बेल्जियमको पृथकतावादी पार्टीबाट नगरपालिका निर्वाचनमा नेपाली उमेदवार

बेल्जियमको फ्लेमिश राष्ट्रवादी दल एन.भे.आ. (न्यू फ्लेमिश एलायन्स) ले यहाँको पर्यटकीय सहर ब्रुजको नगरपालिका बोर्डमा नेपाली मूलका कुशल श्रेष्ठलाई उमेदवार बनाउने भएको छ ।
२४ वर्षिय श्रेष्ठ १५ वर्षको उमेरमा बेल्जियम आएका थिए । उनका अभिभावकहरू त्यस पहिल्यै बेल्जियममा आएर काम गरिरहेका स्थायी बासिन्दा हुन् ।
एन.भे.आ. बेल्जियमको सबैभन्दा ठूलो र सत्तारूढ दल हो । शान्तपूर्ण रूपमा र नागरिक सचेतता बढाएर बेल्जियमबाट फ्लेमिश स्वतन्त्रता प्राप्त गर्ने उद्देश्य राख्ने एन.भे.आ. पृथकतावादी पार्टी हो । राजनैतिक रूपमा अनुदारवादी एन.भे.आ. यसको अध्यागमन विरोधी नीतिका निम्ति पनि चर्चित छ ।
विदेशी मूलका नागरिकहरूको खासै आकर्षण नरहेको एन.भे.आ. मा श्रेष्ठले तन्नेरी उमेर मै ‘सफतला’ पाएका छन् । नगरपालिकाको निर्वाचन आउँदो अक्टोबरमा हुँदैछ ।