रूनुका पनि छन् फाइदा …

हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । तर, स्वास्थ्यमा यी दुवैको ठूलो महत्त्व पनि छ । तर, हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । त्यसैले वेला–वेला रुनु लाभदायक छ । विशेष गरी यसले आँखालाई फाइदा पुर्‍याउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको थियो । त्यसले रुँदा शरीर हल्का हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने प्रमाणित गरेको छ :

cryingआँखाको शक्ति बढ्छ : आँसु आउँदा आँखाको नानी चिसो हुन्छ । यसले आँखालाई उचित लचकता प्रदान गरिरहन्छ र आँखालाई शक्ति प्रदान गर्छ । त्यसैले आँखाको चमक पनि बढ्छ ।

किटाणुँ हटाउँछ : आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ । यसले आँखामा हुने ब्याक्टेरियालाई ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ ।

विषाक्त पदार्थ पनि बाहिर निस्किन्छ: मानिस दु:खमा परेका वेला शरीरमा विषाक्त पदार्थ बन्छन् । त्यसवेला मानिस रुन्छ । रुँदा विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ । त्यसैले रोएपछि मानिस हल्का महसुस गर्छ ।

सोच राम्रो हुन्छ : शरीरमा म्याग्निज बढी हुँदा थकाइ, रिस, घबराहटजस्ता समस्या आउँछन् । रुँदा शरीरमा म्याग्निजको तह कम हुन्छ । जसले गर्दा राम्रो सोच आउँछ । र, मानिसले स्फूर्तिको महसुस गर्छन् ।

तनाव कम हुन्छ :  रुनु तनाव कम गर्ने उपाय पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्त्व बढ्न जान्छ । रुँदा त्यस्ता तत्त्व घट्ने भएकाले तनाव कम गर्न सघाउ पुर्‍याउँछ । – नयाँ पत्रिका