन्यो, “अहिले यही बाइकको पछाडि सिटमा हुन्थी ।”

म अवाक् भएँ, कतै हराए जस्तो ।

“अनि यो सिटमा बस्ने कोही बन्या छ कि छैन ?” पछिल्लो सिटतर्फ इंगित गर्दै उसले फेरि सोध्यो ।

“पोखरीमा हाम फाले न खियाउन जान्ने हो,” मैले भनेँ, “त्यतिखेर तिम्ले जोस्याएको हो तर यो कला कहिल्यै जानिएन ।”

“कला जान्नेको पनि त यो हाल छ,” उसले मैलो हात टक्टकाउँदै भन्यो, “बरू तिमीलेझैं लुसुलुसु भए पनि…” ऊ बीचैमा रोकियो । उसको अनुहारमा अघि भर्खर देखिएको क्षणभंगुर उज्यालो तुरून्तै अस्ताइहाल्यो ।

“जे हुनु भैहाल्यो । अब के छ विचार ?” मैले सोधेँ ।

“बेलामा पढिएन । … अब पढ्ने जाँगर पनि छैन,” उसले लामो श्वासमा भन्यो, “ठूलो सपना पनि छैन । यी हेर, यहाँबाट सुरू गरेर कहाँ पुगिएला ?”

उसको चेहरामा सुदूर भविष्यप्रति अनिश्चयको छाया झल्किएझैं लाग्यो ।

म केही बोलिनँ । म के गर्न सक्छु र ?

“स्कुलमा पनि फेल हुने, मान्छे पिट्दै हिँड्ने भनेर बाउ बूढा रिसाए ।”

“अहिले पछुतो लाग्छ ?”

“सुधीर ~~!” पल्लोपट्टिबाट कसैले बोलाएको सुनियो ।

“आउँदैछु ।” उसले भन्यो र मेरो आँखामा हेर्‍यो ।

ऊ सरासर आवाज आएतिर गयो । अर्को केटोले मेरो बाइकमा तेल हाल्दै गर्दा सुधीर एकजना केटी लिएर आयो । ऊ स्कुटीमा थिई । सिउँदो भरिएकी त्यो केटी मलाई हेरेर मुसुक्क हाँसी । सुधीर ङिच्च गरेर हाँस्यो र स्कुटीको पछाडि टुसुक्क बस्यो ।

“अरू केही गर्न नसके पनि बिहेचाहिँ गरियो भाइ,” उसले भनिरहँदा केटीले स्कुटी स्टार्ट गरी र एकैछिनमा धूलो उडाउँदै सुधीरसँगै बाटैबाटो हराई ।

म आज पनि गैरीखेतसँग बोल्न सकिनँ ।

(बाह्रखरी डट कममा पहिलो पल्ट प्रकाशित)

 Tagged with:

 Leave a Reply

(required)

(required)


*