आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

बेल्जियम र युरोपियन युनियनको राजधानी ब्रसेल्समा सरकारले ‘खतराको उच्चतम स्तर’ घोषणा गर्दै जनतालाई सतर्कता अपनाउन भनेको छ । प्रधानमन्त्री र गृहमन्त्रीले स्थिति ‘गंभिर तर नियन्त्रण‘ मा रहेको टिप्पणी गर्दै सबै खालका जमघट वा भेलाबाट टाढा रहन आग्रह गरेका छन् । ‘गुप्तचरहरूबाट खतराको समाचारहरू आएका र जनतालाइ सूचित गर्नु’ आवश्यक भएको बताइएको छ ।

bxl-terror-threatसुरक्षा चेतावनी सँगै यहाँका सबै खाले सार्वजनिक जमघटका कार्यक्रमहरू रद्द भएका छन् । अन्डरग्राउण्डबाट चल्ने सबै यातायात बन्द छन् । ब्यापारिक केन्द्रहरू र ठुला सुपर मार्केटहरू खुलेका छैनन् । प्रहरी, दङ्गा प्रहरी र सेनाले विशेष सुरक्षा दिएका छन् ।
ब्रसेल्सको सेन्टरका सबै पसल बन्द गर्न सुरक्षाकर्मीहरूले अनुरोध गरेका छन् । त्यस्तै अप-मार्केट लुइज एरिया र पोर्त द नामुर एरियाका पसलहरू बन्द गर्न सुरक्षाकर्मीहरूले अनुरोध गरेको बताइएको छ । अन्तर्राष्ट्रिय ट्रेनका यात्रीहरूको परिचय-पत्र जाँच र सामान जाँच गरिएको छ ।
पत्रकारहरूले ब्रसेल्सको अवस्था मृत शहर जस्तो भएको टिप्पणी गरेका छन् । पेरिसमा घटेको घटना जस्तै हुन सक्ने भन्दै सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।