नसच्याइए संविधान अमान्यः पूर्वराजा उवाच

पूर्वराजा ज्ञानेन्द्रले सबैको विचार समेट्ने मस्यौदा नआए मान्य नहुने बताउनुभएको छ। युवा विश्व हिन्दु महासंघले हनुमानढोकास्थित मखन महादेव परिसरमा हिजो बुधबार आयोजना गरेको क्षमापूजामा सहभागी हुन पुग्नुभएका पूर्वराजाले सो धारणा व्यक्त गर्नुभएको हो।
jyanendra-poojaसभासद्हरूले सोमबार र मंगलबार देशभरबाट संविधान २०७२ को मस्यौदाको सुझाव लिएर फर्किएको भोलिपल्टै उहाँले यस्तो धारणा राख्नुभएको हो। उहाँले कसैलाई काखा र कसैलाई पाखा लगाएर संविधान जारी गरिए आफूलाई पनि मान्य नहुने बताउँदै भन्नुभयो– ‘यो न नेपाली जनतालाई मान्य हुन्छ, न त हामीलाई नै।’
सबै जनताको राय बुझिसकेको अवस्थामा अब पुनः संशोधन गरी संविधान जारी हुनुपर्ने उहाँको धारणा थियो। उहाँले जनताले दिएको राय सुझावलाई सम्मान गरी कमीकमजोरीलाई सच्याउनुपर्छ भन्नुभयो। हनुमानढोका क्षेत्रमा करिब एक घण्टा समय बिताउनुभएका पूर्वराजा ज्ञानेन्द्रले मस्यौदा जनतासम्म पेस भएको छ, जनताको धारणा बुझिसकेको अवस्थामा यसलाई संशोधन गर्नु आवश्यक छ भन्नुभयो। ‘सबैको विचार समेट्ने गरी संविधान जारी होस्, व्यावहारिक ढंगले अर्को मस्यौदा जारी गर्नुपर्छ’ –उहाँको भनाइ थियो। सबैको चाहनाको सम्बोधन भए मात्रै मुलुकमा सबैले चाहेको र अपनत्व महसुस हुने खालको संविधान आउने उल्लेख गर्नुभयो। क्षमापूजामा सहभागी भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्रले संविधान मस्यौदा संशोधन नगरी जारी गरे जनता पनि यसको पक्षमा नरहने दाबी गर्नुभयो। उहाँले देशभरका जनताले जनमत दिएको अवस्थामा उनीहरूको भावनालाई समेट्नु अनिवार्य रहेको औंल्याउँदै जनताको विचारलाई नसमेटी संविधान जारी गरे कसैलाई पनि मान्य नहुने बताउनुभयो।
क्षमापूजामा सहभागी हुन आउनुअघि उहाँलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए। मखन महादेवको करिब आधा घण्टा पूजा र अभिषेक गरेपछि उहाँले हवन गर्नुभएको थियो। उहाँलाई स्वागत गर्न युवा विश्व हिन्दु महासंघका पदाधिकारी र स्थानीयबासीको भीड लागेको थियो। पूर्वराजालाई स्वागत गर्न आएका जनतालाई पन्छाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो। वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पमा परी दिवंगत भएकाको सम्झनामा क्षमापूजा आयोजना गरिएको थियो। पूजा सम्पन्न गरेलगत्तै उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकाको ध्वस्त भएका संरचनाको अवलोकन गर्नुभएको थियो। उहाँले पैदलबाटै काष्ठमण्डप, हनुमानढोकाको प्रवेशद्वार, महालक्ष्मी सत्तल, गद्दी बैठकलगायत संरचनाको अवलोकन गर्नुभएको थियो। उहाँले केही समय अशोक विनायकमा समेत पूजाअर्चना गर्नुभएको थियो।

-नेस